सूचनाको शक्ति - The Power Of Information

        

बचतले आत्मनिर्भरसँगै सामाजिक विकासमा क्रियासिलता बढाउँदै थारु महिला

सीतासिंह थारु

सीतासिंह थारु

बाँके । बाँकेको टिटिहिरियामा रहेको थपुवा गाउँमा धेरै थारु समुदायको बसोबास रहेको छ । त्यस गाउँमा रहेका थारु समुदायका सबै महिलाहरु कुन न कुनै बचत समूहमा आबद्ध छन् । नियमित बचतबाट उनीहरु अहिले ब्यवसायिक बन्न सकेका छन् । दुई चार रुपैयाँबाट बचत सुरु गरेका उनीहरुले अहिले लाखौं रुपैयाँ बचत गरिसकेका छन् । ब्यवसायबाट आत्मनिर्भर बनेका महिलाहरु नेतृत्व विकास तथा विकास निर्माणका कार्यमा पनि उत्तिकै सहभागी बनेका छन् ।
टिटिहिरीयाका सीतासिंह थारुले दिब्य युनिक नेपाल नामक समूहमा नियमित बचत गर्छिन् । नियमित बचत गर्दै जाँदा अहिले उनलाई घरखर्च चलाउन कुनै समस्या छैन । घरपरिवारको सबै आवश्यकता आफैं टार्न सक्ने भएपछि घरपरिवारले पनि सहयोग गर्ने गरेकाले थप उत्प्रेरणा मिलेको सीताले बताइन् । अहिले समूहमा बचत गर्न थालेसंगै उनले आफ्ना दुःखको दिन गएको महसुस गरेकी छिन् । उनी त थपुवा गाउँको एक प्रतिनिधि पात्र मात्र हो ।
उनीजस्तै थुप्रै महिलाहरु बचतपछि आत्मनिर्भर बन्न सकेका छन् । बचत गर्ने र ऋण परिचालन गर्ने गरेपछि उनीहरुको दैनिकी नै फेरिएको हो । गाउँघरमा मदिरा सेवनबाट हुने अनावश्यक होसल्ला पनि अहिले हुन छाडेको छ । मदिरा सेवनपछि हुने कुटपिटका घटनाहरु अहिले गाउँमा नहुने गरेको महिलाहरु बताउँछन् । अर्का स्थानीय माया कुमारी थारुले पनि समुदायमा छुट्टै पहिचान स्थापित गर्न सफल भएकी छिन् । माया अहिले साना किसान समूहको अध्यक्ष छिन् ।

गाउँका सबैजसो महिलाहरु कुन न कुनै समूहमा आबद्ध भएर आफूलाई ब्यस्त बनाइरहेका छन् । थपुवा गाउँका महिलाहरु गाविसमै पनि उदाहरणीय बनिरहेका छन् ।

पहिला आफ्नो परिचय दिन नसक्ने माया अहिले नेतृत्वदायी पदमा बसेर काम गरिरहेकी छिन् । समूहको अध्यक्ष भएसँगै विभिन्न ठाउँको भ्रमण र तालिमहरु पाएपछि धेरै कुरा सिकेको र समूहका सदस्यहरुलाई पनि जानकारी गराउने गरेको मायाले सुनाइन् । थपुवा गाउँमा रहेका थारु समुदायका महिलाहरु सबै साक्षर छन् । समूहमा बसेपछि उनीहरु स्थानीय निकायले प्रदान गर्ने सेवा सुविधाबारे समेत सजग बनेका छन् ।
थारु समुदायका महिलाहरु महिला हिंसा बिरुद्ध क्रियाशील छन् । गाउँमा यदि कसैलाई महिला हिंसा भईहालेमा पनि कानुनी प्रक्रियामा गइ हाल्छन् उनीहरु । महिलाहरु कानुनका बारेमा सचेत हुँदै गएपछि महिलामाथि हिंसा कम हुँदै गएको उनीहरु बताउँछन् । पहिला १०–२० रुपैयाँ बचत गर्ने महिलाहरु अहिले बचत रुपैयाँ बढाएर १०० रुपैयाँ बचत गर्दै आएका छन् । पहिला ब्यवसाय गर्नका लागि महंगो ब्याजमा ऋण लिने उनीहरु अहिले सहुलियत दरमा समूहबाट बिना धितो ऋण पाउने भएपछि ब्यबसायिक बनेका छन् ।
युनिक नेपाल नामक बचत समूहमा बचत गर्दै आएका आकृतिसिंह थारुले तरकारी खेती र ब्रोईलर पालेर आम्दानीको श्रोत जुटाइरहेका छन् । आकृतिसँग पहिला घरखर्च चलाउने पैसा हुन्थेन, घर परिवारले पनि चाहिएको पैसा दिंदा अप्ठेरो महसुस गर्थिन् उनी । तर अहिले आकृतिले पूरै घर एक्लै चलाउँछिन् । उनलाई अहिले आर्थिकका लागि कसैको सहयोगको जरुरत छैन । उनको क्रियाशीलता अहिले सामाजिक विकासमा पनि अझैं बढ्दै गएको छ । जसका कारण समाजमा पनि उहाँको पहिचान थपिँदै गएको छ ।
टिटिहिरियाका महिलाहरुलाई पहिला समूहमा बसेपछि के हुन्छ भन्ने कुरा नै थाहा थिएन । समूह भनेको के हो भनेर नबुझेका महिलाहरु बिस्तारै समूहमा बसेर बचत गर्न थालेपछि उनीहरुको दैनिकी नै फेरिएको उनीहरु स्वयम् बताउँछन् । नेतृत्वमा भएको विकासपछि उनीहरु अहिले आफ्ना समस्याहरु खुलेर सबैसामु राख्न सक्छन् । यतिमात्र होइन आफ्नो स्वास्थ्यबारे पनि उत्तिकै सजग छन् । नजिककै स्वास्थ्य संस्थामा गएर आफ्नो नियमित चेकजाँच पनि गराउँछन् उनीहरु ।
लेखपढ गर्न नजान्नेहरु पनि प्रौढ शिक्षा माग गरेर अहिले लेख्न सक्ने र पढ्न सक्ने भएका छन् । समूहको हिसाबकिताब गर्न पनि उनीहरुलाई कुनै समस्या नै छैन । कसैले समूहबाट पैसा लिएर बाख्रापालन, बंगुरपालन, कुखुरापालन गरेका छन् त कसैले घुम्ती पसल र तरकारी खेती गरेका छन् । घरभित्रै मात्र सीमित रहेका थारु समुदायका महिलाहरु अहिले बाहिर निस्किएर नेतृत्व लिन सक्ने भएका छन् । उनीहरु समूहमा बसेसंगै आफ्ना अधिकारबारे चासो देखाउन थालेका छन् ।
यतिमात्र नभई स्थानीय निकायबाट पाउने सेवा सुविधा र महिला लक्षित कार्यक्रमका बिषयमा पनि उत्तिकै सचेत छन् । गाउँका सबैजसो महिलाहरु कुन न कुनै समूहमा आबद्ध भएर आफूलाई ब्यस्त बनाइरहेका छन् । थपुवा गाउँका महिलाहरु गाविसमै पनि उदाहरणीय बनिरहेका छन् । स्थानीय लक्ष्मी सिंह थारुले छिमेक बचत समूहमा बचत गर्दै आएकी छिन् । ५५ बर्षकी लक्ष्मीले बंगुर पालेकी छिन् । उनी भन्छिन्, ‘बुढेशकालमा सजिलो होस् भनेर अहिले बचत गरिरहेकी छु ।’

प्रकाशित मिति : ७ असार २०७५, बिहीबार १३:३०