सूचनाको शक्ति - The Power Of Information

        

श्रीमतीसँग यौनसम्पर्क राख्दा श्रीमान् पुगे प्रहरी खोरमा !


दाङ्ग । पत्नीलाई जवरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका युवकलाई छुटाउन दवाव दिएपछि दाङको गढावा गाँउपालिका वडा नं. ६ गढवामा प्रहरी र स्थानीयबासीबीच झडप भएको छ । झडपमा तीन प्रहरीसहित १२ जना स्थानीय घाइते भएका छन् ।
जवरजस्ती करणीको आरोपमा पक्राउ परेका गढवा ६ का २२ वर्षीय भरतप्रताप यादवलाई रिहाइको माग गर्दै स्थानीयले शुक्रबार प्रहरीमाथि ढुङ्गा प्रहार गरेपछि झडप भएको वडा प्रहरी कार्यालय लमहीका प्रमुख अरूणकुमार सिंहले जानकारी दिए ।
प्रदर्शनकारीले गढुवा प्रहरीका सई कमल आचार्य, प्रहरी हवल्दार दौलतसिंह बुढा र अर्का एकजना प्रहरीलाई आक्रमण गरी घाइते बनाएका छनु । स्थानीयले आक्रमण गरेपछि प्रहरीले बल प्रयोग गरेको थियो । ईप्रका गढुवा घेराउ गर्न आएका प्रर्दशनकारीलाई त्यसपछि बाध्य भएर प्रहरीले लाठी चार्ज गर्नुका साथ दुई सेल अश्रु ग्याँस प्रहार गर्नु परेको प्रहरीले जनाएको छ ।
झडपमा ४५ वर्षीय मालिकराम यादव, ५३ वर्षीय सतगुर यादव, ४८ वर्षीया दीपा यादव, २३ वर्षीया संगीता यादव, २४ वर्षीय अनवर अली, ३० वर्षीया अनिता यादव, २८ वर्षीया मञ्जिला यादव, ४४ वर्षीय साहेवदास यादव, २० वर्षीय अनुप यादव लगायतका स्थानीय घाइते भएका छन् ।
गढुवा गाउँपालिका वडा नं. ६ गढुवा बजार निवासी २२ वर्षीय भरतप्रताप यादवले स्थानीय १५ वर्षीया किशोरीसंँग तीन महिना अगाडि बिहे गरेका थिए । केटी पक्षले गत जेठ २७ गते आफ्नी छोरीमाथि बलात्कार भएको भन्दै प्रहरीमा किटानी जाहेरी दिएपछि प्रहरीले आरोपित भरतप्रताप यादवलाई पक्राउ गरी मुद्दा दर्ता गरेर कानूनी कारबाहीको प्रक्रिया अगाडि बढाएपछि केटा पक्षले त्यसको विरोध गरेका हुन् ।
केटाका आफन्त तथा स्थानीयले सुनियोजित तरिकाले भरतप्रतापलाई फसाइएको भन्दै तत्काल उनको रिहाईको माग गर्दै शुक्रबार मध्यान्ह १२ बजेदेखि साढे ५ बजेसम्म ईप्रका गढुवा घेराउ गर्दै प्रर्दशन गरेका छन् । सर्वसाधारणले ढुङ्गा मुढा गर्दै प्रहरी प्रशासनका विरुद्ध चर्का नारावाजी गरेका थिए । उनीहरूले बजार बन्द गराउनुका साथै टायर बालेर प्रदर्शन गरेका थिए ।
तीन महिनाअघि केटा केटीले प्रेम बिवाह गरेको र पछि केटी पक्षले केटी फिर्ता लगेर अहिले जबरजस्ती करणीको मुद्दा दर्ता गरेर फसाउने खोजेको आरोप केटा पक्षले लगाउने गरेको छ । झुठा मुद्दा फिर्ता गरी युवकलाई रिहा नगरे गढवा बजार नै बन्द गरेर प्रहरीका बिरुद्धमा आन्दोलन थाल्ने केटा पक्षले चेतावनी दिएका छन् । उत्पन्न समस्या समाधानका पक्षमा दुबै पक्षसंग सम्वादको प्रयास जारी रहेको प्रहरीले बताएको छ ।

प्रकाशित मिति : २ असार २०७५, शनिबार ०८:१६