सूचनाको शक्ति - The Power Of Information

        

फस्टाउँदै मौरीपालन व्यवसाय, वार्षिक २ लाखसम्म आम्दानी


सुर्खेत । मौरी पालनवाट पनि मनग्य आम्दानी गर्न सफल भएपछि सुर्खेत जिल्लामा पनि मौरी पालन व्यवसायतर्फ किसानहरुको आकर्षण बढ्दै गएको छ । मौरी पाल्नका लागि कम लगानी र स्याहार सुसार पनि धेरै गर्न नपर्ने भएपछि जिल्लामा पछिल्लो समयमा मौरी पालनमा आकर्षण वढेको हो । अहिले जिल्लाको रतु, गर्पन, साटाखानी, उत्तरगंगा, बावियाचौर लगायतका क्षेत्रका किसानहरुले व्यावसयिक मौरी पालन गर्दै आएका छन ।
‘कम लगानीबाट पनि मैले वार्षिक दुई लाख रुपैयासम्म बचत गर्दै आएको छु,’ गर्पन ३ का पदमलाल चपाईले भने, ‘विदेश जान भन्दा त घरमै वसेर मौरी पाल्ने हो भने धेरै कमाई हुन्छ ।’ उनले परम्परागत रुपमा पाल्दै आएको घरको खोपाका घारसँगै आधुनिक विकासी काठका घारमा पनि मौरी पाल्दै आएका छन् । उनले अहिले ४६ वटा घारमा मौरी पाल्दै आएका छन् ।
मौरी पालनवाटै पदमलालले अहिले ९ जनाको परिवार, लुगाफाटो, खाना खर्च र छोराछोरीको पढाई खर्च समेत चलाउदै आएका छन् । उमेरले ४९ वर्ष पुगेका पदमलालको मुख्य आम्दानीको श्रोत अहिले मौरीपालन बनेको छ । पदमलालले गएको कात्तिक महिनामा मात्र ४६ हजार रुपैया बचत गरेका छन् । अहिले उनले गर्पन र आसपासका गाविसमा मात्र होइन नेपालगन्ज, दैलेख काठमाडौं लगायतका ठाउँमा मौरीको मह निर्यात गर्दै आएका छन् ।
‘विशेष गरेर कात्तिकको मह औषधीको रुपमा पनि प्रयोग हुनाले ३०० रुपैयाँसम्म पर्छ,’ उनले भने । प्रतिमाना महलाई २५० देखि ३०० रुपैयाँ पर्ने र धेरै लगानी पनि गर्न नपर्ने भएकाले पनि सुर्खेत जिल्लामा मौरी पालन गर्ने किसानहरुको सख्यामा वृद्धि हुन थालेको छ । अहिले यस जिल्लामा सेरेना जातको मौरी धेरै किसानहरुले पाल्दै आएका छन् । तर बेलाबेलामा मौरीका घारहरु अरुले नै चोरेर मह काढेर खाइदिँदा आफुहरुलाई घाटा हुने गरेको मौरीपालक किसान पदमलालको भनाई छ ।
मौरी पालक किसानहरुका लागि सरकारी पक्षबाट केहि तालिम र विक्रि गर्नका लागि बजारको उचित व्यवस्था गरिदिएमा किसानहरुका लागि केहि राहत हुनेमा किसानहरुको भनाई छ । विशेषगरी परम्परागत रुपबाट मौरीपालन हुने यस जिल्लाका किसानहरुको आकर्षण बढ्नु कृषि क्षेत्रका लागि राम्रो भएको जिल्ला कृषि विकास कार्यालय सुर्खेतले जनाएको छ । किसानहरुले परम्परागत भन्दा आधुनिक रुपबाट मौरी पालन गर्ने हो भने धेरै लाभ लिन सक्ने र रोजगारीको अवसरको खोजीमा विदेशीनु पर्ने अवस्था आउनेछैन ।

प्रकाशित मिति : ७ असार २०७५, बिहीबार १३:१८