सूचनाको शक्ति - The Power Of Information

        

मालिकको घरमा अझै कमलरी !


कञ्चनपुर । कञ्चनपुरका मुक्त कमलरीहरूले अवैधरूपमा काममा लगाइएका कमलरीको उद्धार गर्न माग गरेका छन् । मुक्त कमलरी विकास मञ्चमा आबद्ध मुक्त कमलरीले अवैधरूपमा घरेलु कामदारका रूपमा राखिएका कमलरी बालिकाहरूको उद्धार गर्न माग गरेका हुन् ।
‘सरकारले कमलरी प्रथाको अन्त्यको घोषणा गरेपनि केही मालिकहरूले अवैधरूपमा घरमा राखेका छन्,’ मञ्चका उत्प्रेरक अञ्जु चौधरीले भनिन्, ‘सरकारले घरमा कमलरी राख्न नपाउने गरी कानूनी व्यवस्था गरेको छ तर पनि अझै कमलरी बालिका मालिकको घरबाट मुक्त हुन सकेका छैनन् ।’
मञ्चका अनुसार कञ्चनपुरमा हाल छजना मुक्त कमलरीले मालिकका घरमा काम गर्दै आएका छन् । मञ्चले उनीहरूलाई छिटोभन्दा छिटो उद्धार गर्न माग गरेको हो । गैर कानूनीरूपमा राखिएका मुक्त कमलरीलाई उद्धार गर्न प्रशासन कार्यालयमा समेत दबाब दिइएकामा प्रमुख जिल्ला अधिकारी कुमारबहादुर खड्काले छिटो उद्धार गर्ने आश्वासन दिएको मुक्त कमलरी विकास मञ्चका उत्प्रेरक चौधरीले बताए ।
मञ्चका अनुसार बेलौरी नगरपालिकामा ४ र बेदकोट नगरपालिकाको लालपुरबाट एकजना कमलरी उद्धारको सूचीमा छन् । केही दिनअघि मञ्चले भीमदत्त नगरपालिका वडा नं २ महोलियाबाट एक कमलरीको उद्धार गरेको थियो । उक्त मञ्चले सबै मुक्त कमलरीलाई छिटो परिचयपत्र उपलब्ध गराउनुपर्ने माग गर्दै भूमि सुधार कार्यालयमा ज्ञापनपत्र पनि दिएको छ । मञ्चले ९०० कमलरीलाई परिचयपत्र दिन माग गरेको हो ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७५, बिहीबार १६:४२