यार्सा संकलनमा गएका मगरको डोल्पाको यार्सापाटनमा हत्या
।
डोल्पा । हिमाली जिल्ला डोल्पाको एक यार्सापाटनमा रोल्पाका एकजनाको जघन्य हत्या गरिएको छ । डोल्पो बुद्ध गाउँपालिकामा पर्ने किम्जुङ पाटनमा रोल्पाका ४२ वर्षीय कर्ण पुन मगरको घाँटी रेटेर हत्या गरिएको अवस्थामा शव भेटिएको प्रहरीले जनाएको छ ।
गएराति हत्या गरिएको अवस्थामा शव भेटिएको हो । मृतक मगर रोल्पाको उवा घर भई हाल चनौटा बस्दै आएको प्रहरीले जनाएको छ । मृतक मगर यार्सागुम्बा संकलनका लागि हरेक वर्ष यही यार्सा पाटनमा आउने गरेको बताइएको छ ।
मृतकले यार्सागुम्बा बेचेर कमाएको रु ७०÷७५ हजार नगदका लागि उनको हत्या गरिएको हुनसक्ने प्रहरीले अनुमान लगाएको छ । जिप्रका डोल्पाका प्रहरी नायब उपरीक्षक हरिप्रसाद अनुसार मगरको हत्या कसरी भयो भन्नेबारे अनुसन्धान तीव्र रुपमा भइरहेको छ ।
सञ्चारको कुनै पनि सुविधा नभएका कारण राति १ बजे प्रहरी चौकी धो मा जानकारी आएपछि तत्काल प्रहरी नायब निरीक्षकको कमाण्डमा प्रहरी घटनास्थलमा पुगेको प्रनाउ शर्माको भनाइ छ । उनका अनुसार आजै बिहान सदरमुकाम दुनैबाट पनि प्रहरी निरीक्षकको कमाण्डमा थप प्रहरी पठाइएको छ ।
तर सदरमुकामबाट उक्त घटनास्थलसम्म पुग्न तीन दिन लाग्ने भएकाले घटनाका बारेमा थप जानकारी आउन समय लाग्ने छ । प्रहरी चौकी धोबाट घटना घटेको पाटनसम्म जान चार घण्टाभन्दा धेरै समय लाग्ने गरेको स्थानीयवासी बताउँछन् ।
भौगोलिक विकटता र घटना घटेको स्थान निकै जोखिम भएका कारण शव ल्याउनसमेत कठिन हुने भएको छ । मृतकका आफन्तलाई जानकारी गराइसकेको र निम्न परिवारका भएका कारण शव बुझ्न आउनसमेत कठिन भएको मृतककी श्रीमतीले बताएको प्रहरीले जानकारी दिएको छ ।
प्रहरीका अनुसार मृतक पुन मगरका छोरा मुस्ताङबाट आउँदै गरेको जनाएको छ । शव परीक्षणका लागि जिल्ला सदरमुकामसम्म ल्याउनका लागि कम्तीमा पनि एक साता लाग्नेछ ।
।