सूचनाको शक्ति - The Power Of Information

        

हर्षोल्लाषका साथ आज इद उल फित्र मनाइँदै, राष्ट्रपतिले दिइन् शुभकामना

फाइल तस्बिर

बाँके । इस्लाम धर्मावलम्बीले आज आफ्नो महान पर्व इद उल फित्र मनाउँदै छन् । अरबी पात्रो हिजरी संवत्अनुसार दशौँ महिनाको पहिलो दिन मुसलमानले इद उल फित्र पर्व मनाउने गर्छन् । आज विशेष नमाज पढेपछि तीन दिनसम्म आफूभन्दा ठूलाबाट आशीर्वाद लिने तथा आफूभन्दा सानालाई आर्शीवाद दिने चलन छ ।
आशीर्वाद लिन आउने आफन्तलाई सेवइ, खजुरलगायत मीठा खानेकुरा खान दिने परम्परा छ । खुशीपूर्वक गरिबलाई दान गरिने भएकाले यो पर्वलाई इद उल फित्र भनिएको हो । आज बिहान काठमाडौंको घण्टाघरमा रहेको जामे मस्जिदमा विशेष नमाज पाठ गरिनेछ । त्यसपछि ठूलाबडाकहाँ आशीर्वाद लिने क्रम शुरु हुन्छ । एक महिनासम्म चल्ने यो पर्वमा मुुसलमानहरुले गएको जेठ ३ गतेदेखि रोजा अर्थात व्रत सुरु गरेका थिए ।
यसलाई रमजान पनि भनिन्छ । रमजान महिनामा मुसलमानको सबैभन्दा ठूलो ग्रन्थ कुरान अवतरण भएकाले यस महिनालाई पवित्र महिनाका रुपमा पनि लिने गरिन्छ । पर्वको मुख्य दिन आज मुसलमानहरुले इदगाहमा गएर सामूहिकरुपमा नमाज पढ्नुका साथै प्रार्थना गरेर एकापसमा शुभकामना एवं सटासाट गर्दछन् ।
यसैबीच, इस्लाम धर्मावलम्बीहरुको महान् पर्व इदउल फित्रको अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली इस्लाम धर्मावलम्बीका लागि राष्ट्रपति विद्यादेवी भण्डारीले शुभकामना सन्देश दिएकी छन् ।
सामाजिक, सांस्कृतिक, भाषिक र जातीय विविधताबीच अनुपम सुदृढ एकता कायम रहेको नेपालमा इदुलफित्र पर्वले नेपालीहरुबीच आपसी सद्भामव, सहिष्णुता, मेलमिलाप र भ्रातृत्व प्रवर्धन गरी आफ्नो मौलिक संस्कृति र परम्परा संरक्षण तथा सम्बर्द्धनमा महत्वपूर्ण योगदान र्पुयाउने विश्वास राष्ट्रपतिले व्यक्त गरेकी छन् ।
स्थिरता र दीगो शान्तिसहित सामाजिक आर्थिक विकास मार्फत रमादानको अवसरमा लामो उपवास बसेर आत्मा शुद्धीकरण गर्ने र आफन्तहरुबीच खुसी साटासाट गरी मनाइने इद उल फित्र पर्वको विशेष महत्व रहेको छ ।

प्रकाशित मिति : २ असार २०७५, शनिबार ०२:४०