सूचनाको शक्ति - The Power Of Information

        

‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई सार्थक बनाउनुपर्छ : सभामुख महरा

दाङ । सभामुख कृष्णबहादुर महराले दाङको विकासका लागि संघीय सरकारले विनियोजन गरेको बजेट पर्याप्त रहेको बताएका छन् । नेपाल पत्रकार महासंघ दाङले आज घोराहीमा गरेको पत्रकार सम्मेलनमा उनले दाङको सम्रग विकास र समृद्धिका लागि सरकारले छुट्याएको बजेटले दीर्घकालीन आधार तयार हुने बताए ।
सभामुख महराले दाङको समृद्धि र विकासका लागि सरकारले सडक सञ्जाल, कृषि, सिँचाइ, पर्यटन लगायत पूर्वाधार विकासका क्षेत्रमा बजेट विनियोजन गरेको उल्लेख गर्दै तुलसीपुर विमानस्थलको विकल्पमा भन्दा पनि देशकै लागि आवश्यक पर्ने अर्काे अन्तर्राष्ट्रिय विमानस्थलका रुपमा बनाउन सम्भाव्यता अध्ययनका लागि सरकारले बजेट विनियोजन गरेको जानकारी दिए ।
सरकारले घोराही–मुर्कुटी हुँदै प्यूठान जोड्ने सडकलाई मदन भण्डारी मार्गका रुपमा अघि सारेको बताउँदै उनले धार्मिक पर्यटन स्वर्गद्वारीलाई कोइलावास नाकासँग तथा पर्यटकीय केन्द्र रारा र लुम्बिनीलाई जोड्ने गरी सडक सञ्जालको विकासका लागि आफूले योजना अघि बढाएको धारणा व्यक्त गरे । सभामुख महराले संघीयता कार्यान्वयनका लागि झन्डै एक सय भन्दा बढी कानून निर्माण गर्नुपर्ने आवश्यकता रहेको बताए ।
‘सरकारले अघि सारेको ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई स्थानीय तहले सार्थक बनाउन सक्नुपर्छ,’ महराले भने । स्थानीय तहको मुख्य कार्यभार भनेको नै जनताको आयस्तर माथि उठाउने बताउँदै उनले सोहि अनुरुप बजेट विनियोजन गर्न स्थानीय सरकारलाई आग्रहसमेत गरे ।

प्रकाशित मिति : ७ असार २०७५, बिहीबार १२:२७