सूचनाको शक्ति - The Power Of Information

        

मकै जोन कार्यक्रम प्रभावकारी बन्दै, ६२१ हेक्टरमा मकै खेती

बाँकेको हिरमिनियामा गरिएको बेमौसमी मकैखेती । तस्वीर : यदुराज मिश्र/बाँके

बाँकेको हिरमिनियामा गरिएको बेमौसमी मकैखेती । तस्वीर : यदुराज मिश्र/बाँके


बाँके । बाँकेमा सञ्चालित प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना मकै जोन कार्यक्रम प्रभावकारी बन्दै गएको छ ।
आर्थिक वर्ष २०७३/७४ देखि सञ्चालन भएको सो परियोजनाको प्रारम्भमा जिल्लाका १० समूह र सहकारीमा आबद्ध कृषकले ३५० हेक्टर जग्गामा मकै खेती गर्दै आएकोमा अहिले ३५ कृषक समूहले ६२१ हेक्टरमा मकै खेती गरिरहेका छन् ।
बाँकेका कृषि आधुनिकीकरण परियोजना प्रमुख देवेशकुमार मिश्रका अनुसार, दुई वर्षको अवधिमा परियोजनाको कार्यक्रममा कृषक सहकारी, कृषक उद्यमी, जल उपभोक्ता र कृषक समूहका एक हजार ३४३ कृषक आबद्ध भएका छन् । नेपालगन्ज उपमहानगरपालिकाको पाँच वडा तथा डुडुवा गाउँपालिकाको बेतहनी, वनकट्टी र हिरमिनिया गाउँलाई परियोजनाभित्र समेटिएको छ ।
परियोजना कार्यक्रमअन्तर्गत कृषकले हिउँदे र वसन्ते मकैखेती गर्दै आएकामा आगामी आवदेखि बर्खे मकै खेतीका लागि ४० कृषक समूह छनोट गरिएको छ । ‘मकै खेती हुँदै आएको बाली, जलवायु र माटोको अनुकूलता तथा कृषकको मागका आधारमा परियोजनाले जिल्लालाई मकै जोनका रुपमा छनोट गरेको हो,’ मिश्रले भने ।
जिल्लामा सञ्चालित मकै जोन कार्यक्रमअन्तर्गत कृषकलाई किटनाशक औषधि, बीउबिजन र विभिन्न कृषि उपकरण ५० देखि ८५ प्रतिशतसम्म अनुदानमा उपलब्ध गराइँदै आएको छ भने मकै खेतीसम्बन्धी प्राविधिक ज्ञानसमेत कार्यालयले प्रदान गर्दैआएको छ ।
अनुदान सहयोगअन्तर्गत नेपालगञ्ज उपमहानगरपालिका–१५ को विजय नर्सरी फर्म, वडा नं २२ पुरैनीमा मौसमी कृषक समूह र डुडुवा गाउँपालिका–६ बल्दीपुरवाको कृषि सहकारी संस्थालाई करीब रु ७५ लाख बराबरको तीन थान ट्र्याक्टर, ट्रली, थ्रेसर, रोटाबेटर लगायत उपकरण ५० देखि ८५ प्रतिशत अनुदानमा उपलब्ध गराएको छ ।

प्रकाशित मिति : ७ असार २०७५, बिहीबार ०७:३९