सूचनाको शक्ति - The Power Of Information

        

एक बर्षमा ११९७ मुद्दा फर्छ्यौट, निर्वाचनपछि घटे मुद्दा


रेनुका गिरी । बुटवल । उच्च अदालत तुलसीपुर बुटवल इजलासमा चालु आर्थिक वर्षको हालसम्म झण्डै ६४ प्रतिशत मुद्दा फर्छ्यौट भएका छन् । चालु आर्थिक वर्षको यहि जेठ २३ गतेसम्म अघिल्लो वर्षको जिम्मेवारी सरेका ९११, चालु आर्थिक वर्षमा दर्ता भएका १ हजार १९७ गरी कुल २ हजार १०८ मुद्दा मध्ये १ हजार ३३० वटा मुद्दा फर्छ्यौट भएको उपरजिस्टार नेत्रप्रसाद भुसालले जानकारी दिए ।
अदातलमा भएका गरेका काम कारवाहीका बारेमा जानकारी गराउन आयोजना गरिएको पत्रकार अन्तरक्रिया कार्यक्रममा चालु आर्थिक वर्षमा हालसम्म अघिल्लो वर्षका जिम्मेवारी सरेर आएका ९११ मध्ये ८५४ वटा र चालु आर्थिक वर्षमा दर्ता भएका १ हजार १९७ मध्ये ४६७ वटा मुद्दा फर्छ्यौट भएको जानकारी गराइएको हो ।
आर्थिक वर्ष २०७४/०७५ मा अघिल्लो वर्षको जिम्मेवारी सरी आएका ९११ र नयाँ २ हजार ३३५ वटा मुद्दा दर्ता हुने अनुमान गरिएको थियो । यद्यपी मुलुकमा तीन तहका निर्वाचन चलेकाले मुद्दाको संख्यामा कमी हुन आएको हुन सक्ने उच्च अदालत तुलसीपुर बुटवल इजलासका न्यायधिश रमेश पोखरेलले बताए ।
अदातलका रजिस्टार ठगिन्द्र कट्टेलका अनुसार बुटवल इजलासमा अव १ वर्षभित्रका ७३२, एक वर्षदेखि १८ महिनाभित्रका ३७ र १८ महिना नाघेका ९ वटा मुद्दा फर्छ्यौट हुन बाँकी छन् । त्यस्तै बुटवल इजलास मातहतका ६ जिल्लामा कुल १० हजार ६६४ मुद्दा मध्ये ५ हजार ६८० मुद्दा फर्छ्यौट भएका छन् ।
बुटवल इजलासले दिएको तथ्यांक अनुसार चालु आर्थिक वर्षको बैशाख मसान्तसम्ममा रुपन्देही जिल्ला अदालतमा ४ हजार ४२८ मध्ये २ हजार ७३, कपिलबस्तु जिल्ला अदालतमा २ हजार २६१ मध्ये १ हजार १४२, नवलपरासी जिल्ला अदालतमा ३ हजार ३ मध्ये १ हजार ८५९, पाल्पा जिल्ला अदालतमा ३९० मध्ये २२९, गुल्मी जिल्ला अदालतमा ३४५ मध्ये २४०, र अर्घाखाँची जिल्ला अदालतमा २३७ मुद्दा मध्ये १३७ मुद्दा फर्छ्यौट भएका छन् ।

प्रकाशित मिति : २५ जेष्ठ २०७५, शुक्रबार ०४:१०