सूचनाको शक्ति - The Power Of Information

        

नेपालगन्जमा मनाइयो सामाजिक सदभावको पर्व इद


खम्बप्रसाद पुन । बाँके । नेपालगन्जमा इद पर्वलाई समाजिक सदभावका रुपमा मनाइएको छ । मुस्लिम धर्मालम्वीहरुको महान चाड इदमा सबै धर्म समुदायले एकअर्कामा शुभकामना साटासाट गर्दै एकआपसमा खुशी साटेका छन् । एकमहिने लामो रोजा (व्रत) बसेर मुस्लिम समुदायले आज नेपालगन्जको वीपी चौकमा रहेको इदगाहामा पुगेर नामज पढ्दै गर्दा अन्य धर्म र समुदायका मानिसहरुले पनि साथ दिएका छन् ।
इदका अवसरमा बाँके स्थित विभिन्न राजनीतिक दल, सामाजिक अगुवा पेशा र विभिन्न धर्मका मानिसहरु पुगेर शुभकामना साटापाट गर्दै इदलाई सामाजिक एकता र मेलमिलापको पर्वका रुपमा मानेका छन् । नेपालगन्ज उपमहानगरपालिका उपप्रमुख उमा थापा मगर नेपालगन्ज शहर सामाजिक सद्भावको शहर भएको उल्लेख गर्दै मुस्लिम समुदायको इद उल फित्र इद पर्व सामाजिक सदभाव र मेलमिलापको पर्व भएकाले यसले आपसी सद्भाव र एकतालाई दिगो र बलियो बनाउने बताइन् ।


मुस्लिम अगुवा रसिद कमाल रम्जान एक महिने विशेष चाड भएकाले ३० दिनसम्म व्रत बसेर इद मनाइने बताउँदै इदका अवसरमा गरिने ब्रतले सुख शान्ति प्राप्त हुने र यस अवसरमा दुःखी गरिबलाई आफ्नो कमाईको साढे २ प्रतिशत दान गर्ने प्रचलन रहेको उल्लेख गरे । यता, यसअघि सरकारले इदलगायत मुस्लिम समुदायको चाडपर्वहरुमा दिँदै आएको बिदा कटौती गरेकोमा भने मुस्लिम समुदाय असुष्ट छन् ।
नेपालगन्जका मुस्लिम अगुवा बब्लु खान सरकारले दिँदै आएको बिदा कटौती गरेर मुस्लिम समुदायको अपमान गरेको भन्दै आक्रोश पोखे । इदका अवसरमा मिठा परिकार खाने, इष्टमित्र वीच भेटघाट गर्ने, विगतका गल्ती कमीकमजोरीलाई त्याग्दै सुख शान्ति र अमन चयनको खोजी गर्ने प्रचलन छ ।

प्रकाशित मिति : २ असार २०७५, शनिबार ०७:१०