सूचनाको शक्ति - The Power Of Information

        

सुरक्षाका महत्वपूर्ण निकाय एसएसपीका भरमा, एआइजीको संख्या हेरफेर गरिँदै

बरियताक्रममा रहेका डिआइजीहरु (माथिल्लो लहरको बायाँबाट क्रमश)

बरियताक्रममा रहेका डिआइजीहरु (माथिल्लो लहरको बायाँबाट क्रमश)


काठमाडौं । प्रहरी महानिरीक्षक प्रकाश अर्यालसहित उनका सहब्याची १५ जना अतिरिक्त महानिरीक्षक (एआइजी) र ९ जना नायब महानिरीक्षकले (डिआइजी) अनिबार्य अवकाश पाएसँगै नेपाल प्रहरीका महत्वपूर्ण स्थान एसएसपीका भरमा चलिरहेका छन् ।
प्रहरी प्रधान कार्यालयभित्रका चारवटा विभाग, महानगरीय प्रहरी र राष्ट्रिय सुरक्षा परिषद् यतिबेला एसएसपीको भरमा चलिरहेका छन् । यस्तै नायब महानिरीक्षकको कमाण्डमा रहने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल समेत पछिल्लो चार महिनायता एसएसपीकै कमाण्डमा चलिरहेको छ ।
सरकारले पटक पटक प्रहरी नियमावली संशोधन गर्दै एआइजीहरुको संख्या हेरफेर गर्दै आएको थियो । त्यसक्रममा कहिले एआइजीको संख्या ३ मात्र राखियो भने कहिले बढाएर ८ जना पुर्याइयो । यसैगरी ११ जना पनि पुर्याइएकोमा पछिल्लो समय प्रदेश प्रहरी प्रमुखमा एआइजीको दरबन्दी कायम गर्दै १५ जना पुर्याइएको थियो ।

नेपाल प्रहरीमा ५ र सशस्त्रमा ३ एआईजीको दरबन्दी प्रस्ताव
नेपाल प्रहरीमा ५ र सशस्त्रमा ३ एआईजीको दरबन्दी प्रस्ताव मन्त्रिपरिषदमा लैजाने तयारी भएको छ । एआईजी दरबन्दी प्रस्तावमा गृहमन्त्री रामबहादुर थापाले बिहीबार हस्तारक्षर गरेका छन् । पछिल्लो समय नेपाल प्रहरी र सशस्त्रमा एआईजीको संख्या क्रमशस् १७ र ९ सम्म पुगेको थियो ।
नेपाल प्रहरीमा ५ एआइजी मात्र कायम गर्ने निर्णय भएसँगै अब प्रदेश प्रहरीको नेतृत्व एआईजीले गर्ने छैनन् । मन्त्रिपरिषद्ले दरबन्दीसम्बन्धी निर्णय गरेपछि एआईजी बढुवाको बाटो खुल्नेछ । सशस्त्रमा बढुवा भएका ५ एआईजीको अवस्था के हुने यस बिषयमा बिहीबार केही निर्णय भएको छैन ।
प्रहरी महानिरीक्षकमा प्रहरी नायब महानिरीक्षक (डिआइजी) सर्वेन्द्र खनालको बढुवासँगै रिक्त प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) का लागि १० जना डिआईजी मुख्य प्रत्यासीका रुपमा छन् । सरकारले गत ३० असार ०७४ मा बढुवा गरेका १५ डिआईजीमध्ये खनाल महानिरीक्षक भइसकेका छन् भने सरकारको निर्णयप्रति असन्तुष्ट डिआइजी रमेशप्रसाद खरेलले राजीनामा दिएका छन् ।
यसैगरी भोगबहादुर थापा, पुष्कलराज रेग्मी र पुष्पचन्द्र रञ्जितको अनिबार्य अवकास पाएका छन् । यसले गर्दा प्रत्यासी संख्या १० मा झरेको हो । १० मध्ये ५ जना २९ माघ २०४६ र २०४५ असार ३० मा भर्ना भएका ५ डिआईजी छन् ।
डिआईजीहरु पुष्कर कार्की, मनोज नेउपाने, ठुले राई, धिरु बस्नेत र सुरेशविक्रम शाह १० माघ २०४६ मा प्रहरी सेवामा प्रवेश गरेका हुन् । यस्तै ३० असार २०४५ मा सेवा प्रवेश गरेका उत्तमकुमार कार्की, पवनप्रसाद खरेल, छबिलाल जोशी, ज्ञानविक्रम शाह र शरद चन्द समेत नियमावली योग्यताका आधारमा अतिरिक्त महानिरीक्षक बढुवाका दावेदार हुन् ।
बढुवा बरियतामा एक नम्बरमा डिआईजी पुष्कर कार्की, दोस्रोमा उत्तमकुमार कार्की, तेस्रोमा पवनप्रसाद खरेल छन् । यस्तै बढुवा बरियता अनुसार क्रमश पवनप्रसाद खरेल, छविलाल जोशी, मनोज नेउपाने, ज्ञानविक्रम शाह, ठुले राई, शरद चन्द, धिरु बस्नेत र सुरेश विक्रम शाह रहेका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७५, शुक्रबार ०९:५९