सूचनाको शक्ति - The Power Of Information

        

सडक सञ्जाल विस्तारले स्थानीयवासी खुशी, ८० प्रतिशत गाउँ सडकसँग जोडिए


जाजरकोट । यहाँको कुशे गाउँपालिकाभित्रका सबै वडामा सडक पुगेको छ । गाउँपालिकाभित्र रहेका नौवटा वडाभित्रको १०० किलोमिटर सडक विस्तार भएको गाउँपालिकाले जनाएको छ । केन्द्रीय बजेटदेखि गाउँपालिकाको करीब रु चार करोड बजेट परिचालन गरी सडक विस्तार गरिएको हो ।
कुशेगाउँपालिकाभित्र सडक निर्माण गर्न थालेको करीब पाँच वर्षभित्र नौ वडाको १२ वटा क्षेत्रमा सडक विस्तार भएको छ । केन्द्रीय योजनाअनुसार सो अबधिमा जाजरकोट–ब्युलीढुंगा जुम्ला सडकमा पर्ने पाँचकाटिया, दम्दाला, ढिमे, खुर्पालगायत गाउँमात्र सडक पहुँचमा योभन्दा अगाडि रहेको थियो ।
पछिल्लो दुई वर्षको अन्तरालमा उक्त गाउँपालिकाका सबै वडा केन्द्रलाई सडक सञ्जालले जोडेको गाउँपालिका अध्यक्ष हरिचन्द्र बस्नेतले बताए । वडा नं १ मा रु २५ लाख बजेटमा छ किलोमिटर दूरीको तारेचौर वडा कार्यालय सडक, वडा नं २ मा ९७ लाखको लागतमा २५ किलोमिटरको डेब्रा वडा कार्यालय–तिमिल्धारा हुँदै हिले सडक र २० लाखको लागतमा गैरीखेत–डेब्रेडाँडा आठ किलोमिटर सडक विस्तार गरिएको छ ।
त्यस्तै वडा नं ३ मा ५० लाखको लागतमा सात किलोमिटरको टापुचौर–डाँडाभौता सडक, वडा नं ४ मा ६५ लाखको लागतमा १५ किलोमिटरको टापुचौर–तागाचौर हुँदै वडा केन्द्र दतिउर पुग्ने सडक र वडा नं ६ मा ६५ लाखको लागतमा १२ किलोमिटर साधिबिसाउन–गाउँपालिका केन्द्र थर्पु सडक निर्माण गरिएको छ ।
यसैगरी उक्त गाउँपालिकाले वडा नं ५ मा ४० लाखको लागतमा आठ किलोमिटर दम्दाला–बाटुले सडक, २८ लाखको लागतमा १० किलोमिटर साधिबिसाउन–जहरगाउँ सडक, वडा नं ७ मा ५० लाखको लागतमा पानीमूल–समाइला, २५ लाखको लागतमा छ किलोमिटरको समाकोट–गुमौरी सडक र वडा नं ८ तथा ९ मा ३२ लाखको लागतमा तीन किलोमिटरको पँधेरीखोला–पैंक सडक निर्माण गरिएको हो ।
जुम्ला–जाजरकोट सडकलाई मुख्य आधार मानेर ग्रामीण सडक निर्माण गरिएको छ । कुशेका ८० प्रतिशत गाउँ सडकसँग जोडिएका छन्  । सुन्तला तथा आलु उत्पादन, काइनाइट, टुर्मालिन पत्थर लगायत खनिज र सयौँ प्रकारका जडीबुटीले धनी यो गाउँपालिका मानिन्छ । रासस

प्रकाशित मिति : ३१ जेष्ठ २०७५, बिहीबार ०९:३४