सूचनाको शक्ति - The Power Of Information

        

‘भद्र’ र ‘रुपसी’को जोडीलाई चिन पठाइँदै

चितवन । नेपालले चीन सरकारलाई उपहार दिने दुई जोडी गैँडामध्ये एक जोडीमा भद्र र रुपसी छन् । वन तथा भूसंरक्षण मन्त्रालयले भाले र पोथी गैँडाको नामकरण गरी राष्ट्रिय निकुञ्ज विभाग हुँदै चितवन राष्ट्रिय निकुञ्ज पठाएको छ ।
निकुञ्जका प्रमुख संरक्षण अधिकृत वेदकुमार ढकालका अनुसार ती गैँडा एक वर्ष नौ महिनादेखि दुई वर्षभित्रका छन् । भालेलाई निकुञ्जको खोरियामुहान र पोथीलाई सुखिभार क्षेत्रबाट नियन्त्रणमा लिई राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यालय परिसरमा पिट बुमा निर्माण गरी राखिएको छ ।
यही असार १३ देखि १५ गतेभित्र चीनमा रहेको साइटिस टोली नेपाल आउँदैछ । चिनियाँ अधिकारीले खोर बनाउन भनेपछि गैँडालाई राखेर पठाइने चार थान खोर बनाउने काम शुरु गरिएको र एक हप्ताभित्र खोर बनिसक्ने बताइएको छ ।
संरक्षण कोषको परिसरमा दुई जोडी गैँडा छन् । अर्काे एक जोडीको नामकरण गरिएको छैन । अर्काे जोडी गैँडालाई साउनको पहिलो साता चीन पठाइने तयारी छ । ढकालले चिनियाँ टोली समयमा आउन नसक्दा प्रधानमन्त्रीसँगै गैँडा पठाउन नसकिएको बताए ।
दुई जोडी गैँडा मानिससँग घुलमिल गर्न थालेको र दिउँसो पालैपालो खुला खोरमा राख्न थालिएको छ । दुई वर्षअघि चीन भ्रमणका क्रममा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले चीन सरकारलाई दुई जोडी गैँडा उपहार दिने वचन दिएका थिए । चितवन राष्ट्रिय निकुञ्जले गत वैशाख दोस्रो साता तीन गैँडा नियन्त्रणमा लिएको थियो भने एउटा गैँडा बाढीले बगाउँदा यसअघि नै उद्धार गरी राखिएको थियो ।

प्रकाशित मिति : ३ असार २०७५, आइतवार ०८:१२