सूचनाको शक्ति - The Power Of Information

        

१०३ वर्षीया देउसरालाई नागरिकता, प्रजिअलाई भनिन्, ‘सधैं फलिफाप होस्’

शुरबहादुर सिंह । सुर्खेत । खत्याड गाउँपालिका–११ मुगु लुई गाउँकी १०३ वर्षीया देउसरा कार्कीले नागरिकता प्रमाणपत्र प्राप्त गरेकी छन् । जिल्ला प्रशासन कार्यालय मुगुको आयोजनामा मुगु खत्याड गाउँपालिकामा जेठ ३० गतेदेखि सञ्चालित एकीकृत घुम्ती शिविरमा कार्कीलाई नागरिकता प्रदान गरिएको मुगुका प्रमुख जिल्ला अधिकारी उमाकान्त अधिकारीले जानकारी दिए ।
छत्तीस वर्षमात्र आयु भएका नागरिकको जिल्ला भनेर चिनिएको मुगुमा १०३ वर्ष उमेरसम्म बाँच्ने र जीवनको अन्तमा भएपनि नागरिकता पाउने देउसरा पहिलो भाग्यमानी महिला हुन् । ओरालो लागेको जीवनको अन्तमा भएपनि नेपाली नागरिक हुन पाएकामा देउसराले खुशी व्यक्त गरिन् ।
‘योभन्दा अघि जिल्लाको कुनै हाकिम यहाँ आएनन्, यतिबेला सिडिओ साब पहिलो पटक घरदैलोमा आएर नेपाली नागरिक हुने मौका दिनु भएको छ, मलाई ठूलो खुशी मिलेको छ,’ हर्षित मुद्रामा कार्कीले भनिन् र प्रजिअ अधिकारीलाई फलिफाप होस् भनेर आशीर्वाद दिइन् ।
प्रजिअ अधिकारीले औसत आयु ४६ वर्ष भएको मुगु जिल्लामा १०३ वर्षको आमालाई नागरिकता दिन पाउँदा आफूलाई सौभाग्यशाली ठानेको बताए । अशिक्षा, गरिबी र लुई गाउँ दुर्गम भएर होला, आमाले नागरिकता लिन पाउनु भएको रहेनछ,’ उनले भने ।

घुम्ती शिविरबाट नौ सय लाभान्वित
मुगु सदरमुकाम गमगढीबाट एक दिन समय लाग्ने खत्याड गाउँपालिकामा सञ्चालित एकीकृत घुम्ती शिविरबाट नौ सयभन्दा नागरिकहरू लाभान्वित भएका छन् । जिल्ला प्रशासन, जिल्ला समन्वय समिति, मालपोत, महिला तथा बालबालिका, स्वास्थ्य तथा पशुसेवा कार्यालयसहितको एकीकृत घुम्ती शिविरबाट नौसयभन्दा बढी नागरिकहरूले सेवा लिएका छन् ।
शिविरमा ४३८ जनालाई नागरिकता, ३३ बाल परिचयपत्र, ४८ अपांग परिचयपत्र, ११ जनालाई मालपोत नामसारी, चारजनालाई बकस, चार जनालाई राजीनामा, तीनजनाको नाम संशोधन र ३० जनालाई पुरानो फिर्ता गरी नयाँ पूर्जा जारी गरिएको उनले बताए । उनका अनुसार जेठ ३० गतेबाट शुरु भएको घुम्ती शिविर यही असार ७ गतेसम्म सञ्चालन हुनेछ ।

स्थानीय सरकारकै योजना गुणस्तरीय
संघीय सरकारका विद्यमान संरचनाका साथै स्थानीय सरकारअन्तर्गतका विकास योजनाको काम अहिले धमाधम भइरहेका छन् । सबै तहमा असारे विकासको चटारो छ । दैनिक प्रशासन सञ्चालनार्थ हरेक तहमा चालू बजेट त निरन्तर खर्च भइरहेको छ । यद्यपि, पूँजीगत बजेट आखिर त्यही ‘असारे विकास’ भन्ने थेगो भन्दा फरक तरिकाबाट कार्यान्वयन नभएको स्थानीय जनता बताउँछन् ।
स्थानीय सरकार सञ्चालन भएको एक वर्षपछि पनि यो अवस्थाट धेरै स्थानीय सरकारहरू टाढा छैनन् । सञ्चालित योजनाको गुणस्तर र विकासमा तीव्रता स्थानीय सरकारले ल्याएको प्रमुख जिल्ला अधिकारी अधिकारीले बताए । प्रजिअ अधिकारीले भने, ‘संघीय सरकारबाट सञ्चालित स्कूल भवन, खानेपानी, सिँचाइ जस्ता योजनामा त्रुटि देखिएको छ । तिनको विवरण संकलन गर्दैछौं ।’ केन्द्रको तुलनामा गाउँपालिकाले सञ्चालन गरेको योजनाहरूमा गुणस्तर र काममा छरितोपन देखिएको उनको दाबी छ । रासस

प्रकाशित मिति : ७ असार २०७५, बिहीबार ०४:००