हेमन्त केसी । जाजरकोट । अठ्यारो बाटो, भिरालो जमिन भएकै कारण यहाँका स्थानीयवासी असुरक्षित रुपमा यात्रा गर्न बाध्य भएका छन् । एक वर्षमा मात्र जाजरकोटमा विभिन्न ठाउँमा लडेर ३० जनाको मृत्यु भएको घटना सार्वजनिक भएको छ । प्रहरीको पहुँचमा रहेको ठाउँमा मात्र सार्वजनिक भएको घटनालाई लिने हो भने पनि वर्षमा यति ठूलो मात्रामा मानिसको मृत्यु भएको घटना सार्वजनिक भएको हो ।
अन्य दूरदराज ठाउँमा भएका घटनाको बारेमा थाहा नहुँदा कतिको अकालमा मृत्यु हुन्छ भन्ने थाहा नै नहुने गरेको छ । गत फागुनमा बाटोमा पैदलयात्रा गर्ने क्रममा नलगाड–५ गेरेनी भिरमा माथिबाट आएको ढुंगा लागेर बारेकोट–४ मैनाका ५६ वर्षीय मानबहादुर बस्नेतको मृत्यु भयो । जिल्ला सदरमुकाम आउने क्रममा पैदल हिँडिरहेका बेला माथिबाट खसेको ढुंगा टाउकोमा लाग्दा घटनास्थलमै उहाँको मृत्यु भएको हो ।
नलगाड–५, ऐरारीका ५५ वर्षीय धनबहादुर सिंहको चैत महिनाको दोस्रो हप्ताको सोमबार भिरबाट लडेर मृत्यु भयो । घर फर्कने क्रममा भिरालो बाटोबाट चिप्लिएर लडेका उनको घटनास्थलमै मृत्यु भयो । घर नजिकैको भिरबाट लड्दा करीब ३०० मिटर तल उनी मृत फेला परेका थिए । गत चैतमा जंगलमा बाख्रा चराउन गएकी नलगाड–७ खगेनकोटकी १० वर्षीया प्रतीक्षा शर्माको पनि ढुंगा लागेर मृत्यु भयो ।
माथिबाट आएको ढुंगा लाग्दा गम्भीर घाइते भएकी उनको उपचारका लागि जिल्ला अस्पताल जाजरकोट ल्याउँदै गर्दा बाटोमै मृत्यु भयो । उनको टाउको र छातीमा चोट लागेको थियो । नलसिङगाड तर्ने क्रममा काठको फड्केबाट लडेर बारेकोट–७ का ४० वर्षीय कालीबहादुर नेपालीको चैतमा नै मृत्यु भयो । नलगाड–५, गेरेनीस्थित नलसिङगाड तर्ने क्रममा लाप्कोबाट चिप्लिएर घटनास्थलमै उहाँको ज्यान गएको थियो ।
यी केही प्रतिनिधिमूलक घटना मात्र हुन् । जाजरकोटमा हिँड्दाहिँड्दै ज्यान जानेको संख्या बढ्न थालेको छ । एक वर्षको अवधिमा हिँड्दाहिँड्दै यस जिल्लामा कम्तीमा ३० जनाको ज्यान गइसकेको छ । जिल्ला प्रहरी कार्यालयसँग पैदलयात्राका क्रममा ज्यान जानेको संख्या १३ मात्र छ । तर स्थानीय तहका गाउँ तथा नगरपालिकाका अनुसार एक वर्षको अवधिमा ३० जनाको ज्यान गइसकेको छ ।
खबर गर्दा लडेर वा ढुंगा लागेर मृत्यु भएकाको शव परीक्षण गर्नुपर्ने भएकाले प्रहरीलाई खबर नै नगरेर दाह संस्कार गर्ने गरिएकाले पनि प्रहरीसँग तथ्यांक थोरै देखिएको हो । जिल्लाका ग्रामीण भेगमा रहेका गाउँमा जाने बाटो साँघुरो, अप्ठ्यारो र जोखिमपूर्ण भएका कारण अकालमै धेरै मानिसको मृत्यु हुने गरेको बारेकोट गाउँपालिका–५ का प्रेम शाही बताए ।
उनले भने, ‘माथि हेर्दा पूरै पहाड मात्र देखिन्छ, तल सुसाउने खोला र नदी, हिँड्दा पनि चिप्लिएर खसिने हो कि भनेर आङै सिरिंग गर्छ ।’ महिला, बालबालिका, वृद्धवृद्धा, अशक्त, भारी बोकेका मानिसलाई यो बाटो हिँड्न निकै सकस खेप्नुपर्छ । जुनिचाँदे जाने बाटोमा भिरबाट खसेर तथा ढुंगा लागेर पाँचजनाको ज्यान गइसकेको छ । जिल्ला सदरमुकामबाहेक गाउँ तथा नगरपालिकामा अहिले पनि मोटरबाटो पुग्न सकेको छैन ।
गाडी नपुग्दा स्थानीय पैदलै हिँड्न बाध्य छन् । गाउँ जोड्ने गोरेटो तथा घोडेटो बाटो साँघुरो, जीर्ण र जोखिमपूर्ण हुँदा मानिस मृत्युलाई हत्केलामा राखेर यात्रा गर्न बाध्य हुने गरेका छन् । जिल्लाको सबैभन्दा जोखिमपूर्ण बाटो कालीमाटीदेखि सेपुखोलासम्म छ । नलसिंहगाड जलविद्युत् आयोजनाको १२ किलोमिटर पहुँचमार्ग निर्माण गर्ने क्रममा पुरानोबाटो बन्द भएको र नयाँ घोडेटो बाटो नबनाउँदा मानिस भीरको बाटोमा हिँड्न बाध्य भएको शाहीले बताए ।
।