सूचनाको शक्ति - The Power Of Information

        

फष्टाएनन् घरेलु तथा साना उद्योग, नीतिगत प्रष्टताको अभाव

काठमाडौं । घरेलु तथा साना उद्योग विकास नीतिगत प्रष्टताको अभावमा फष्टाउन नसकेको सरोकारवालाले बताएका छन् । नेपाल घरेलु तथा साना उद्योग महासंघको २९औंँ वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा सरोकारवालाले घरेलु तथा साना उद्योग संख्यात्मक हिसाबले पनि कम हँुदै गएको बताए ।
नेपाल घरेलु तथा साना उद्योग महासंघका वरिष्ठ उपाध्यक्ष उमेशप्रसाद सिंहले घरेलु तथा साना उद्योग सम्बन्धी नीति थप प्रष्ट र नियमित परिमार्जित भई कार्यान्वयन हुन सकेमा मात्रै यस्ता उद्योग आर्थिक रुपान्तरणको संवाहक हुनसक्ने बताए । उनले भने, ‘मुलुकभरका घरेलु तथा साना उद्योगीको छाता संगठनका रुपमा महासंघले आफ्ना हक र हितको संरक्षण गर्दै मुलुकलाई औद्योकिरणतर्फ उन्मुख गराउने लागि परेको छ ।’
घरेलु तथा साना उद्योगको एकमुष्ट विकास गर्ने उद्देश्यले २०४७ सालमा स्थापना भई मुलुकभर सञ्जाल विस्तार गरिएको थियो । वरिष्ठ उपाध्याक्ष सिंहले ५८ जिल्लामा जिल्ला महिला उद्यमी समितिको विस्तार भई ११ हजारभन्दा बढी महिला उद्यमी सदस्य रहेको केन्द्रीय महिला उद्यमी समिति पनि महासंघमा क्रियाशील रहेकोे जानकारी दिए । महासंघका सल्लाहकार समितिका सभापति वासुदेव गिरीले घरेलु तथा साना उद्योग विकासको पहिलो पाटो भनेको लगानी भएको बताए ।
‘वित्तीय संघ संस्था, लघु वित्त, सरकारी जस्ता वित्तीय कारोबार गर्ने संघ संस्था धरै भए पनि तिनीहरूको ध्यान यस्ता उद्योगमा जान सकेको छैन,’ उनले भने । राष्ट्रको स्पष्ट लगानी नीति नहुनु, राजनीतिक दलको आर्थिक संमृद्धिका लागि लगानीको स्पष्ट खाका नहुनु बिडम्बना भएको भन्दै उनले भने, ‘जबसम्म समग्र मुलुकको आर्थिक क्षेत्रलाई अभिवृद्धि गर्ने सवालमा सबै राजनीतिक दल एवं सरोकावालाको साझा राष्ट्रको औद्योगिक नीति, लगानी नीति बन्दैन तबसम्म आर्थिक रुपान्तरण भन्ने कुरा कुरामै सीमित रहन्छ ।’

प्रकाशित मिति : २५ जेष्ठ २०७५, शुक्रबार ०७:५७