सूचनाको शक्ति - The Power Of Information

        

अर्कै केटासँग प्रेममा फसेपछि श्रीमतीले गरिन् श्रीमानको हत्या

धनगढी । श्रीमानलाई छाडेर अर्कै केटासँग बढेको गहिरो प्रेमकै कारण गरिएको गलत कार्यले कैलालीमा एक जोडी प्रेमी र प्रेमिकाका लागि विलापका दिन निम्तिन पुगेको छ । प्रेमीसँग मिलेर २४ वर्षीय तेजबहादुर बिष्टको हत्या गर्ने कञ्चनपुर पुनर्वास नगरपालिका—२ की लक्ष्मी बडेला र उनका प्रेमी कैलाली गोदावरी नगरपालिकाका दीपक खत्रीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।
गत वैशाखमा कञ्चनपुर पुनर्वास नगरपालिका दशरथ बस्तीका तेजबहादुर बिष्टको लक्ष्मीसँग मागी विवाह भएको थियो । यही असार ८ गते श्रीमतीसहित ससुराली गएका बिष्ट सोही रातिदेखि बेपत्ता भएपछि आफन्तले खोजतलास गरेका थिए । कतैपनि पत्ता नलागेपछि बिष्टका आफन्तले प्रहरीलाई खबर गरेकामा प्रहरी टोलीले धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गमा पर्ने भासुकोे भीरमा बिष्टलाई गएराति मृत अवस्थामा फेला पारेको छ ।
बेपत्ता बिष्टको खोलतलासका क्रममा लक्ष्मी र उनका प्रेमी भनिएका खत्रीमाथि शंका लागेर अनुसन्धान गर्दा उनीहरुले नै गएराति बिष्टको हत्या भएको घटनास्थल देखाएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक विनोद घिमिरेले बताए । बिष्टको लास सडकबाट झण्डै सात सय मिटर तल भेटिएको थियो । म२प ७४७७ नम्बरको मोटरसाइकल सडकवाट १३० मिटर तल भीरमा खसेको छ । भीरबाट आज शव उठाएर सेती अञ्चल अस्पताल धनगढी पुर्याइएको छ ।
घुम्न जाने बहाना बनाई लक्ष्मीले आफ्ना प्रेमी खत्रीसँग मिलेर श्रीमान बिष्टलाई भासुको भीरसम्म पुर्याई कुटपिट गर्दै सोही भीरबाट खसालेर हत्या गरेको खुल्न आएको घिमिरेले बताए । घटनास्थल निकै भिरालो र कठिन भएकाले लास उठाउन प्रहरीलाई धेरै समय लागेको थियो । धनगढी–डडेलधुरा (भीमदत्त) राजमार्गअन्तर्गत कैलालीको चुरे पहाडी क्षेत्रमा पर्ने भासुको भीर ठूलो र डरलाग्दो छ । गोदावरी नगरपालिका—१० माइती घर भएकी लक्ष्मी र सोही नगरपालिकाको खमौरा गाउँका दीपकबीच एक वर्षदेखि प्रेम सम्बन्ध रहेको जनाइएको छ । रासस

प्रकाशित मिति : १२ असार २०७५, मंगलवार १५:०७