सूचनाको शक्ति - The Power Of Information

        

भोलीदेखि क्यान्सर अस्पताल सञ्चालनको तयारीमा


खम्वप्रसाद पुन । बाँके । लामो प्रतिक्षापछि बाँकेको खजुरामा रहेको क्यान्सर अस्पताल सञ्चालनमा आउने भएको छ । अस्पताल व्यवस्थापन समितिका अध्यक्ष किस्मतकुमार कक्षपतिले भोलीदेखि विधिवत उदघाटन भएर अस्पतालको ओपिडी सेवा र डे केयर सेवा संचालनमा ल्याइने बताए ।
१ सय बेडको अनुमति पाएको सुशील कोइराला प्रखर क्यान्सर अस्पताल खजुरा ५९ शैश्या संचालनमा ल्याउन लागिएको अध्यक्ष कक्षपतिले जानकारी दिए । उनले भने, ‘अस्पतालमा आवश्यक चिकित्सक तथा कर्मचारी पनि लोकसेवा मार्फत पदपूर्ति हुँदै गएको छ, ओपिडी र रेडियोलोजी यथाशीघ्र सञ्चालन गर्ने तयारीमा छौं ।’
उनका अनुसार नेपाल क्यान्सर अस्पतालको रुपमा स्थापना गरिएको उक्त अस्पतालको मास्टर प्लान अनुसार विभिन्न प्रयोजनका लागि १६ वटा भवन बन्ने छन् जसमा ओपिडी संचालन गर्ने मूख्य भवन लगायतका भवनको निर्माण सम्पन्न भएको छ । अध्यक्ष कक्षपतिले मेसिन तथा उपकरण जडानको काम धमाधम भइरहेको र अब सेवा सञ्चालनका लागि भने अझै केही समय लाग्ने बताए ।
पत्रकार सम्मेलनमार्फत जानकारी दिँदै २०६५ सालमा पहिलो पटक महायज्ञ संचालन गरेर करीब ५ करोड रुपैयाँ दान दाताहरुले बोलेकोमा ३ करोड रुपैयाँ संकलन भएपछि निर्माण कार्य शुरु गरिएको थियो । खजुराका स्थानीयको परिकल्पनामा शुरु गरिएको उक्त अस्पताल संचालनमा ल्याउने अभियान अन्तरगत अस्पतालका लागि पौने ४ बिगाहा क्षेत्रफलमा फैलिएको जमिन खरिद गरिएको थियो ।
प्रखर परोपकार मिशनद्वारा खजुराबासीको अथक प्रयासपछि अस्पतालको नमूना अगाडि बढेसंगै नेपाल सरकारले समेत नियमितरुपमा बजेट अनुदान दिन शुरु गरेपछि अस्पतालको भौत्तिक संरचना निर्माण कार्यले गति लिएको अध्यक्ष कक्षपतिले बताए । हालसम्म नेपाल सरकारले करीब २७ करोड रुपैयाँ अस्पतालको भौत्तिक संरचना निर्माणका लागि अनुदान दिएको उनले बताए ।
तत्कालीन स्वास्थ्यमन्त्री गगन थापाले खजुरास्थित नेपाल क्यान्सर अस्पताललाई गठन आदेशमार्फत सबै स्वामित्व नेपाल सरकारको हुने गरी अस्पतालको नामसमेत सुशील कोइराला क्यान्सर अस्पताल राखेका थिए । अस्पतालका निर्देशक डा. विश्व पोख्रेलले क्यान्सरको विशिष्ट प्रकारको सेवा संचालन हुने बताए । सरकारले यो आर्थिक वर्षमा छुट्याएको १८ करोड बाहेक क्यान्सर अस्पतालाई पूर्णरुपमा संचालनमा ल्याउनका लागि अझै करीब १६ करोड रुपैयाँ आवश्यक पर्ने संचालक समितिको भनाई रहेको छ ।

प्रकाशित मिति : १० असार २०७५, आइतवार ०४:०९