सूचनाको शक्ति - The Power Of Information

        

घरबहाल कानून थाहा नहुँदा घरबेटीबाट डेरावाल पीडित


बाँके । बालकुमारी शर्मा घरबेटीको अभद्र व्यवहारका कारण आफू डेरा सर्न बाध्य भएको बताउँछिन् । काखमा नानी, पिठ्युँमा सामान, कहिले यता र कहिले उता सर्नुपर्ने उनको बाध्यता हो । जाजरकोट घर भइ भाडामा नेपालगन्जमा बस्दै आएकी उनी घरबेटीको व्यवहारदेखि अति दिक्क भएकी छिन् । घरबेटीले मनपरि भाडा बढाउने, पानी किनेर खाए पनि पानीको पैसा तिर्नुपर्ने जस्ता मारले दिनप्रतिदिन पीडित हुनुभन्दा डेरा सर्नु नै उचित ठानिन् उनी ।
उनले आफूले घरबेटीको मनपरि व्यवहारको प्रतिकार गर्दा डेराबाट नै निस्कनु परेको बताइन् । कालिकोटका रिजन उपाध्यायको पीडा पनि फरक छैन । उनी पनि घरबेटीबाट पीडित भएको स्वीकार्छन् । उनी घरबेटी र डेरावाललाई कानुनी दायरामा ल्याउनुपर्ने र त्यसका निम्ति छुट्टै कानुनको निर्माण गर्नुपर्ने कुरामा जोड दिन्छन् । पुरानो कोठा छाडेर नयाँ कोठा पाउन पनि अति गाह्रो छ ।
कोठा खोज्न गयो ‘फ्ल्याट लिने हो भन्छन् ।’ ८–१० हजार तलब खाने मान्छेले कसरी लिन सक्छ फ्ल्याट ? नेपालगन्ज बहुमुखी क्याम्पसमा अध्ययनरत विद्यार्थी मदन रावल आफ्नो व्यथा पोख्छन् । उनी सरकारले कोठाभाडाको निश्चित दररेट ठाउँअनुसार गर्नुपर्ने कुरामा जोड दिन्छन् । यदि सरकारले डेरावाल र घरबेटी सम्बन्धी नयाँ कानुनको तर्जुमा गरेमा डेरावाल र घरबेटीको द्वन्द्व केही मात्रामा मत्थर हुने कुरामा उनी जोड दिन्छन् ।
घरबेटीले शुरुमा बस्ने बेलामा २–३ वर्ष भाडा बढाउँदिन भन्छन्, तर ६ महिना नबित्दै अनेकौं बहाना बनाएर भाडा बढाउँछन् । यदि घरबेटीले भने जति भाडा दिएन भने निक्लेर जा भन्छन् । त्यसको कुनै कानुनी उपाय नभएकाले डेरावालहरू दिनप्रतिदिन पीडित हुनुपरेको हो । ‘अझ घरबेटीलाई आफ्नो मान्छेलाई कोठा दिनुपर्यो भने पनि ठाउँ खाली गर भन्छ । उनीहरूले भनेको बेलामा झट्टै कोठा पाइँदैन’ यो कारुणिक भनाइ थियो कोरियनपुर निवासी डेरावाल जीवन शाहीको ।
नेपालगन्जका घर भाडामा लगाएर बाहिर बस्ने घरमूलीको संख्या पनि कमी छैन । उनीहरू महिनाको एकपटक भाडा उठाउन आउने गर्छन् । घरमा पानी आउँदै आउँदैन, ट्वाइलेट सफा छ छैन मतलब छैन, यस्तो स्थितिमा बिना घरबेटी भाडामा बस्ने डेरावाल झन् पीडित भएको कुरा एक पीडित राजु परियार बताउँछन् । उनी घरबेटीले धारामा पानी नआएको र घरबेटीसँग दिनप्रतिदिन झगडा हुने गरेको बताउँछन् ।
यस विषयमा घरबेटीसँग बुझ्दा एक घरबेटीले डेरावालहरू घरप्रति अनुत्तरदायी हुने, कोठा सफा नगर्ने आदि कारणले डेरावाल नै दोषी भएको आफ्नो धारणा राख्छन् । उनी समय समयमा हुने मूल्यवृद्धिका कारण भाडा बढाउनु आफ्नो बाध्यता भएको विचार राख्छन् । डेरावाल र घरबेटीका समस्यालाई निराकरण गर्न नेपाल सरकार र सम्बन्धित पक्षले निश्चित मापदण्ड तयार गर्न सकेमा डेरावाल र घरबेटीबीच द्वन्द्व समाप्त हुने कुरा स्थानीय समाजसेवीहरू बताउँछन् ।

प्रकाशित मिति : ४ असार २०७५, सोमबार ०४:५१