सूचनाको शक्ति - The Power Of Information

        

बाँके निकुञ्ज क्षेत्रमा दिपक क्रसर उद्योग सञ्चालनमा, कसले दियो अनुमति ?


बाँके । बाँके राष्ट्रिय निकुञ्ज क्षेत्रमा मापदण्ड विपरीत क्रसर उद्योग सञ्चालनमा रहेको पाइएको छ । बाँके राष्ट्रिय निकुञ्जको राप्तीसोनारी ९ बुच्चापुर झिझरी खोलामा सञ्चालन भएको दिपक क्रसर उद्योग मापदण्ड विपरित रहेको छ ।
त्यसो त गाउँबस्ती भन्दा ३ किलोमिटर टाढा क्रसर उद्योग सञ्चालन गर्नुपर्ने मापदण्ड रहे पनि गाउँकै छेउमा उद्योग सञ्चालनमा रहेको छ । क्रसर उद्योगदेखि ३०० मिटर टाढा स्कुल रहेको छ भने करिब ५० मिटर टाढा बस्ती रहेको छ ।
निकुञ्ज क्षेत्रमा मापदण्ड बिपरित उत्खनन भइरहेको जनदवाव बढेपछि बाँके राष्ट्रिय निकुञ्जले टिपर र जेसिबी सोमबार नियन्त्रणमा समेत लिएको थियो । दिपक क्रसर उद्योग झिझरी खोलामै स्थापना गरेर अवैधरुपमा सञ्चालन गरिरहेको भए पनि कारबाहीका बारेमा हालसम्म कसैले चासो नदेखाएको स्थानीयहरुको आरोप छ ।
निकुञ्जभित्र खोलामा अबैधरुपमा क्रसर उद्योग स्थापना गरी मापदण्ड बिपरित नदीजन्य बस्तु उत्खनन गरेपछि स्थानीयहरुले उद्योग हटाउनुपर्ने माग गर्दै आएका छन् । दिपक क्रसर उद्योग कानुन विपरीत स्थापना गरी सञ्चालन गर्दै आएकोले तत्काल बन्द गर्नुपर्ने स्थानीयको माग छ । अबैध क्रसर उद्योग र मापदण्ड बिपरित नदीजन्य पदार्थ उत्खनन गर्नेलाई कानुनी कारबाहीको दायरामा ल्याउन नसकेको स्थानीयहरुको दावी छ ।
राष्ट्रिय निकुञ्जले निकुञ्ज क्षेत्रमा पर्ने खोलानदीबाट एक्जाभेटर, जेसिबीलगायत मेसिन प्रयोग गरेर ढुंगागिट्टी, वालुवा उत्खनन र निकासीमा रोक लगाएको छ । निकुञ्जले मध्यवर्ती क्षेत्रका उपभोक्तालाई बाहेक बाह्य प्रयोगका लागि नदीजन्य पदार्थ उत्खनन र निकासीमा रोक लगाए पनि निकुञ्ज क्षेत्रमै क्रसर उद्योग सञ्चालन भएको भन्दै क्रसर उद्योग र निकुञ्जका बीचमा मिलेमतो रहेको स्थानीयको आरोप छ ।
‘दिपक क्रसर उद्योग निकुञ्जभित्रै सञ्चालन भएको र बस्ती तथा बन क्षेत्रभन्दा टाढा राख्ने मापदण्ड समेत पूरा गरेको छैन,’ बुच्चापुरका स्थानीय दिलबहादुर खड्काले भने, ‘वन क्षेत्रबाट २ सय मिटरको दुरीमा क्रसर उद्योग रहनुपर्नेमा दिपक क्रसर उद्योग निकुञ्जको वन क्षेत्रभित्रै सञ्चालन हुनुले निकुञ्जको मिलेमतोको शंका छ ।’

स्थानीयहरुले झिझरी खोलाको ढुंगा, गिट्टी, वालुवा लगायतको नदीजन्य पदार्थ भने प्रयोग गर्न पाउँदैनन् । नदीजन्य कच्चा पदार्थ अगैया र राप्ती नदीबाट ढुवानी गर्नुपर्ने स्थानीयको बाध्यता हो ।

स्थानीय सुकिरानी थारुले कपडा धोएर सुकाउन समेत समस्या भएको बताइन् । उनले भनिन्, ‘कपडा धोएर सुकाउन समेत पाइँदैन । धुलोका कारण बच्चाहरु विरामी भइरहेका छन् । क्रसर उद्योगका टिपरहरु धुलो उडाउँदै हुइँकिन्छन्, उडेको धुलोले बस्ती नै ढाक्छ ।’ क्रसर उद्योगकै कारण नजिकैको बस्तीका नागरिकहरु समस्यामा परेका छन् ।
स्थानीयहरुले झिझरी खोलाको ढुंगा, गिट्टी, वालुवा लगायतको नदीजन्य पदार्थ भने प्रयोग गर्न पाउँदैनन् । नदीजन्य कच्चा पदार्थ अगैया र राप्ती नदीबाट ढुवानी गर्नुपर्ने स्थानीयको बाध्यता हो । ‘हामी मध्यवर्तीका स्थानीयलाई प्रयोग गर्न नदिने निकुञ्जले कसरी सञ्चालन गर्न दिएको छ, कसरी प्रक्रिया पुर्याएको हो, हामीलाई जानकारी चाहिन्छ,’ स्थानीय राजन खड्काले भने ।
खड्काका अनुसार क्रसर उद्योगकै कारण लगाएको तरकारी बाली समेत नोक्सान भइरहेको छ । ‘हामीले तरकारी लगाउँछौं । क्रसर उद्योगको धुलोले तरकारी पुरै ढाकेर नाक्सान गरिरहेको छ । त्यसको क्षतिपूर्ति कसले तिर्ने ?’ खड्काले भने, ‘निकुञ्जकै मिलेमतोमा क्रसर उद्योग सञ्चालनमा आएको हो । नत्र त यहाँ सञ्चालन नै गर्न पाउदैनथ्यो । यो तत्काल बन्द गर्नुपर्छ ।’

प्रकाशित मिति : २३ जेष्ठ २०७५, बुधबार ०९:३३