सूचनाको शक्ति - The Power Of Information

        

सम्बन्धविच्छेदका मुद्दा अनपेक्षित रूपमा बढ्दै, एक महिनामा ४२ मुद्दा दर्ता


बाँके । बाँके जिल्लामा सम्बन्धविच्छेदका मुद्दा अनपेक्षित रूपमा बढेको छ । वैशाखमा मात्रै ४२ वटा मुद्दा दर्ता भएको छ । नयाँ आर्थिक वर्षको जेठ २२ गते सम्ममा ४७ थान सम्बन्धविच्छेदका मुद्दा दायर भएको बाँके जिल्ला अदालतका सूचना अधिकारी धनसिंह गिरीले बताए ।
उनका अनुसार सानोतिनो कुरामा पनि मनमुटाव हुने, उमेर नपुग्दै विवाह गर्ने, विवाहलाई घरपरिवारले स्वीकार नगर्ने, छोटो समयकै चिनजानले प्रेम विवाह गर्नेहरूले सम्बन्धविच्छेदका मुद्दा दर्ता गराउने गरेका छन् । लागुऔषधमा फसेको कुरा विवाहपछि थाहा पाएकाहरूले पनि छिट्टै सम्बन्धविच्छेदको मुद्दा दर्ता गराउने गरेको अदालतले जनाएको छ ।
प्रायः उमेर १६ देखि २२ वर्षसम्मका महिलाले सम्बन्धविच्छेदका मुद्दा दर्ता गराउने गरेका छन् । गिरीले भने, ‘एक डेढ वर्षका दुधे बालक बोकेर समेत सम्बन्धविच्छेद गर्न आउँछन् र कतिपयले त मुद्दा दर्ता गरेको तीन–चार दिनमै सम्बन्धविच्छेद हुने गरी मिलापत्र गर्छन् ।’ बाँके जिल्ला अदालतमा हालसम्म दुई हजार ४२६ थान मुद्दा विचाराधीन रहेका छन् ।
दुनियावादी देवानी एक हजार ४१३, सरकारवादी देवानी एक, दुनियावादी फौजदारी ६२६, सरकारवादी फौजदारी ३६८ र पुनरावेदीय क्षेत्राधिकारअन्तर्गत दर्ता भएका १६ र निषेधाज्ञा दुई रहेको सो अदालतका सूचना अधिकारी धनसिंह गिरीले बताए । विचाराधीन मुद्दामध्ये सबैभन्दा बढी सम्बन्धविच्छेदको मुद्दा रहेको छ भने त्यसपछि लेनदेन, लागुऔषध, जबर्जस्ती करणी चोरी, अंशलगायतका मुद्दा रहेका छन् ।
यसैगरी, बाँके जिल्ला अदालतले भारी मात्रामा कैद र जरिवाना उठाउन बाँकी रहेको छ । दुई हजार ७३५ वर्ष १० महिना र ११ दिन कैद उठ्न बाँकी रहेको छ । यस्तै, रु तीन करोड ५६ लाख ८० हजार ३३१ उठ्न बाँकी रहेको छ । प्रतिवादी फेला नपर्ने, भारतसँगको खुल्ला सिमाना, तिर्न बुझाउन र कैदमा बस्नुपर्ने व्यक्ति विदेश पलायन भएका कारण कैद जरिवाना उठाउनमा समस्या रहेको अदालतका तहसिलदार नारायणप्रसाद सापकोटाले जानकारी दिए ।
उनका अनुसार फैसला कार्यान्वयनतर्फ ७३१ मध्ये ४४६ फछ्र्यौट भएको छ भने २८५ थान मुद्दा फछ्र्यौट हुन बाँकी रहेको छ । जसमध्ये बिगो भराउने १४५, बण्डा छुट्याउने ७३, चलन चलाउने ५१ र अन्य १६ रहेका छन् । यस्तै, बाँके जिल्ला अदालतले तिर्न बुझाउन बाँकी रहेको कैद, जरिवाना, सरकारी बिगो साउन मसान्तसम्म बुझाउन आएमा छुट हुने जनाएको छ ।
फैसला कार्यान्वयन निर्देशनालय बबरमहल काठमाडौंले गरेको पत्राअनुसार सर्वोच्च अदालत नियमावली, २०७४ को नियम १३५ को खण्ड (क), (ख) र (ग) बमोजिम कायम भएको कैद जरिवाना र सरकारी बिगो सूचना प्रकाशित भएको मितिले २०७५ साउन मसान्तसम्म छुट पाइने अदालतका तहसिलदार शाखा अधिकृत सापकोटाले बताए ।
बाँके जिल्ला अदालतका जिल्ला न्यायाधीश विष्णु सुवेदीले न्याय सम्पादनको कार्यलाई छिटोछरिटो र प्रभावकारी बनाउन दृढतापूर्वक लागेको बताए । उनले न्यायाधीशको सरुवा, तीनवटा स्थानीय तहको निर्वाचनका कारण यस बर्ष मुद्धा फैसला हुनमा केहि ढिलाई भएको भन्दै अब कामले गति लिएको बताए ।

प्रकाशित मिति : २५ जेष्ठ २०७५, शुक्रबार ०३:५१