सूचनाको शक्ति - The Power Of Information

        

जिल्लामा रगत अभाव, रक्तदातालाई प्रोत्साहित गरिँदै

नारायण अधिकारी । चितवन । चर्काे गर्मी, क्याम्पस बिदा, कतिपय विद्यार्थीको परीक्षा, खेतीपातीको मौसमलगायतका कारण रक्तदान गर्नेको कमी भएपछि यहाँ रगतको अभाव हुन थालेको छ । क्षेत्रीय रक्तसञ्चार केन्द्र भरतपुरका प्रमुख रमेशकान्त पौडेलका अनुसार दैनिक १०० युनिटभन्दा बढी रगतको माग हुने गर्छ ।
जिल्लाको सदरमुकाममा रहेको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पताल, दुई मेडिकल कलेज र सरकारी भरतपुर अस्पतालसहित दुई दर्जन निजी अस्पतालमा दैनिक हुने शल्यक्रियाका कारण रगतको माग बढी हुने गरेको छ । दुर्घटनाका घाइतेका लागि पनि रगत आवश्यक पर्ने गर्छ ।
जिल्लाका ३०० संघसंस्थाले तालिका बनाएर रक्तदान गर्ने गरेको भए पनि वैशाख १५ देखि भदौ १५ गतेसम्म विगतका वर्षहरुमा झैँ यस वर्ष पनि रगतको अभाव हुन थालेको उनले बताए । जिल्लामा स्वतःस्फूर्तरुपमा संगठित युवाको संस्था ‘युथ फर ब्लड’, अन्य स्वयंसेवी संस्था र बिरामीका आफन्तले दिएको रगत बिरामीलाई दिइँदै आएको छ ।
क्षेत्रीय रक्तसञ्चार केन्द्रले रगतको माग बढ्ने र मागअनुसारको आपूर्ति बढ्न नसकेपछि प्रोत्साहनका कार्यक्रम शुरु गरेको छ । जसका लागि स्थानीय निकायसँग समन्वय गरी रक्तदान गर्ने संस्थालाई सहयोग गर्न थालिएको छ ।
भरतपुर महानगरपालिकाले एकजना रक्तदाता बराबर रु ५० र भरतपुर महानगरकै वडा नं ३, ४, १२ र २२ ले रु एक–एक सय र वडा नं ६ र ९ ले रु १५० आ–आफ्नो वडामा हुने रक्तदान कार्यक्रमको आयोजकलाई सहयोग उपलब्ध गराउँदै आएका छन् ।
त्यसैगरी रत्ननगर नगरपालिकाले रु १००, खैरहनी नगरपालिकाले रु १००, राप्ती नगरपालिकाले रु ५० र माडी नगरपालिकाले खर्चको आधारमा सहयोग गर्ने जनाएका छन् । यससँगै रक्तदान कार्यक्रमको आयोजना गर्ने संस्थालाई आर्थिक सहयोगका लागि अन्यत्र भौँतारिनु पर्दैन । नेपाल अण्डा उत्पादक संघले एक रक्तदाता बराबर रु २५ सहयोग उपलब्ध गराउँदै आएको छ ।
अठार वर्षदेखि ६० वर्ष उमेरसम्मकाले रक्तदान गर्न उपयुक्त हुन्छ । रातो रक्तकोषको आयु ९० दिनको हुने गर्छ । सधैँ यो शरीरमा उत्पादन भइरहने र नष्ट पनि हुने गर्छ । त्यही नष्ट हुने रगत दिएर बिरामीलाई जीवनदान गर्न सकिने भएकाले यसलाई पुण्य कामका रुपमा लिएर रक्तदान गर्ने गर्छन् । पछिल्ला वर्षहरुमा युवा पलायन हुने कारणले रक्तदाताको संख्यामा कमी आएको हो । रासस

प्रकाशित मिति : २८ जेष्ठ २०७५, सोमबार ०९:२९