पुष्पराज जोशी ‘पुकार’
मट्कौना, कैलाली
चुन्की,
टाउकोमा ताराको चिन्ह बाँधेर
तिमी बन्दूक बोकी जंगल छिर्ने बेला
आँखाको चालबाजी गर्दै
हिँड भनेको बिर्सेको छैन ।
तिम्रै कमाण्डमा
तल्लाघरे कर्ण दाइलाई समुन्द्र बनायौ
पल्लाघरे रामे बादल बन्यो
गोरे चट्टान बन्यो
कालेलाई पथ्थर बनाएको बर्सेको छैन
हो ! चुन्की,
जब तिमी शाही जल्लादका कुरा गथ्र्यौ
कसम, रगत उम्लेर आउँथ्यो
फाँसीबादी सरकारलाई ढालेपछि
दुःखपछि सुख आउँछ भनेको बिर्सेको छैन
गाउँका सामन्तको नाम
स्कुलको भित्तामा टाँसेर
पदम दाइलाई सुराकी भन्दै खुट्टा भाँचेको
सौकार काकाको जमिन खोसेको
म त अझै बिर्सेको छैन
स्कुल जाँदै गरेका कलिला मस्तिष्क
बीच बाटोबाटै फर्काएर
बुर्जुवा शिक्षा नपढाऊ भन्दै
बा लाई अभियानका नाममा
जंगल घुमाएको अझै बिर्सेको छैन
चुन्की, बेरोजगार भएर बस्न नसकी
विदेशिन तिमीले पासपोर्ट बनायौ रे
युद्ध अभियानमा
बाँझो खेत जोतेर
सुन फलाउने कुरा बिर्सेको छैन
।