सूचनाको शक्ति - The Power Of Information

        

खजुरा गाउँपालिकाको राजपत्र प्रकाशन, कार्य सम्पादनमा सहजता हुने

बाँके । बाँकेको खजुरा गाउँपालिकाले ६ वटा ऐनहरु समावेश गरिएको राजपत्र प्रकाशन गरेको छ । राजपत्र प्रकाशनसंगै गाउँपालिकाको कार्यसम्पादन तथा सञ्चालनमा सहजता आउने राजपत्र सार्वजनिक गर्दै गाउँपालिकाका अध्यक्ष किस्मतकुमार कक्षपतिले उनले बताए ।
गाउँपालिकाले आर्थिक ऐन २०७४, विनियोजन ऐन २०७४, प्रशासकीय कार्यविधि नियमित गर्ने ऐन २०७४, खजुरा गाउँपालिकाको सहकारी ऐन २०७४, कृषि व्यवसाय, प्रवद्र्धन सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७४, खजुरा गाउँपालिकाको न्यायिक समितिले उजुरीको कारवाही किनारा गर्दा अपनाउनु पर्ने कार्यविधिका सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७४ समावेश गरिएको पहिलो राजपत्र प्रकाशन गरेको हो ।
अध्यक्ष कक्षपतिले कार्यविधि तथा ऐनको अभावमा करीब १ वर्षको अवधीमा कार्यसम्पादनमा कठिनाई भएको अनुभव सुनाउँदै राजपत्र प्रकाशनपछि कामका सहजता आउने बताए । उनले बाँकी ऐन नियम नियामावली तथा कार्यविधि पनि छिट्टै समावेश गरेर प्रकाशन गरिने जानकारी दिए ।
गाउँपालिकाकी उपाध्यक्ष एकमाया विकले राजपत्र प्रकाशनसँगै कानून लागू हुने जानकारी दिइन् । कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत सुन्दरप्रसाद श्रेष्ठले भाग–१ प्रकाशन भएको बताउँदै २२ वटा ऐन नियम पारित भएकोमा प्रकाशन नभएका ऐनहरु पनि प्रकाशनको तयारीमा रहेको जानकारी दिए । कार्यक्रममा पत्रकार महासंघ प्रदेश नं. ५ का महासचिव भेषराज बस्नेतले संचार ऐन आइनसकेकोले संचार ऐन संचारमैत्री हुनु पर्ने सुझाव दिए ।

प्रकाशित मिति : ३१ जेष्ठ २०७५, बिहीबार ०५:१२