बाँके । काष्ठमण्डप एयरका पाइलट दिनेश न्यौपाने र को–पाइलट सन्तोष रानाको स्मृतिमा नेपालगन्जमा चोक तथा शालिक बन्ने भएको छ । २०७२ फागुन १४ मा कालिकोटको चिल्खायामा भएको विमान दुर्घटनामा मृत्यु भएका पाइलटद्वयको सम्झना र सम्मानमा शालिक निर्माण हुने भएको हो ।
नेपालगन्ज उपमहानगरपालिकाको सहयोगमा क्याप्टेन दिनेश प्रतिष्ठानले राँझा चोकमा शालिक निर्माण शुरु गरेको हो । उपमहानगर प्रमुख डा.धवलशम्शेर राणा, उपप्रमुख उमा थापा मगर र बाँकेका प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीले बुधबार संयुक्त रुपमा शालिकको शिलन्यास गरेका थिए । राँझा चोकको नामाकरण पनि ‘क्याप्टेन चोक’ गरिएको छ ।
राँझा चोकको पश्चिमी दिशामा नेपालगन्ज उपमहानगरपालिकाको उपलब्ध गराएको १० धुर जग्गामा बाटिका, प्रतिक्षालयसहित क्याप्टनद्वयको शालिक निर्माण हुने जनाइएको छ । क्याप्टेन दिनेश नेपालगन्ज–१२ मुक्तिपुर निवासी हुन् । आफु मरेर पनि यात्रुको ज्यान जोगाएका पाइलटद्वयलाई सरकारले पनि यसअघि मरणोपरान्त ‘वीर पदक’ प्रदान गरिसकेको छ ।
चिल्खायामा दुर्घटना भएको एयर काष्ठमण्डपको नाइन एन एजेबी विमान तीन टुक्रा भएको थियो । दुर्घटनामा पाइलट र को–पाइलटको मृत्यु भएको थियो । चिल्खायाको बस्ती नजिकै घर छेकेर विमान समथर ठाउँमा अवतरण गराउन खोज्दा दुर्घटनामा परेको थियो ।
विमान आकस्मिक अवरण गर्न खोज्दा दुर्घटना भएको थियो । विमानको अकस्मात पङखा चल्न बन्द भएपछि विमान अवतरण गराउन खोज्दा दुर्घटनामा परेको थियो । जहाज उडेको २५ मिनेटमै आकस्मिक अवतरण गराउन खोजिएको थियो । नेपालगन्जबाट जुम्लाका लागि उडेको विमान जुम्ला पुग्नै लाग्दा दुर्घटनामा परेको थियो ।
।