सूचनाको शक्ति - The Power Of Information

        

मालिकार्जुनमा देखियो हेपाटाइटिसजस्तै रोग, चिकित्सकको टोली जाँदै

दार्चुला । दार्चुलाको मालिकार्जुन गाउँपालिका– ३ मा हेपाटाइटिससँग मिल्दोजुल्दो रोग देखा परेको छ । एकैचोटी सो ठाउँका पाँच जनामा हेपाटाइटिस रोगको जस्तै लक्षण देखा परेको जिल्ला स्वास्थ्य कार्यालयका निमित्त प्रमुुख डा सुरेन्द्रप्रसाद भट्टले बताए ।
उपचारका लागि स्वास्थ्यचौकीमा पुगेका बिरामीमा एकैखाले लक्षण देखा परेकाले रोग देखिएको हो । उनीहरुमा आँखा पहेलो हुने, ज्वरो आउने, वाकवाकी लाग्नेलगायतको लक्षण देखिएका छन् । आज चिकित्सकको टोली रोग देखा परेको क्षेत्रमा स्थलगत निरीक्षणका लागि जाने तथा रोगको निदान लगायतका बारेमा अध्ययन अनुसन्धान गर्ने उनले बताए ।
हेपाटाइटिस भाइरसद्वारा हुने सरुवा रोग हो । यस रोगले मानिसको कलेजोमा असर गर्ने गर्दछ । अन्य मौसमभन्दा वर्षात्को समयमा यस्तो रोग बढी देखा पर्दछ । यसको बेलैमा उपचार भएन भने लिभर क्यान्सर तथा सिरोसिस अफ लिभर हुने सम्भावना हुन्छ । मानव शरीरमा महत्वपूर्ण अंगका रुपमा रहेको कलेजो सुन्निएको अवस्था नै हेपाटाइटिस हो । विभिन्न विषाणुको संक्रमण, औषधिको प्रयोग, क्यान्सर आदि यस रोगका कारक भएको डा भट्टको भनाइ छ ।

प्रकाशित मिति : ११ असार २०७५, सोमबार ०१:२७