सूचनाको शक्ति - The Power Of Information

        

वीरेन्द्रनगर नगरपालिकाको बजेट रु ९६ करोड

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतस्थित वीरेन्द्रनगर नगरपालिकाले आव २०७५/०७६ का लागि रु ९६ करोड बजेट प्रस्तुत गरेको छ । तेस्रो नगरसभामा उपप्रमुख मोहनमाया भण्डारी (ढकाल) ले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि रु ९६ करोड २२ लाख ९३ हजारको बजेट सार्वजनिक गरेकी हुन् ।
उपप्रमुख ढकालका अनुसार विनियोजित बजेटमा आन्तरिक आय रु सात करोड ४० लाख ६० हजार र बाह्य स्रोत रु ८६ करोड ३४ लाख २३ हजार गरी प्रस्तावित बजेट जम्मा रु ९३ करोड ७४ लाख ८३ हजार हुने अनुमान गरिएको छ । आयभन्दा व्यय बढी भएकाले रु दुई करोड ४८ लाखको घाटा बजेट नगरपालिकाको चालु आर्थिक वर्षको बचत तथा आन्तरिक ऋणबाट व्ययभार गर्ने उनले जनाइन् ।
नगरसभामा पूँजीगततर्फ रु ३४ करोड ४४ हजार र चालुतर्फ रु ६२ करोड २२ लाख ३९ हजार बजेट विनियोजन गरिएको बताइएको छ । त्यस्तै सभामा उनले चालु आव २०७४/०७५ को कूल रु ६५ करोड ५४ लाख तीन हजार प्रस्तावित बजेटमा आन्तरिक आय र बाह्य स्रोतबाट रु ७६ करोड ७२ लाख ३३ हजार आम्दानी भएको जानकारी दिए ।
चालु आवको पूँजीगततर्फ विनियोजित रु ४० करोड नौ लाख ३२ हजारमा हालसम्म रु १५ करोड ७८ लाख, ८६ हजार ३९५ खर्च भएको बजेट वक्तव्यमा उल्लेख गरिएको छ । त्यसैगरी चालूगत विनियोजित रु २५ करोड ४४ लाख ७० हजारमा रु ३२ करोड ७१ लाख ७७ हजार खर्च भएको छ । दुवै शीर्षक गरेर कूल रु ६५ करोड ५४ लाख तीन हजार विनियोजित बजेटमा रु ४८ करोड ४४ लाख ८६ हजार ४७३ (७४ प्रतिशत) खर्च भएको जनाइएको छ ।
उक्त सभाको उद्घाटन गर्दै पूर्व संस्कृति तथा पर्यटनमन्त्री एवं प्रदेशसभा सदस्य यामलाल कँडेलले शहरको आवश्यकतामा आधारित योजनालाई प्राथमिकता दिनुपर्ने बताए । उनले भने, ‘सुविधा र भत्ता भए बैठकको कोरम पुग्ने प्रणालीको अन्त्य गरौँ । वीरेन्द्रनगर प्रदेश राजधानी भएकामा गर्व मात्र नगरी थपिएको जिम्मेवारी जनप्रतिनिधि सबैले पूरा गरौँ ।’
उद्घाटन कार्यक्रममा प्रदेशसभा सदस्य सीता नेपाली, यज्ञबहादुर बिसी, राजु गैरे र जिल्ला समन्वय समिति सुर्खेतका प्रमुख छविलाल सिग्देलले नगरपालिकाले ल्याएको बजेटलाई कार्यान्वयनतर्फ जोड दिन र विकासलाई प्रतिफलमुखी बनाउन सुझाव दिएका थिए ।
नगरप्रमुख देवकुमार सुवेदीले कर्णाली प्रदेशको समृद्धिको झल्को वीरेन्द्रनगर नगरपालिकाले दिने बताए । बजेटले नगरपालिकाको समग्र क्षेत्रको विकासलाई समेट्ने भन्दै उनले विकास र समृद्धिको यात्रामा आम नागरिकलाई पनि आ–आफ्नो क्षेत्रको जिम्मेवारी पूरा गर्न आग्रह गरे ।

प्रकाशित मिति : १० असार २०७५, आइतवार १४:४२