सूचनाको शक्ति - The Power Of Information

        

महिलालाई नाङ्गै बनाएर कुटेपछि… (भिडियोसहित)


दाङ । आँखा रसायका छन् । मनमा डर त्यस्तै छ । एक पाइला हिँड्दा पनि खोच्याउनु पर्छ । सोमबार ईलाका प्रहरी कार्यालय भालुवाङमा उजुरी दिन आएकी अर्घाखाँची सितगंगा नगरपालिका वडा नं. ९ ठाडोखोला निवासी ३९ वर्षकी दिलमाया पुन शुक्रबार भालुवाङ बसपार्कमा भएको घटना सम्झँदा अझै तर्सिन्छिन् ।
श्रीमान र आफन्तको साथ लागेर पुन प्रहरी कार्यालयमा आफूमाथि कुटपिट गर्ने र अमानवीय व्यवहार गर्नेहरुमाथि कारबाहीको माग गर्न प्रहरी कार्यालय आएकी हुन् । सामाजिक सञ्जाल फेसबुकमा दिलमायामाथि भएको अमानवीय व्यवहार तथा कुटपिट भैरहेको भिडियो सार्वजनिक भएपछि कुटपिटमा संलग्नलाई कानुनी कारबाहीको दबाब परेको हो । सोमवार प्रहरी कार्यालयमा महिलाको समूह तथा दिलमायाका आफन्तले प्रहरी कार्यालय घेराउ गरे ।
घटना सार्वजनीक भएपछि कुटपिटमा संलग्न अनिता र रेखालाई प्रहरीले पक्राउ गरी अनुसन्धान थालेको थियो । उनीहरुलाई पक्राउ गरी सार्वजनिक मुद्दा चलाएको इलाका प्रहरी कार्यालय भालुबाङका प्रहरी निरीक्षक रविन्द्रराज पाण्डेले जानकारी दिए । उनले घटनामा संलग्न अन्य व्यक्तिहरुको समेत अनुसन्धान भइरहेको बताए । उता दोषीहरुलाई हदैसम्मको कानुनी कारवाही गर्न र पीडितलाई न्याय तथा घाइते पुनको उपचारका लागि प्रशासनसँग स्थानीयहरुले माग गरेका छन् ।

यसरी भएको थियो कुटपिट
गत शुक्रवार दिउँसो करिब ३ बजे अर्घाखाँची जिल्ला सितगंगा नगरपालिका–९ ठाडाखोलाकी ३९ बर्षिया दिलमाया पुन पुरानो भालुवाङ बजारस्थित नगरविकास समितिको पश्चिमतर्फ आफुले किनेको घडेरीको अवस्था हेर्न पुगेकी थिइन् । सोही समयमा पुरानो भालुवाङ बजार बस्ने २९ बर्षिया अनिता गुप्ता र ३५ बर्षिया रेखा गुप्ता उनी भएको स्थान आइपुगे ।
अर्घाखाँचीको सितगंगा नगरपालिका र दाङको राप्ती गाउँपालिका छिमेकी स्थानीय तह हुन् । उनको साँधमा पर्ने आफन्तले जग्गा बेचेका थिए । ‘जग्गा बिक्री गर्ने हो, गर्ने भए ५० हजारमा किन्छौँ,’ भनेर राप्ती गाउँपालिका वडा नं. १ भालुवाङ्ग निवासी रेखा गुप्ताले दिलमायालाई सोधिन् । तर, दिलमायाले ‘यति सस्तोमा बिक्री गर्दिनँ, मेरो जेठाजुको जग्गा सस्तोमा फुत्क्यायौ, मैले चाहिँ बेच्दैनँ,’ भन्ने जवाफ फर्काएपछि रेखा गुप्ता, अनिता गुप्ताले कुटपिट गर्न थाले । दिलमाया दौडेर पुल्चोकतर्फ अघि बढिन् । निर्माणाधिन बसपार्कमा पुगेपछि उनलाई घेरा हालियो ।
अनि कपडा च्यातेर नाङ्गै बनाउने प्रयास भयो । लात्तिले हाने । थप्पड हाने । पटक पटक उनीहरुले पुनसँग ५० हजारमा आफूहरुलाई जग्गा बिक्री गर्न भनिरहेका थिए । तर पुनले बिक्री गर्न मानिन् । गुप्ताद्वयले पुनमाथि निर्घात कुटपिट गरे । कुटपिट हुँदै गर्दा भालुवाङ्ग नगरविकास समितिका अध्यक्ष ओमप्रकाश बुढाथोकी र ऐरावती आदर्श बहुमुखी क्याम्पसका प्रमुख विष्णुप्रसाद भुसाल समेत पुगे । तर, दिलमायामाथि कुटपिट रोकिएन् । ईलाका प्रहरी कार्यालय देखि पाँच सय मिटरको दूरीमा घटना घट्यो । केही बेरमा प्रहरी घटना स्थलमा पुग्यो ।

पुनकै शब्दमा यसरी भयो कुटपिट
म आफ्नो जग्गा हेर्न पुगेको थिए । मलाई ५० हजारमा जग्गा बेच्न भने मैले बेच्दिन भने । त्यसपछि मलाई जग्गा भएको स्थलमै पिटे । त्यसपछि म त्यहाँबाट भाग्दै करिव ३०० मिटरको दुरीमा रहेको निमार्णाधिन बसपार्कमा पुगे । त्यही पुगेर मलाई घेरा हालदै लात्ती, मुड्कीले हान्नुका साथै मेरो शरीरको कपडा समेत च्याती दिए ।
मलाई लछारपछार गरी कुटपिट गरे तर छुटाउने मान्छे कोही भएन । बरु त्यहाँ रहेका मान्छेहरु रमिते बने, तर कसैले केहि बोलेन धेरै समयपछि भालुवाङ नगरविकास समितिका अध्यक्ष ओमप्रकाश बुढाथोकी र ऐरावती आदर्श बहुमुखी क्याम्पसका प्रमुख विष्णुप्रसाद भुसाल आएर कुटपिट हुनबाट बचाउनुभयो ।
घटनाको केहीबेरमा घटनास्थलमा पुगेको प्रहरीले घटनालाई प्रहरी कार्यालयमै मिलापत्र गर्न दवाव दियो । म पनि बाध्य भएर मिलापत्र गर्न सहमत भए । घटनाबारे मेरा श्रीमान मानबहादुर पुनलाई जानकारी थिएन । भालुवाङ पुल्चोक बजारमा श्रीमानसँग भेट भयो । मैले घरबाट हिड्दा लगाएको कपडा च्यातिदिएपछि अर्कै कपडा लगाएकी थिए । अर्कै कपडा लगाएको देखेपछि श्रीमानले सोध्नुभयो ‘घरबाट एउटा कपडा लगाएर निस्केकी, अहिले अर्को कपडा’ कसरी ?
मैले श्रीमानलाई सामान्य विवाद भएको र मिलापत्र भइसकेको बताएपछि घरतिर लाग्यौं । सामान्य विवादका रुपमा घटना मिलिसकेपछि घटना स्थलमा भालुवाङकै एक सानो बच्चाले खिचेको भिडियो फेसबुकमा सावर्जनीक भयो । भालुवाङ पुल्चोककी रितु रानाले सामाजिक सञ्जाल फेसबुकमा भिडियो अपलोड गरेपछि श्रीमानले घटनाबारे थप जानकारी पाउनुभयो । मलाई भन्नुभयो, ‘किन यत्रो सबै कुरा लुकाएकी ?’

घटनाको गम्भीरता नबुझेर मिलापत्र
ईलाका प्रहरी कार्यालय भालुवाङले घटनाको गम्भीरता नबुझेर मिलापत्र गराएको देखिएको छ । प्रहरीले घटना भएकै दिन कुटपिटमा संलग्न र पीडित दुवैलाई सँगै राखेर मिलापत्र गराएको थियो । प्रहरीले कुटपिट गर्ने र पीडित दुवैलाई सामान्य झै झगडाको रुपमा हेरेर छाड्यो । तर, घटना घटेको दुई दिन पछि आइतबार भिडियो सामाजिक सञ्जाल फेसबुकमा भाइरल बन्यो । अनि प्रहरी, भालुवाङ्ग बासी सबै झस्किन पुगे । मिलापत्रको समयमा सामान्य कुटपिटको विषय मानिएको घटना एक महिला माथि गरिएको अमानवीय तथा असामाजिक बन्न पुग्यो ।

भिडियो यसरी भयो भाइरल
प्रहरीले सामान्य घटनाको रुपमा हेरेको भालुवाङ घटना सामाजिक सञ्जाल फेसबुकमार्फत तरङ्गीत बन्न पुग्यो । घटना भैरहेको भिडियो एक एक जनाले खोजेका थिए । त्यो भिडियो भालुवाङ्ग निवासी रितु रानाले आफ्नो फेसबुक वालमा पोष्ट गरेपछि रातारात भाइरल बन्यो । प्रहरीले घटनामा संलग्न महिलाहरुलाई पक्राउ गरि कारबाहीको दायरामा ल्याउन सफल भयो ।

प्रकाशित मिति : २९ जेष्ठ २०७५, मंगलवार ००:१३