सूचनाको शक्ति - The Power Of Information

        

सुर्खेतका ६ स्थानीय तहको बजेट करिब चार अर्ब, पूर्वाधार विकास प्राथमिकतामा


सुर्खेत । सुर्खेतका नौ वटा स्थानीय तहमध्ये आइतबार ६ वटा स्थानीय तहले आर्थिक वर्ष २०७५/०७६ का लागि नीति तथा कार्यक्रमसँगै बजेट ल्याएका छन् । ५ नगरपालिका र ४ गाउँपालिकामध्ये आइतबार चार नगरपालिका र दुई गाउँपालिकाले सभामा बजेट प्रस्तुत गरेका छन् । तीन स्थानीय तहले भने नीति तथा कार्यक्रम मात्र पेश गरे ।
आईतबार बजेट प्रस्तुत गरेका सुर्खेतका स्थानीय तहमध्ये सबैले भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेका छन् । सुर्खेतका नौ वटा स्थानीय तहको आर्थिक वर्ष २०७५/०७६ का लागि कुल बजेट भने झण्डै ४ अर्ब बराबरको छ । नगरपालिका र गाउँपालिकाहरुको गरि सुर्खेतका स्थानीय तहको कुल बजेट ३ अर्ब ९३ करोड ८० लाख १७ हजार रुपैयाँ बराबर छ ।
कर्णाली प्रदेशको राजधानी रहेको सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाले आर्थिक वर्ष २०७५र०७६ का लागि ९६ करोड २२ लाख ८३ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । जसमध्ये चालू खर्चतर्फ ६२ करोड, २२ लाख ३९ लाख र पूँजिगततर्फ ३४ करोड ४४ हजार रुपैयाँ छ । वीरेन्द्रनगरले ल्याएको बजेटमध्ये आन्तरिक स्रोत ७४ लाख ६० हजार रुपैयाँ बराबर तथा बाह्य स्रोत ८६ करोड ३४ लाख २३ हजार रूपैयाँ बराबरको छ ।
वीरेन्द्रनगरले भौतिक पूर्वाधारसहितका वडास्तरीय योजना, महिला स्वरोजगार कार्यक्रम, ल्याण्डफिल्ड साईड, विपद् व्यवस्थापन, शिक्षा प्रवद्र्धन कार्यक्रम, नगर स्वास्थ्य प्रवद्र्धन, हरियाली नगरलगायतका योजनाहरुलाई मुख्य प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । नगरपालिकाले ल्याएको कुल बजेटमध्ये चालू आर्थिक वर्षको बचत तथा आन्तरिक ऋणबाट खर्च गर्नेगरि ३ करोड ४८ लाख रुपैयाँ भने घाटा बजेट रहेको छ ।
यसैगरी आर्थिक वर्ष २०७५/०७६ का लागि पञ्चपुरी नगरपालिकाले ४४ करोड ४२ लाख १७ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । जसमध्ये चालू खर्चतर्फ २६ करोड ७६ लाख रुपैयाँ छ । पूँजिगततर्फ १८ करोड १५ लाख १७ हजार रुपैयाँ रहको छ । नगरपालिकाको कुल बजेटमध्ये समानिकरण अनुदान ५ करोड ६५ लाख, सशर्त अनुदान १ करोड ५७ लाख, एलजीसिडीपीअन्तर्गत १४ लाख रुपैयाँ छ ।
पञ्चपुरी नगरपालिकाले सडक, खानेपानी, सिचाइँलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ । सीमानामा रहेको जिल्ला अछाम जोड्ने जनालाघाटसम्म सडक पुर्याउने, स्थानीय तहभित्रको सडक सञ्जालले नछोएको क्षेत्र छाप्रेमा सडक पुर्याउने लक्ष्य पनि नगरपालिकाले बजेटमा समावेश गरेको छ । लेकवेशी नगरपालिकाले आर्थिक वर्ष २०७५/०७६ का लागि ३८ करोड ५९ लाख ७१ हजार रुपैयाँ बराबरको कुल बजेट ल्याएको छ ।
जसमध्ये चालू खर्चतर्फ २२ करोड ७६ लाख ३७ हजार ५०० रुपैयाँ छ भने पुँजीगततर्फ १५ करोड ८३ लाख ३३ हजार ५०० रुपैयाँ रहेको छ । उक्त बजेटमध्ये नगरपालिकाको आन्तरिक राजस्वतर्फ ४८ लाख रुपैयाँ रहेको छ । लेकवेशी नगरपालिकाले ल्याएको बजेटममध्ये सडक, शिक्षा, कृषि, पशु सेवा, स्वास्थ्यलगायतका क्षेत्रलाई प्राथमिकतामा राखेर रकम विनियोजन गरिएको नगर प्रमुख गगनसिंह सुनारले जानकारी दिए ।
यस्तै, गुर्भाकोट नगरपालिकाले ४६ करोड ३९ लाख ८६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । जसमध्ये चालू खर्चतर्फ २५ करोड ८ लाख रुपैयाँ रहेको छ भने पुँजीगततर्फ ४३ करोड ८१ लाख ८६ हजार रुपैयाँ रहेको छ । कुल बजेटमध्ये गुर्भाकोटले २१ करोड ३ लाख रुपैयाँ संघीय सरकारबाट सशर्त अनुदान प्राप्त गरेको हो ।
नगरपालिकाले भेरी किनार पर्यटकीय सडक निर्माण, नगरपालिकाभित्रको सडक नपुगेको क्षेत्र धारापानीमा चालू आर्थिक वर्षमा सडक पुर्याउने, छिन्चु–घारीवन–कालिमाटी सडक निर्माणलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरको छ । उक्त सडकहरुलाई स्थानीय गौरवका आयोजनाका रुपमा समेत राखिएको छ ।
भौतिक पूर्वाधारको विकास भए मात्र अन्य विकास गर्न सजिलो हुने भएकाले बजेटमा भौतिक पूर्वाधारलाई प्राथमिकतामा राखिएको नगर प्रमुख हस्त पुनले बताए । आर्थिक वर्ष २०७५/०७६ का लागि चिङ्गाड गाउँपालिकाले २५ करोड ९३ लाख ६ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । जसम्धये चालू खर्चतर्फ १६ करोड ८८ लाख ७० हजार रुपैयाँ छ भने पुँजीगततर्फ ९ करोड ४३ लाख ६ हजार रुपैयाँ रहेको छ ।
गाउँपालिकाले ल्याएको कुल बजेटमध्ये ७ लाख ६३ हजार आन्तरिक राजस्व रहेको छ । यस्तै, संघीय सरकारबाट राजस्व बाँडफाँडतर्फ ५ करोड ७८ लाख र सशर्त अनुदान ९ करोड ७८ लाख रुपैयाँ पाएको छ भने प्रदेश सरकारबाट ५२ लाख ४ हजार समानीकरण अनुदान पाएको छ । चिङ्गाड गाउँपालिकाले स्थानीय तहभित्रको गौरवका आयोजनाहरुलाई मुख्य प्राथमिकतामा राखेर बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाभित्र पर्ने धरमपोखरा–अवलचिङ–ढाँडखेत–रानीवास–वाटासाल जोड्ने सडक निर्माण, धरमपोखरा–मटेला सडक स्तरोन्नति, पाम्का–अवलचिङ सडक निर्माण, ३ बर्षभित्र १ घर एक धारा निर्माण, सबै सरकारी कार्यालयहरुमा ई–हाजिरीको व्यवस्था गर्ने लक्ष्यसहित बजेट विनियोजन गरेको छ । यसैगरि, बराहताल गाउँपालिकाले रोजगारी सृजनालाई प्राथमिकतामा राखेर बजेट ल्याएको छ ।
आर्थिक वर्ष २०७५/०७६ को लागि बराहतालले ३७ करोड ८४ लाख ३५ हजार रुपैयाँ बराबरको बजेट ल्याएको छ । गाउँपालिकाले चालू आर्थिक बर्षका आयोजनाहरुलाई निरन्तरता दिनेगरि बजेट ल्याएको अध्यक्ष तेजबहादुर बस्नेतले बताए । सुर्खेतका नौवटा स्थानीय तहहरुमध्ये तीनवटाले भने आइतबार नीति तथा कार्यक्रम मात्र पेश गरेका छन् ।
जिल्लाका भेरीगंगा नगरपालिका, चौकुने गाउँपालिका र सिम्ता गाउँपालिकाले आन्तरिक गृहकार्य गर्न वाँकी रहेको भन्दै आज बजेट पेश गरेका छैनन् । आन्तरिक तयारी नपुगेका कारण तोकिएको सभामा बजेट प्रस्तुत गर्न नसकिएको भेरीगंगा नगरपालिकाका उपप्रमुख रेणु आचार्यले जानकारी दिइन् । आफूहरुले अबको केही दिनभित्रै बजेट प्रस्तुत गर्ने उनले बताइन् । उपप्रमुख आचार्यका अनुसार बजेटमा भेरीगंगा नगरपालिकाले पनि भौतिक पूर्वाधारलाई नै पहिलो प्राथमिकतामा राखेको छ ।
आर्थिक वर्ष २०७४/०७५ का लागि नगरपालिकाले ४० करोड ८५ लाख ४१ हजार रुपैयाँ बराबरको बजेट ल्याउने भएको छ । जसमध्ये चालूतर्फ २६ करोड ३० लाख ९ हजार ४८० रुपैयाँ रहेको छ भने पुँजीगततर्फ १४ करोड ५५ लाख ३१ हजार ५२० रुपैयाँ रहेको छ । अरु स्थानीय तहहरुले बजेटसहित पेश गरेपनि आन्तरिक तयारी नपुगेका कारण आफूहरुले नीति तथा कार्यक्रम मात्र पेश गर्न सकेको चौकुने गाउँपालिकाका अध्यक्ष धिरबहादुर शाहीले बताए ।
बजेट यही महिनाको १३ या १४ गते पेश गर्नेगरि आन्तरिक गृहकार्य भैरहेको उनले जानकार दिए । बजेटमा भौतिक पूर्वाधार, नागरिकको आर्थिक उन्नति, कृषि उत्पादनलगायतका विषयहरुलाई प्रमुख प्राथमिकतामा राखिएको उनले जानकारी दिए । अध्यक्ष शाहीका अनुसार चौकुने गाउँपालिकाले आर्थिक वर्ष २०७५र०७६ को कुल बजेट २९ करोड ७४ लाख ५७ हजार रुपैयाँ बराबरको ल्याउने भएको छ ।
जसमध्ये चालू खर्चतर्फ १८ करोड ४२ लाख ५७ हजार रुपैयाँ रहेको छ भने पुँजीगततर्फ ११ करोड ३२ लाख रुपैयाँ रहेको छ । यसैगरी, सिम्ता गाउँपालिकाले पनि आन्तरिक गृहकार्य पूरा नभएको भन्दै आइतबार गाउँसभामा बजेट पेश गर्न सकेन् । आइतबार गाउँपालिकाले नीति तथा कार्यक्रम मात्र पेश गरेको छ ।
गाउँपालिकाले आर्थिक वर्ष २०७५र०७६ का लागि ल्याउने कुल बजेट ३४ करो ९१ लाख ४१ हजार रुपैयाँ बराबरकको हुने जनाइएको छ ।

प्रकाशित मिति : ११ असार २०७५, सोमबार ०१:५९