सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा ओलम्पिक चर्चा, ‘केक खाऔं मस्त रमाऔं’


बाँके । खेलकुदलाई शैक्षिक पाठ्यक्रममा समावेश गर्न सकेमात्र खेलकुद विकास अभियानले गति लिनेमा सरोकारवालाले जोड दिएका छन् । ओलम्पिक डे मनाउने क्रममा शुक्रवार आयोजित ‘प्रदेश खेलकुदको सम्भावना र हाम्रो दायित्व’ बिषयक अन्तरक्रियामा प्रदेशसभा सदस्य मोहम्मद याकुब अन्सारीले खेलाडीलाई आत्मनिर्भर बनाउने सवालमा प्रदेशसभामा आवाज उठाउने प्रतिबद्धता जनाए ।
‘भौतिक पूर्वाधारदेखि खेलाडीको सामाजिक सुरक्षाका सवालमा सदनमा बुलन्द आवाज उठाउनेछौं,’ अन्सारीले भने, ‘समस्या हामीलाई भन्नुस, नीतिगत तहमा आवाज उठाउने काम हाम्रो हो ।’ नेपालगन्जमा क्रिकेट मैदान निर्माण गर्ने सवालमा चाँडै नतिजा आउने गरी आफुहरुले काम गरेको उनले बताए । कार्यक्रममा कामभन्दा केकको चर्चा धेरै गरियो । खेलभन्दा केकमा विश्वास बढ्यो । काममा भन्दा कुरामा धेरै मुल्यांकन हुन्छ भन्ने प्रमाण फोटोमा देखिन्छ ।
क्रियटिभ ह्याण्ड्सले पश्चिम नेपालमा नै पहिलोपटक नेपालगन्जमा शुक्रवार ओलम्पिक डे आयोजना गरेको हो । नेपालकै प्रतिष्ठित प्रतियोगिता प्रधानमन्त्री कप अन्तर्राष्ट्रिय महिला भलिबलको सहआयोजक क्रियटिभ ह्याण्ड्सले नेपालगन्ज म्याराथन, नेपालगन्ज इन्टरनेसनल फिल्म फेस्टिभल, नेपालगन्ज साहित्य उत्सव आयोजना गर्दै आएको छ ।
साथै महिला क्रिकेटको पहिलो कप्तान नेरी थापा र क्रिकेटर महेश क्षेत्रीलाई स्कुटरसहित नेपालगन्ज स्पोर्ट्स अनरबाट सम्मान गरिसकेको छ । ओलम्पियन कमल अधिकारीलाई ओलम्पियन सुरेन्द्र हमालको आत्मकथा ‘ओलम्पियन’ प्रदान गरी सुरु गरिएको अन्तरक्रियामा राष्ट्रिय खेलकुद परिषदका सदस्य विनोद मैनालीले खेलकुद र खेलाडीका लागि राज्यले सक्दो गरिरहेको बताए ।


अग्रज खेलकर्मी नेपाल रेडक्रस सोसाइटीका केन्द्रिय उपाध्यक्ष अजित शर्माले राजनैतिक परिवर्तनसँगै खेलकुदका कतिपय अल्पकालीन र दीर्घकालीन योजनामा प्रभाव पर्ने गरेका कारण खेलकुदले अपेक्षित गति लिन नसकेको औल्याए । सिओल एसियाडमा भलिबलतर्फ रेफ्रीको भुमिका निर्वाह गरेका शर्माले समग्र खेलकुद विकासका लागि भौतिक पूर्वाधारसँगै खेलाडी खोजी अभियानलाई सम्बन्धित निकायहरुले जोड दिनुपर्नेमा जोड दिए ।
मध्यपश्चिम क्षेत्रीय खेलकुद विकास समितिका अध्यक्ष भीम ओलीले आठौं राष्ट्रिय खेलकूद समयमै हुने धेरै आधारहरु तयार भइसकेको अवस्थामा शंका उपशंका नगर्न आग्रह गरे । ‘हामी आठौंको महाअभियानमा जुटेका छौं’ अध्यक्ष ओलीले भने , ‘अब सम्पूर्ण जिल्लावासीले यसलाई प्रतिष्ठाको बिषय बनाएर अघि बढे अहिलेसम्मकै उत्कृष्ट राष्ट्रिय खेलकुदका रुपमा सम्पन्न गर्नेछौं,’ अध्यक्ष ओलीले यसै महिनाभित्र खेलकुद पत्रकारिता तालिम पनि सञ्चालन गर्ने प्रतिवद्धता जाहेर गरे ।
नेपाल बार एसोसियसनका केन्द्रिय उपाध्यक्ष सालिकराम सापकोटाले खेलकुदले देश जोड्ने भएको हुँदा खेलकुदका अभियानलाई समाजको हरेक तप्काले प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए । हिसानका केन्द्रिय उपाध्यक्ष ईश्वर पोखरेलले खेलकुदका ठुला प्रतियोगितासँग सहकार्य गरी अघि बढ्न हिसान परिवार सदैव तयार रहेको चर्चा गर्दै आठौं राष्ट्रिय खेलकुदमा सम्पूर्ण क्षमता प्रदर्शन गर्ने बताए ।
नेपाल मेडिकल एसोसियसनका भेरी इकाइ अध्यक्ष डा. विनोद कर्णले क्रिकेटको बढ्दो लोकप्रियतासँगै नेपालगन्जमा क्रिकेट मैदानको आवश्यकतालाई राज्यले तत्काल सम्बोधन गर्नुपर्ने माग गरे । नेपाली राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान एलबी क्षेत्रीले खेलाडीहरुको पहिचान स्थापित गर्न राज्यले कन्जुस्याईं गरिरहेको आरोप लगाए ।
‘खेलाडी र खेलकुदका नाममा दर्जनौं संघसंस्था क्रियाशील छन्, तर कोही खेलाडीको हकहितमा बोल्नेवाला छैन,’ क्षेत्रीले भने, ‘जबसम्म खेलाडीर्ला बाच्ने आधार तयार गर्न सकिंदैन, खेलकुदले गति लिन सक्दैन ।’ मध्यपश्चिम क्षेत्रीय प्रशिक्षण केन्द्रका निर्देशक जयन्तकुमार शर्माले कुशल खेलाडी बन्नका लागि सबैजना खेलकुदको आधिकारिक निकायको सम्पर्कमा आउनुपर्नेमा जोड दिए ।
‘तालिमप्राप्त प्रशिक्षकसग प्रशिक्षण लिदा मात्र राम्रो खेलाडी बन्ने हो र स्वास्थ्य पनि राम्रो हुने हो ।’ बरिष्ठ प्रशिक्षकसमेत रहेका शर्माले भने, ‘पक्की सडकमा दौडदा वा हिंड्दा तथा जिम क्लबमा गएर आफु खुशीले पसिना बगाउँदा त्यसले दीर्घकालीन स्वास्थ्यमा पर्ने समस्याका बारेमा सबै जानकार हुनुपर्ने बेला आएको छ ।’ कार्यक्रममा नेपाल पत्रकार महासंघ बाँकेका अध्यक्ष ठाकुरसिंह थारुले खेलकुदका निकायले खेलकुद आयोजना मात्र नभई खेलपत्रकारिता सम्बन्धि सञ्चालन गर्न सुझाएका थिए ।

प्रकाशित मिति : ८ असार २०७५, शुक्रबार १७:२४