सुर्खेत । सुर्खेतको पश्चिम चौकुने गाउँपालिका ९ मा रहेको बिरगौडा आधारभुत विद्यालयका विद्यार्थीहरु खुला आकाशमुनि पढ्न बाध्य छन । गत बैशाख ३१ गते आएको हावाहुरीले विद्यालयको ७ कोठे भवन भत्काउनुका साथै छाना उडाएपछि भवन अभावका कारण खुला चौरमा बस्न बाध्य भएका हुन् ।
कक्षा ८ सम्म पढाई हुने उक्त विद्यालयमा करिब चारसय विद्यार्थी अध्ययन गर्छन् । सात कोठे भवनको भित्ता भत्काउनुका साथै टिनका छाना उडाएपछि अहिले विद्यालयमा चार वटा कोठा मात्र छन् । जीर्ण कोठा भएका कारण पनि पानी पर्दा पढाउन समस्या भएको छ ।
सबै विद्यार्थीहरु चार वटा कोठामा पढाउन नसकिने हुँदा कक्षा ४, ५ र ८ का विद्यार्थीहरुलाई बाहिर चौरमा राखेर रुखको छाहारीमा बसेर पढाउन बाध्य भएकोे विद्यालयका प्रध्याध्यापक गशेण न्यौपानेले जानकारी दिए । कक्षा एक र दूईका विद्यार्थीहरु एउटै कोठामा राखेर विद्यालयले पढाइरहेको छ ।
विद्यालयले दिउँसमा धेरै गर्मी हुन थालेपछि बिहान पढाउन सुरु गरेको छ । विद्यालयमा खानेपानी र शौचालयको पनि समस्या भएको उनले बताए । विद्यालयको ७ कोठा मध्य ५ वटा कोठा पूर्णरुपमा क्षति भएको छ । हावाहुरीका कारण विद्यालयको करिब ८ लाख बराबरको क्षति भएको छ ।
हावाहुरीले भवनको भित्ता भत्काएकाले पनि भवन बनाउन धेरै बजेट लाग्ने देखिएको प्रध्यानाध्यापक न्यौपानेले जानकारी दिए । उनले भवनको पुनःनिर्माणका लागि करिब ६ लाख ६५ हजार खर्च लाग्ने बताए ।
‘विद्यालयको आफ्नै स्रोत केही छैन । बाँकी रहेका चार वटा कोठामा पनि पानी परेपछि चुहिएर पढाउन मिल्दैन,’ उनले भने, ‘गर्मी भएकाले बेलामा विद्यार्थीहरुलाई पानीको व्यवस्था गर्न पनि समस्या छ । भवन जीर्ण छन् पानी प¥यो भने विद्यालयनै बन्द गर्नुपर्ने अवस्था आउँछ । अहिलेसम्म कुनै नियकाले बजेट अभाव देखाउँदै ध्यान दिएको छैनन् ।’
बराहताल गाउँपालिकाका ९ का वडा अध्यक्ष नवराज जैसीले आफुले गाउँपालिकामा सिरफारिस गरेपनि बजेट अभावका कारण विद्यालयको भवन मर्मत हुन नसकेको बताए । गाउँपालिकामा बजेट नभएका कारण मर्मत हुन नसकेको उनको भनाई छ । विद्यालयको भवनका लागि प्रदेश सरकार र स्थानीय सरकारलाई समेत जानकारी गराउँदा ध्यान नदिएको उनले बताए ।
‘हामीले गाउँपालिका, यस क्षत्रबाट निर्वाचित भएका सांसदहरु, उपसभामुख सबैलाई सहयोगका लागि भनेका छौं,’ उनले भने, ‘एक महिनादेखि विद्यार्थीहरु यसरी दुःखकष्ट सहेर पढिरहेका छन् तर कसैको यस विद्यालयको ध्यान गएको छैन ।’
।