सूचनाको शक्ति - The Power Of Information

        

प्रदेश १ मा ३५ अर्ब ९३ करोडको बजेट (पूर्णपाठसहित)

विराटनगर । प्रदेश १ सरकारले आगामी आर्थिक वर्ष २०७५/०७६ का लागि वार्षिक बजेट ल्याएको छ । बजेटमा अगामी वर्षका लागि ३५ अर्व ९३ करोड ६० लाख रुपैयाँको बजेट ल्याएको हो । कुल विनियोजित बजेटमध्ये चालूतर्फ १४ अर्ब ९२ करोड १८ लाख रुपैयाँ र पुँजीगततर्फ १८ अर्व ५० करोड ९२ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ ।
त्यसैगरी अन्तर सरकारी हस्तान्तरणतर्फ २ अर्ब ५० करोड ५० लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ । सरकारको तर्फबाट आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आगामी आबको बजेट प्रस्तुत गरेका हुन् । कृषि र पर्यटनलाई महत्व दिइएको बजेटमा शिक्षा, स्वस्थ्य, ऊर्जा, खानेपानीलाई समेटिएको छ ।
बजेटमा उत्कृष्ट कार्य गर्ने एक स्थानीय तहलाई ५ करोड रुपैयाँ थप अनुदान दिने उल्लेख गरेको छ । पर्यटन क्षेत्रमा २ हजार रोजगारी सिर्जना गर्ने सरकारले लक्ष्य लिएको छ । पर्यटनका लागि प्रदेश सरकारले विभिन्न पर्यटकीय स्थलको पहिचान गरी स्तरोन्नति गर्ने, विराटनगर विमानस्थलबाट नेपालका सबै प्रदेशमा उडान भर्ने व्यवस्था गर्ने, सम्भाव्य स्थानमा हेलिप्याड निर्माण गर्ने लगायतका पूर्वाधार विकासका कार्यक्रम बजेटमा उल्लेख छ ।
प्रदेश सरकारले आगामी ५ वर्षमा १५ सय मेगावाट र १५ वर्षमा ४५ सय मेगावाट विद्युत् उत्पादन गर्ने महत्वकांक्षी योजना पनि ल्याएको छ । गरिबी न्यूनीकरणका लागि गरिब पहिचान गरी परिचयपत्र वितरण गर्ने, बेरोजगारी युवाका लागि युवा रोजगार कोषको स्थापना गर्ने, युवाहरूलाई नागरिकताको आधारमा ऋण उपलब्ध गराइने विषय पनि बजेटमा समावेश छ ।
विराटनगरको आसपास क्षेत्रलाई औद्योगिक करिडोर बनाइने, प्रत्येक स्थानीय तहमा एक औद्योगिक ग्राम स्थापना गर्ने, विशेष आर्थिक क्षेत्र (सेज) को स्थापना गर्ने, एक अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी केन्द्र स्थापना गर्ने लक्ष्य बजेटले लिएको छ । विराटनगरस्थित मनमोहन पोलिटेक्निकल इन्स्टिचुटलाई विश्वविद्यालयमा परिणत गर्ने विषय पनि बजेटमा समेटिएको छ । स्वस्थ्यतर्फ सरकारले प्रदेश राजधानीमा ५ सय शय्याको, जिल्लामा १ सय शय्या र स्थानीय तहमा १५ देखि २५ शय्या सम्मका अस्पताल स्थापना गरिने लक्ष्य लिएको छ ।

पूर्णपाठ पढ्न र हेर्नका लागि यहाँ क्लिक गर्नुहोला : Province 1 Budget

प्रकाशित मिति : १ असार २०७५, शुक्रबार १५:३९