सूचनाको शक्ति - The Power Of Information

        

सामुदायिक विद्यालयका लागि गाउँपालिकामा १३८ शिक्षक चाहिए


बाँके । बाँकेको राप्ती सोनारी गाउँपालिकामा १३८ शिक्षक चाहिएका छन् । जसअनुसार माविमा २७, निमाविमा ६० र प्राथामिक तहमा ५१ शिक्षक गरी १३८ चाहिएका हुन् । गाउँपालिकाका अनुसार ५३ वटा सामुदायिक विद्यालयका लागि उक्त जनशक्ति आवश्यक परेको हो ।
राप्ती सोनारी गाउँपालिका शिक्षा शाखाका प्रमुख तथा विद्यालय निरिक्षक जीवन न्यौपानेका अनुसार राप्ती सोनारी गाउँपालिकामा कक्षा १–१२ सञ्चालन रहेका ८ वटा र १–१० सम्म सञ्चालन रहेका ८ वटा विद्यालय गरी १६ माध्यमिक विद्यालयमा १३८ दरबन्दी खाली रहेका छन् ।
विद्यालय निरिक्षक न्यौपानेले भने, ‘गाउपालिकामा सञ्चालनमा रहेका माध्यमिक तहका विद्यालयहरु मध्ये ९ वटा विद्यालयमा माध्यमिकतहको एउटा पनि दरबन्दी छैन् । निजी स्रोतको शिक्षक वा तल्लो तहमा दरबन्दी रहेर माथिल्लो कक्षामा पढाई रहेका छन् ।’
उनले कक्षा १–८ सञ्चालनमा रहेका निमावि तहका विद्यालयहरु १६ वटा रहेको भए पनि गाउँपालिकाभर ९ वटा मात्र निमावि तहको दरबन्दीका शिक्षक कार्यरत रहेको जानकारी दिँदै भने, ‘सबैभन्दा बढी निमावि तहका शिक्षक आवश्यक रहेका छन् । आवश्यक दरबन्दी अनुसार निमावि तहमा ६० जना शिक्षक आवश्यक रहेकोमा हाल ४८ जना मात्रै रहेका छन् ।’
शिक्षा शाखा प्रमुख न्यौपानेले गाउँपालिकामा रहेका २१ प्राथामिक तहका विद्यालयका लागि ५१ जना शिक्षक दरबन्दी आवश्य रहेको जानकारी दिए । उनले गुणस्तरिय शिक्षाको लागि गाउँपालिकाले ठोस कार्यक्रम लागू गर्ने तयारी रहेको बेलामा आवश्यक शिक्षक दरबन्दी पुरा हुन नसक्दा भनेको जस्तो प्रतिफल पाउन कठिन हुने बताए ।
उनले भने, ‘आवश्यक शिक्षक दरबन्दी पुरा गर्न सकिए शैक्षिक गुणस्तरको लागि कुनै सम्झौता नगरी हामी काम गर्दैछौं । गुणस्तरिय शिक्षा दिनको लागि निरन्तर प्रयत्नशिल रहेको छौं ।’ राप्तीसोनारी गाउँपालिकाका अध्यक्ष लाहुराम थारुले गाउँपालिकाले गुणस्तरिय शिक्षाको लागि कुनै पनि कसर बाँकी नराख्ने गरी आफुहरुले शिक्षालाई पहिलो प्राथामिकतामा राखेर काम गर्न सुरु गरेको बताए । उनले भने, ‘कुनै पनि हालतमा शिक्षालाई पहिलो प्राथामिकतामा राखेर काम गर्न सुरु गरिनेछ ।’
उनले विद्यालयको भौतिक पूर्वाधारदेखि विद्यालयको शैक्षिक गुणस्तरमा सुधार ल्याउन सबै जनप्रतिनिधि एक भएर लाग्दै आएको समेत स्पष्ट पारे । शिक्षा विकास तथा समन्वय इकाई बाँकेका उपसचिव गोर्खबहादुर थापाले बाँकेमा निमावि र मावि तहमा मात्र शिक्षक दरबन्दी अपुग रहेको र प्रावि तहमा केही अपुग भएजस्तो देखिए पनि मावि र निमावि तहमा दरबन्दी थप हुने वित्तिकै प्रावि तहमा आफै पूर्ति हुने जानकारी दिए । उनले जिल्लामा राहत र पिसिएफ दरबन्दी गत वर्षदेखि नै कटौती गरिएको बताए ।
उनले भने, ‘बाँकेमा मावि र निमावि तहमा गरी करिव ४ सय दरबन्दी अपुग छ । यसमा करिव २२५ दरबन्दी निमाविको र बाँकी मावि तहको दरबन्दी अपुग रहेको हो । जहाँसम्म केही पालिकाका विद्यालयमा प्रावि तहको दरबन्दी अपुग देखिएको छ । दरबन्दी मिलान र मावि तथा निमावि तहको दरबन्दी पुरा भएपछि आफै पुरा हुन्छ ।’

प्रकाशित मिति : ४ असार २०७५, सोमबार ०५:५५