बाँके । उर्जा, जलश्रोत तथा सिंचाइमन्त्री वर्षमान पुनले राष्ट्रिय गौरबको आयोजना सिक्टा सिंचाईको निरीक्षण गरेका छन् । बाँकेको अगैयामा रहेको सिक्टा सिंचाई आयोजनाको बाँध तथा नहरको मन्त्री पुनले मंगलबार स्थलगत निरीक्षण गरेका हुन् ।
उनले आयोजना प्रमुखसँग आयोजनाको काम कारबाहीको बारेमा जानकारी लिएका थिए । सिक्टा सिंचाई निर्माणको लागि सरकारले बजेटको अभाव हुन नदिने मन्त्री पुनले प्रतिबद्वता समेत जनाए । नहरको काम सम्पन्न भएको ठाउँहरुमा क्रमिक रुपमा किसानहरुलाई पानी दिने आफुहरुको तयारी रहेको उनको भनाई रहेको थियो ।
मन्त्री पुनसहितको टोलीले आयोजनाको बाध, कन्ट्रोल रुम, केही समय पहिले मात्र सुरु भएको पुर्वी नहर, मुख्य नहरको निरीक्षण गरेको निरीक्षणमा सहभागी प्रदेश नम्बर ५ की प्रदेशसभा सदस्य कृष्णा केसी नमुनाले जानकारी दिइन् । प्रदेश सभा सदस्य नमुनाका अनुसार मन्त्री पुनले सम्बन्धित पक्षलाई तिव्र रुपमा कामको साथै गुणरस्तरीय काम गर्न निर्देशन समेत दिएका थिए । मंगलबार नै मन्त्री पुनसहितको टोलीले भेरी बबई डाइभर्सनको समेत स्थगत निरीक्षण गरेको थियो ।
यसैबीच, बाँके राप्तीपारीका स्थानीय बासिन्दाले राप्ती नदिको स्थायी तटबन्ध र छिटो बिद्युत पु¥याउन उर्जा, जलश्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनलाई आग्रह गरेका छन् । सिक्टा सिंचाई आयोजनाको निरीक्षण गर्न बाँकेको अगैया पुगेका मन्त्री बस्नेतलाई स्थानीयबासीले नदिको स्थायी तटबन्ध र चाडोभन्दा चाडो बिद्युत निर्माण कार्य अगाडि बढाउन माग गरे ।
उनीहरुको तर्फबाट प्रदेशसभा सदस्य कृष्णा केसी नमुनाले मागपत्र मन्त्री पुनलाई बुझाइन् । माग पत्र बुझाउदै प्रदेशसभा सदस्य नमुनाले राप्तीपारीका दुई राप्तीसोनारी र नरैनापुर गाउँपालिकाका बासिन्दाले बिद्युत, सिंचाई र तटबन्ध नहुँदा निकै समस्या झेल्नुपरेको बताइन् । यी समस्याहरु छिटो भन्दा छिटो हल गरिदिन उनले मन्त्री पुनलाई आग्रह समेत गरिन् ।
स्थानीयबासीको कुरा सुनेपछि मन्त्री पुनले राप्तीपारीका समस्याका बिषयमा आफु बिगतदेखि नै जानकार रहेको बताए । ग्रामिण विद्यूतीकरणको काम अगाडि बढेको भन्दै उनले राप्तीपारीलाई उच्च प्राथमिकतामा राखेर काम गर्ने प्रतिबद्वता जनाए । कार्यक्रममा राप्तीसोनारी गाउँपालिका वडा नम्बर ७ का वडा अध्यक्ष रामलखन थारु, राप्तीपारी क्षेत्रका अगुवा लगायतको उपस्थिती रहेको थियो ।
।