सूचनाको शक्ति - The Power Of Information

        

ठगिँदै उपभोक्ता, ढुङ्गाका ढकमा नजर कहिले ?

केही समयअघि बरामद गरिएका नक्कली ढक र तराजु । फाइल तस्वीर

केही समयअघि बरामद गरिएका नक्कली ढक र तराजु । फाइल तस्वीर


बाँके । उपभोक्ताहरुको खाद्यअधिकारको संरक्षण गर्न तथा व्यापारीहरुलाई समेत खाद्यअधिकारका बारेमा जानकारी गराउने उद्देश्यले वाणिज्य कार्यालयले विगतमा उपभोक्तासँगै गर्ने अभिमुखिकरण तथा जनचेतनामँलक अभियान प्रभावकारी देखिएका छैनन् ।
बाँकेका विभिन्न बजारहरुमा व्यापक मात्रामा बर्षौदेखि प्रयोगमा ल्याइएका पुरानै ढकहरु प्रयोगमा रहेका छन् । खाद्यअधिकारका बारेमा थालिएका अभियान र गरिरहेका कार्यक्रमहरुले बर्षौेदेखि प्रयोगमा ल्याइएका पुरानै ढुङ्गाका ढकहरु नदेख्नुले पनि कार्ययोजना प्रभावकारी बन्न सकेको छैन । यसले उपभोक्ता ठगिने क्रम बढेको छ ।
उपभोक्ताहरुलाई खाद्यअधिकार तथा व्यापारीहरुलाई अखाद्य वस्तु विक्रीवितरण नगर्न सल्लाह दिने उद्देश्यले विगतमा वाणिज्य कार्यालय नेपालगन्जले अभियान चलाएको भए पनि प्रभावकारी देखिएन । कार्यालयले गाँउगाँउमा रहेका उपभोक्ताहरु तथा विद्यालयका बिद्यार्थीहरुका माझमा चेतनामुलक कार्यक्रमहरु गर्दै आएको थियो । उपभोक्ताहरुलाई सम्रगरुपमा समेट्न नसकेपछि विद्यालयमा रहेका विद्यार्थीहरुलाई सचेतना फैलाउँदै आएको कार्यालयको दावी छ ।
खाद्यवस्तुका बारेमा एउटा विद्यार्थीलाई मात्रै जानकारी भए पनि उसले आफ्नो परिवालाई जानकारी गराउने र खाद्य तथा अखाद्य वस्तुका बारेमा बुझाउने भएकाले विद्यार्थीहरुलाई पनि सचेतना अभियानमा समेटिएको छ । बजार क्षेत्रमा अनुगमनलाई तीव्र पारेको दावी गर्दै गाँउसम्म चेतना फैलाउन वाणिज्यले अभियान थालेका वेला बजारका बिभिन्न व्यापारीहरुले अझैपनि पहिलेदेखि नै प्रयोगमा ल्याउँदै आएका पुराना ढकहरु, ढुङ्गा तथा ईट्टाका ढकहरु प्रयोगमा ल्याइरहेका छन् ।
फलामका ढकहरुसमेत पटकपटक चेकजाँच गरिनु त परै जाओस्, ढुङ्गा तथा ईट्टाका ढकहरु प्रयोग गरी उपभोक्ताहरुलाई ठग्दै आएका व्यापारीहरुलाई नापतौल विभागले अनुगमनको सिन्कोसमेत भाँच्न नसक्दा बर्षौदेखि उपभोक्ताहरु मारमा पदै आएका छन ।
बाँके जिल्लाका विभिन्न बजारहरु क्षेत्रमा मासु, फलफुल, तरकारी तथा किराना व्यापारीहरुले हालसम्म पनि ढुङ्गा तथा ईट्टाका ढकहरु प्रयोग गर्दै आएका छन् । व्यापारीहरुले नापतौल विभागले प्रमाणित गरेका ढकहरु प्रयोग नगरी कानुन विपरित ढुङ्गा तथा ईट्टाका ढकहरु प्रयोग गर्दै आएपनि विभागको भने यसतर्फ हालसम्म ध्यान जान सकेको छैन ।
नापतौल ऐन बमोजिम ढुङ्गा तथा ईट्टाका ढकहरु प्रयोग गरी व्यापार गर्ने व्यापारीहरुलाई तीन हजारदेखि पाँच हजारसम्म जरीवाना हुने व्यवस्था रहेको यस क्षेत्रमा अनुगमन गर्दै आएको वाणिज्य कार्यालय बाँकेका एक कर्मचारीले बताए ।
उनका अनुसार सामान्य तथा किराना, फलफुल तथा तरकारी पसल गरेर जीविकोपार्जन गर्दै आएका व्यापारीहरुलाई नापतौल ऐन अनुसार कारबाही गरिँदा उनीहरुको आर्थिक क्षमताले नभ्याउने भएकाले नियम लागु गर्न समस्या भएको हो । यद्यपी पैसा कमाउने नाममा उपभोक्ताहरुलाई ठगी गर्ने व्यापारी तथा अखाद्य वस्तु मिसाएर बिक्रीवितरण गर्ने व्यापारीहरुलाई कानुनी कार्बाही गरिनुपर्ने उपभोक्ताहरुको भनाई छ ।
खाद्यवस्तुका बारेमा जनचेतना जगाउँदै हिडेको वाणिज्य कार्यालय तथा नापतौलका क्षेत्रमा कार्यरत पक्षले बर्षौदेखि प्रयोग गर्दै आएका पुराना ढक तथा व्यापारीले प्रयोग गदै आएका ढुङ्गा तथा ईट्टाका ढकहरुमा छिट्टकै नजर पु¥याउनुपर्ने आवश्यक रहेको देखिन्छ ।

प्रकाशित मिति : ७ असार २०७५, बिहीबार १३:०९