रितु खड्का पाल/कञ्चनपुर
डडेल्धुराको परशुराम नगरपालिका–६ तातापानीका ७४ वर्षिय खड्कसिंह खड्काको जीवनमा १० वर्षअघि ठूलै विपत्ति आइलाग्यो । घरका लागि माटो लिन गएका उनी दाहिने खुट्टा गुमाएर घर फर्किए । त्यसपछि पनि उनलाई दुखले छोडेन । एकपछि अर्को विपत्तिको सामना खड्काले गरिरहे । परिवारको खर्च धान्ने एउटा पानी घट्ट र सानो पसल चलाएका थिए, त्यो पनि २०६६ सालमा आएको बाढीले बगाएर लियो ।
खड्का भन्छन्, ‘माटो लिनका लागि महाकाली नदीको छेउमा रहेको ढिस्को खन्ने क्रममा ढुङ्गाले थिचेर मैले दाहिने खुट्टा गुमाए । उपचारका लागि भारतको पिलिभित पुगे, तर खुट्टा जोडिएन । महेन्द्रनगरमै रहेको एउटा संस्थाको सहयोगमा अहिले प्लास्टिकको कृत्रिम खुट्टा राखेर लौरोको सहायताले हिँडिरहेको छु ।’ आर्थिक अवस्था कमजोर भएकै कारण खड्काले पानी घट्ट र सँगै बगाएको पसल पुनः सञ्चालनमा ल्याउन सकेनन् । शारिरीकरुपमा अशक्त भएपछि खड्काले खेतबारीको काम गर्न सक्ने अवस्था थिएन । तर उनलाई घरखर्च कसरी चलाउने भन्ने चिन्ताले सताइरह्यो । उनी भन्छन्, ‘गरिखाने उमेरमा विपत्तिले छोडेन, अहिले त बुढेसकाल पनि लागिसक्यो । घर बाहिरको काम पनि गर्न सक्दिन ।’
घरखर्च टार्न उनले एउटा सानो पसल सञ्चालन गरे । आफ्नै प्रयासमा खोलिएको एउटा सानो पसलमा महाकाली पारि भारत जाने र आउने ग्राहकहरुलाई खाजाको व्यवस्था गरेर महिनामा मुस्किलले ७ हजार रुपैयाँ आम्दानी गर्न थाले । यसले जेनतेन घरखर्च चलाउन सहयोग गरेको थियो । गएको बैशाख २८ गते दिउँसो पसल बन्द गरेर उनी खाना खानका घरतिर गए । पसल बन्द भएकै अवस्थामा आगोले पुरै पसल खरानी बनाइदियो । ‘खाना खाएर फर्किँदा बन्द गरेर गएको पसल खनाीमा परिणत भइसकेको थियो,’ खड्काले भने, ‘खाना खाँदै गर्दा आगलागी भएको हल्ला सुने, सुरुमा त विश्वास लागेन । शारिरीक अवस्थाले पनि कुदेर पसलसम्म जान सकिन ।’
‘‘घटना भएलगत्तै घटनास्थलमै राहत पाएकोमा खुशी छु, यसले मेरो पीडामा मल्हम लगाएको छ । दैवले दुख दिए पनि साथ दिने भेटिँदा रहेछन् ।’
हारगुहार गर्दै सकिनसकी उनी पसल भएतिर लागे । नेपाल प्रहरी र समुदायमा विपद् प्रतिकार्य तालिम लिएका स्वयंसेवकका साथै नेपाल रेडक्रस सोसाइटीका सामाजिक परिचालकहरुले आगलागी नियन्त्रणमा लिए । तर आगो नियन्त्रणमा आउँदा पसल खरानी भइसकेको थियो । पसलमा रहेका विष्कुट, चाउचाउ लगायत जलेर नष्ट भइसकेका थिए । पसलमा भएका लत्ताकपडा, रेडियो, बाकससहित नगद ४ हजार रुपैयाँ पनि जलिसकेका थिए । ‘दुखले सुरु गरेको पसल पनि रहेन,’ भक्कानिदै उनले भने, ‘दुखकष्ट गरी जोडेको पसल क्षणभरमै खरानी भएपछि मन सम्हाली सकिन ।’
आगलागी भएर नष्ट भएको खड्काको पसल ।
परशुराम नगरपालिका–६ तातपानी टोल महाकाली नदी र सादनी खोलामा आउने वाढीको उच्च जोखिम रहेको छ । साथै चैत्रदेखि जेठसम्म चल्ने हावाहुरीका कारणले पनि आगलागीको घटना पनि हुँदै आइरहेको छ । बाँच्ने सहाराका रुपमा रहेको एकमात्र पसल पनि खरानी भएपछि खड्काले दैवप्रति धेरै गुनासो गरे । प्लाष्टिकको कृत्रिम खुट्टाले जेनतेन गरी हिँडडुल गर्ने उनलाई त्यसपछिका दिनहरु कहालीपूर्ण लाग्दै गए । कुनैबेला परिवारमा चार छोरी थिए । सबै विहेबारी गरी आ–आफ्नो घरतिर लागे । श्रीमान र श्रीमतीको साहरा नभएपछि जीवनमा उनीहरुलाई विरक्त लाग्न थाल्यो । तर विस्तारै मनलाई सम्हाल्यौ । पसलमा आगलागी भएको खवर गाउँभर फैलियो ।
नेपाल रेडक्रस सोसाइटीको अगुवाईमा समुदायमा सामुदायिक विपद् व्यवस्थापन समिति गठन भएको खड्कालाई जानकारी थियो । उनले आगलागी भएको घटना उक्त समितिलाई जानकारी गराए । प्रहरीले घटनाको विवरण संकलन गरी मुचुल्का तयार गर्यो । त्यसलगत्तै सामुदायिक विपद् व्यवस्थापन समितिको बैठक बसेर राहतका लागि पहल थाल्यो । समितिले खड्कालाई तत्काल ४ हजार राहत उपलब्ध गरायो । विभिन्न व्यक्ति तथा संस्थाहरुले सहयोग गर्न थाले । महाकाली नदी समुदायमा आधारित समावेशी कार्यक्रमका कर्मचारीहरुले आफ्नो तलबवाट २ हजार रुपैयाँ र रेडक्रस उपशाखाका सदस्य बलदेव नाथले १ हजार रुपैयाँ सहयोग गरे ।
आगलागीपछि विभिन्न संघसंस्थाको सहयोगमा पुनःनिर्माण गरी सञ्चालन गरिएको खड्काको पसल ।
परियोजनामा कार्यरत कर्मचारीहरुले नै नेपाल रेडक्रस सोसाइटी जोगवुढा उपशाखासँग सम्पर्क गरी आवश्यक पाल, कम्वल, लत्ता कपडाका साथै भाडावर्तनसमेत उपलब्ध गराएपछि उनलाई एकपछि अर्को सान्त्वना मिल्दै गयो । खड्काले भने, ‘घटना भएलगत्तै घटनास्थलमै राहत पाएकोमा खुशी छु, यसले मेरो पीडामा मल्हम लगाएको छ ।’ विपदपछि तत्काल राहत वितरण गर्ने उद्देश्यले नेपाल रेडक्रस सोसाइटी महाकाली नदी समुदायमा आधारित समावेशी कार्यक्रमबाट ५० हजार र समुदायमा होली खेलेर जम्मा भएको ९ हजार ८०० रुपैयाँ राहत कोषमा जम्मा भएकै कारण आफूले राहत पाएको खड्काले बताए ।
राहत रकमबाट उनले आगलागी भएर नष्ट भएको पसललाई माटोको गारो लगाई जस्ता पाताले छाएर पुनः सञ्चालनमा ल्याएको छु । खड्काले भने, ‘दुख परेका वेला तत्कालै घटनास्थलमै आएर राहत रकम उपलब्ध गराई ऋणको वोझ घटाएर चाडै पुनःस्थापित गर्न सहयोग गर्ने नेपाल रेडक्रस सोसाइटी जोगवुढा उपशाखा, महाकाली नदी समावेशी परियोजना र सामुदायीक विपद् व्यवस्थापन समिति र नेपाल रेडक्रस सोसाइटीका स्वयंसेवकहरुले लगाएको गुण म कसरी विर्सन सक्छु र ।’ आपतविपद परेका बेला सहयोग गर्ने रेडक्रस लगायतका व्यक्ति र संघसंस्थाकै कारण जीवनभर पाएका दुख विर्सिँदै गएको खड्काले बताए । ‘दैवले दुख दिए पनि साथ दिने भेटिँदा रहेछन्,’ खड्काले भने ।
।