सूचनाको शक्ति - The Power Of Information

        

श्रीमान् भन्छन्, ‘पहिले श्रीमती पाल्थ्यौ, अहिले हामी पालिएका छौं’


बाँके । ‘बसेर खानलाई टन्न सम्पत्ति पनि चाहियो नि ? टन्न सम्पत्ति नभएपछि श्रीमान्को एक्लो कमाईले घर धान्न सकिँदैन,’ बैजापुर बनघुस्रीकी बेलमति चौधरी भन्दै थिइन्, ‘श्रीमान्को मात्रै भर नपरी महिलाले पनि केही गर्नुपर्छ भन्ने लागेर मैले बाख्रापालन सुरु गरेकी हुँ । अहिले घर खर्चसँगै बचत पनि हुने गरेको छ ।’
सधैँभरि चुलोचौकामा मात्र सीमित रहने बाँके बैजापुरका महिला पछिल्लो समयमा बाख्रापालन गर्न थालेपछि आत्मनिर्भर बन्न थालेको बेलमतिको भनाई छ । उनका अनुसार घर व्यवहार चलाउँदै आएका महिलाले बाख्रापालन व्यवसाय अँगालेपछि आत्मनिर्भर बन्न सफल भएका छन् । बाख्रापालन सुरु गरेपछि आफ्नो जनजीवन पनि सहज र सरल बनाउन सफल भएको उनीहरु बताउँछन् ।
बेलमतिले बार्षिक ६/७ वटा खसी विक्री गर्दै आएकी छन् । उनले भनिन्, ‘दुईवटा बाख्रा ऋणमा किनेर सुरु गरेको बाख्रापालनबाट आजसम्म म सक्षम भएकी छु । खसी मात्रै बेचेर बार्षिक ५० हजारजति आम्दानी हुने गरेको छ ।’ डकर्मीको काम गर्दै आएका उनका श्रीमान् धनिराम चौधरीको तुलनामा उनले बाख्रापालनबाट बढी आम्दानी गर्ने गरेकी छन् । बेलमतिको खोरमा अहिले माउ बाख्री, खसी, बोका र पाठापाठी गरी २५ वटा छन् ।
बेलमतिजस्तै पछिल्लो समयमा पशुपालनबाट आफू सक्षम भएको बताउँछिन् बनघुस्रीकै सपना चौधरी । उनले बाख्रापालन गरेर आफ्नो घर व्यवहार राम्रोसँग चलाउन सफल भएको र केही पैसा बचत गर्न पनि सफल भएको बताइन् । ‘बाख्रा पालेर घर व्यवहार राम्रोसँग चलाएकी छु,’ उनले भनिन्, ‘यही बाख्रापालनबाट भएको आम्दानीले घरमा टिन पनि लगाएँ, छोराछोरीलाई समेत पढाउन पनि पुगेको छ ।’
सपना भन्छिन्, ‘बङ्गुरबाट राम्रो आम्दानी भएको छ । तीन वटा माउ बाख्री किनेर सुरु गरेको बाख्रापालनबाट अहिले मेरो खोरमा नौ वटा माउ बाख्री, एउटा बोका, चार वटा खसी र ११ वटा पाठापाठी छन् ।’ उनले बार्षिक ७० हजार बढी आम्दानी गर्ने गरेको बताइन् । सपनाका श्रीमान् रामलाल चौधरी पनि पेशाले डकर्मी नै हुन् । बेलमतिजस्तै सपनाले पनि श्रीमान्को आम्दानीको दोब्बर बचन गर्ने गरेको बताइन् । केही समयअघि सोही गाउँकी मुन्नी चौधरी आर्थिकरुपमा बेलमति र सपनाभन्दा निकै कमजोर थिइन् ।

‘पहिले हामी श्रीमती पाल्थ्यौ, अहिले उनीहरुले हामीलाई पाल्न थालेका छन् । दिनभरी ज्याला मजदुरी गरेर बेलुकीका लागि आफैँले जोहो गर्नु पर्दथ्यो । बुढीहरु घरमै बसेर चुलोचौका गर्थे । अहिले चुलोचौकाबाट उनीहरु बाहिर निस्केका छन् । बाहिर ज्यालादारी गर्ने पुरुषहरु पनि फुर्सदमा बाख्रापालनमै लागेका हुन्छन् ।’

दिनरात रक्सी खाने र सधैँ घरझगडा गर्ने उनका श्रीमान्ले भएको सम्पत्ति पनि बेचबिखन गर्न थालेपछि मुन्नी विरक्तिएकी थिइन् । अलिअलि भएको सम्पत्ति पनि श्रीमान्ले विक्री गर्न थालेको थाहा पाएपछि श्रीमान्लाई सम्झाईबुझाई गरेर विक्री हुनबाट जोगाइन् । त्यही समयमा उनले ऋणमा दुईवटा माउ बाख्री किनेर बाख्रापालन सुरु गरिन् । उनी भन्छिन्, ‘त्यतिबेला श्रीमान्ले भनेको नमानेको भए अहिले उठीबास हुने थियो ।’
‘श्रीमान्ले मेरो आग्रह स्वीकार गर्नुभयो । त्यही भएर अहिले मेरो खोरमा माउ बाख्री, खसी, बोका र पाठापाठी गरी १७ वटा छन् । यसबाट बार्षिकरुपमा ४०÷४५ हजारजति कमाई हुन्छ,’ मुन्नीले भनिन्, ‘श्रीमान्ले पनि आजभोली त्यति धेरै जाँडरक्सी खानुहुन्छ । बाहिरको काम उहाँले गर्नुहुन्छ । घरको कामसँगै बाख्राको रेखदेख मैले गर्ने गरेकी छु । यसले हाम्रो आर्थिक अवस्था पहिलेको भन्दा सुध्रिएको छ ।’
दुईवटा बाख्राबाट सुरु गरेको बाख्रापालन व्यवसायबाट यहाँका महिलाले बर्षमा औसतमा रु.२५/३० हजारसम्म आम्दानी गर्ने गरेका छन् । खसी, बाख्रा बेचेको आम्दानीले उनीहरुले आफ्ना छोराछोरीलाई सदरमुकाम नेपालगन्जमा छोराछोरीलाई पढाउन समेत भ्याएका छन् । बालकुमारी चौधरी पनि बाख्रापालनबाट आत्मनिर्भर बन्दै गएको बताउँछिन् । ‘बाख्रापालनबाट आफूहरु आत्मनिर्भर बन्दै गएको र घरपरिवार चलाउन तथा चाडपर्वमा खर्च गर्न र छोराछोरी पढाउन सजिलो भएको छ,’ बालकुमारीले भनिन्, ‘यहाँका महिलाले बाख्रापालनबाट राम्रो आम्दानी गर्न सफल भएका छन् ।’
महिलाले गरेको पशुपालनबाट भएको आम्दानी रकमले घरपरिवारको दैनिकी चलाउन सहज भएको र दुःख बिरामी परेको समयमा औषधि उपचारका लागि सहयोग मिलेको बताउँछन् बनघुस्रीकै मोहन चौधरी । बाख्रापालनको सुरुवातसँगै बाख्रालाई खुवाउनका लागि महिलाले घाँसखेती गरेको पनि मोहनले बताएका छन् । बाख्राको चरिचरनका लागि जंगल पनि प्रसस्तै छ । तर कहिलेकाहीँ व्यस्त भएर बाख्रा चराउनका जंगल लैजान नभ्याएको समयमा बारीमै छरेको बर्सीम, स्टाइलो लगायतको उन्नत घाँस काटेर हाल्न सजिलो हुने महिला बताउँछन् ।
बनघुस्रीकै सोमती थारुले भनिन्, ‘पहिले घर खर्च चलाउन, छोराछोरी पढाउन र आफ्ना लागि सामान किन्न श्रीमान्कै भर पर्नुपथ्र्यो, अहिले पर्दैन ।’ उनले अहिले २१ ओटा बाख्रा पालेकी छन् । उनले बाख्रापालन महिलालाई आर्थिक रुपमा आत्मनिर्भर बनाउने राम्रो व्यवसाय बनेको बताइन् । नेपालको कृषि अर्थ व्यवस्थाको दरिलो र भरपर्दो क्षेत्रको रूपमा रहेको पशुपालन क्षेत्र अन्तर्गतको बाख्रापालनबाट यहाँका महिलाले राम्रो आम्दानी गरिरहेका छन् ।
गतवर्ष तीन वटा बाख्राबाट बाख्रापालन सुरु गरेकी भुवनी चौधरीको अहिले खोरमा ११ बाख्रा पुगेका छन् । वनबाट ल्याएको घाँस र घरमा फलेको अन्न खुवाएर हुर्काएका बाख्रा नै उनका लागि गुजारा गर्ने भरपर्दो व्यवसाय भएको छ । उनले ११ बाख्रामध्ये एउटा बेचेर घर खर्चसमेत टारेकी छन् । यी महिलाजस्तै गाउँका अतिविपन्न परिवारले आयआर्जनका लागि बाख्रापालन गरिरहेका छन् । सोमतीले भनिन्, ‘मेहनत गरेको खण्डमा बाख्रापालन मुनाफायोग्य व्यवसाय हो, मेहनत गरिएन भने लगानी डुबेर जान्छ ।’
उनले आफूहरुले बाख्राको खोर व्यवस्थापन, घाँस, बीउ, बेर्ना सम्बन्धी तालिम तथा सीप पाए थप आम्दानी गर्न सक्षम हुने बताइन् । यसरी व्यावसायिक बाख्रापालन गरेर मनग्य आम्दानी गर्ने यहाँका महिला उदाहरण मात्र हुन् । बाँकेमा ग्रामिण भेगमा यिनीहरुजस्तै बाख्रापालन व्यवसाय गरेर आफ्नो गुजारा चलाउँदै आएका महिला धेरै छन् । सानो लगानीबाट समेत सञ्चालन गर्न सकिने भएकाले बाख्रापालन व्यवसाय ग्रामीण क्षेत्रमा फस्टाउँदै गएको छ ।
स्थानीय सोमलाल चौधरी भन्छन्, ‘पहिले हामी श्रीमती पाल्थ्यौ, अहिले उनीहरुले हामीलाई पाल्न थालेका छन् । दिनभरी ज्याला मजदुरी गरेर बेलुकीका लागि आफैँले जोहो गर्नु पर्दथ्यो । बुढीहरु घरमै बसेर चुलोचौका गर्थे । अहिले चुलोचौकाबाट उनीहरु बाहिर निस्केका छन् । बाहिर ज्यालादारी गर्ने पुरुषहरु पनि फुर्सदमा बाख्रापालनमै लागेका हुन्छन् ।’ हाल नेपालमा रहेका करिब एक करोड बाख्राबाट ५५ हजार ५०० सय मेट्रिक टन मासु उत्पादन भइरहेको विभिन्न सरकारी तथा गैरसरकारी संस्थाहरुको तथ्यांक छ ।
जुन नेपालको कुल मासु उत्पादनको करिब २० प्रतिशत रहेको छ । बढ्दो शहरीकरण तथा प्रतिव्यक्ति आयको वृद्धिसँगै बाख्राको माग बढ्दै गइरहेका कारण माग पूरा गर्न स्वदेशी उत्पादनको अलवा वार्षिक करिब पाँच लाख खसी बोका तथा च्याङ्ग्रा छिमेकी मुलुक भारत तथा चीनबाट आयात गरिन्छ । विशेषगरी दशैँ, पूजा, बली र विविध चाडपर्वका लागि निर्वाहमुखी उत्पादन हुँदै आएको बाख्रापालनलाई नै व्यवसाय बनाएर निजी क्षेत्रबाट पालन गर्ने कार्य विस्तारै अगाडि बढ्दै गएको छ ।

प्रकाशित मिति : ८ असार २०७५, शुक्रबार ११:१२