बाँके । नेपाली युवा पुस्तामा संगीतको रौनक बढ्दै गइरहेको अवस्थामा नेपालगन्जमा भने समुदायद्वारा सञ्चालित सबैभन्दा पुरानो संगीतालय जीर्ण बन्दै गइरहेको छ । २०२८ सालमा स्थापना भएको नेपालगन्ज–१७ स्थित सरस्वती संगीतालय पछिल्लो समयमा बन्द रहेको छ भने मध्य तथा सुदूरपश्चिमकै यो संगीतालयको भवन तथा प्रांगणमा रहेको सरस्वतीको मूर्तिसमेत जीर्ण बन्दै गएको छ ।
संगीत गुरु सुरेशराज शर्माको मृत्यु भएपछि गुरुको अभावमा करिब १३ बर्षदेखि बन्द भएको संगीतालयमा रहेका संगीत सामाग्रीहरु समेत हराएका संगीतालय व्यवस्थापन समितिका अध्यक्ष गोविन्दराज शर्मा बताउ“छन् । उनी भन्छन्, ‘विगतमा संगीतालयले धेरै संगीतकर्मी सिर्जना गरेको भएपनि संगीतालयद्वारा उत्पादित सन्तोष ढकाल अहिले फिल्मी दुनियाँमा जमेका छन् । तर अहिले कसैले पनि गुरु स्थललाई फर्केर हेरेका छैनन् ।
नयाँ पिढीका युवाहरु संगीत सिक्न आकर्षित हुने गरेपनि संगीतालयनै बन्द भएपनि संगीतको रौनकमा रम्न चाहने युवाहरु बरालिन थालेका छन् । हार्मोनियममा राम्रो दख्खल भएका नेपालगन्ज–१७ का संगीतप्रेमी युवा भाष्कर शाही भन्छन्, ‘संगीतालय सञ्चालन गर्ने चाहना छ, कतिपय साथीहरु बाहिरबाट संगीत कोर्ष गरी आउनुभएको पनि छ । तर, संगीतालयको अवस्था जीर्ण रहेको र पुराना सामाग्रीहरु नभएका कारण समस्या देखिएको छ ।’
स्थानीयहरुका अनुसार विगतमा जस्तै दर्जनबढि संगीत सिक्न पाइने संगीतालयमा संगीत प्रशिक्षण सुचारु भए धेरै युवाहरु कुलतबाट जोगिने र समय बिताउन सजिलो हुनका साथै युवाहरुमा संगीतप्रतिको मोह जाग्ने थियो । व्यवस्थापन समितिका अध्यक्ष शर्माका अनुसार आफुहरुले संगीतालय सञ्चालन गर्न धेरै प्रयास गरेपनि कही कतैबाट सहयोग नभएकाले व्यवस्थापनमा समस्या भएको हो । विगतमा व्यवस्थापनको कमजोरीले संगीतालयमा रहेका करिब ५ लाख मुल्य बराबरका सामाग्री हराएका छन् भने सामाग्री कसले लगेको हो भन्ने पहिचान नभएको अध्यक्ष खड्काले बताए ।
अहिले संगितालयको तीन कोठे भवनसमेत जीर्ण बनेको छ । बर्षायाममा छतबाट पानी चुहिनुका साथै भवनका भित्ताहरु चर्किएका छन् । संकटकालका समयमा बन्द भएको संगितालय आर्थिक अभावका कारण भत्किँने अवस्थामा पुगेको छ, संगीतालय व्यवस्थापन समितिका कोषाध्यक्ष विद्या शर्माले भनिन् । उनले आफूहरुको एक्लो प्रयासले मात्रै यो महिनाको अन्त्यदेखि संगितालय सञ्चालन गर्ने विषयमा संगीत गुरुहरुसँग छलफल गरिरहेको बताइन् ।
उनले भनिन्, ‘भवन जीर्ण भएकाले बाद्यबाधनका सामाग्रीहरु राख्ने स्थान समेत नहुँदा चिन्ता थपिएको छ । यहाँबाट धेरैले संगीत सिकेपनि कसैले यसलाई फर्केर हेरेनन् । सरकारी पक्षको त झनै बेवास्ता छ ।’ मध्यपश्चिम क्षेत्रकै सबैभन्दा पुरानो मानिने सरस्वती संगीतालयमा टाढा टाढाबाट धेरै संगीतप्रेमी युवाहरु संगीत सिक्न आउने गरेको भएपनि संगीतालयको अवस्था देख्दा निराश भएर फर्किने गरेको कोषाध्यक्ष शर्माको भनाई छ ।
अहिलेको समयमा व्यक्तिगत रुपमा कैयन संगीतालय स्थापना भएपनि समुदायको पहलमा स्थापीत सरस्वती संगीतालयलाई पुनः सञ्चालन गर्नुपर्ने र संगीतालयको नाममा रहेको सम्पत्तीको खोजी गर्नुपर्ने उनले बताइन् । आफूहरुले संगीतालयलाई व्यवस्थीत रुपले सञ्चालन गर्न चाहेपनि कतैबाट सहयोग नभएकाले समस्या भएको उनले बताइन् ।
।