सूचनाको शक्ति - The Power Of Information

        

टरिगाउँ विमानस्थलमा समीट एयरले गर्यो एकतर्फी हवाई उडान रद्द

दाङ । दाङ्गको टरिगाउँ विमानस्थलको विमान सेवा फेरि बन्द भएको छ । जनप्रतिनिधिहरु निर्वाचित भएपछि तुलसीपुर उपमहानगरपालिकाले २०७४ पुस १९ गते बाजागाजासहित पहिलोपटक समिट एयरसँग सम्झौता गरी विमान सञ्चालन गरेको थियो ।
स्थानीय तहमा निर्वाचन अगाडी तुलसीपुर उद्योग वाणिज्य संघले केही समयसम्म निजी विमान कम्पनीसँग समन्वय गरी विमान सेवा सञ्चालन गरेको थियो । पटक पटक सञ्चालन र बन्द हुँदै आएको विमान सेवा बन्द भएपछि यहाँका स्थानीयवासीले फेरि नेपालगन्जबाटै विमान सेवा लिनुपर्ने बाध्यता भएको स्थानीयवासी पवन बुढाथोकीले बताए ।
तुलसीपुर उपमहानगरपालिका र समिट एयरबीच गत पुसमा प्रतियात्रु रु सात हजार २०० भाडा लिने सहमति भएको थियो । सोही सहमतिअनुसार १९ पुसमा समिट एयरले पहिलोपटक दाङको टरीगाउँ हवाईमैदानबाट उडान भरेको थियो । इन्धनको मूल्य वृद्धि भएको भन्दै समिट एयरले प्रतियात्रु रु दुई हजार ६८० रुपैयाँ एकतर्फीरुपमा भाडामा वृद्धि गरेपछि तुलसीपुर उपमहानगरपालिकाले समन्वय गर्न छोडेको छ ।
भाडा वृद्धिसँगै यात्रु पाइन छोडेपछि गएको जेठ १३ र २० गते समिट एयरले उडान भर्न सकेन । समिट एयरले हप्तामा आइतबार र बुधबार दुईपटक उडान भर्ने सहमति गरे पनि पछिल्लो समय आएर आइतबारमात्रै उडान भर्दै आएको थियो । ‘अघिल्लो आइतबार काठमाडौँ जानका लागि नौजना यात्रु थिए,’ तुलसीपुर उपमहानगरपालिका सूचना अधिकारी झरेन्द्र खरेलले भने, ‘उताबाट पुरानो भाडादरमा उडान भर्न नसकिने भन्दै उडान रद्द भएको बताएपछि टरीगाउँ हवाईमैदानमा जहाजको पर्खाइमा बसेकालाई पैसा फिर्ता दिएर पठायौँ ।’
हप्तामा एकपटक उडान भर्दै आएको समिट एयरले पुसदेखि जेठसम्म ६ महिनाको अवधिमा तीनपटक उडान रद्द गरेको सूचना अधिकारी खरेलले बताए । नियमित उडान पनि नहुने, महँगो भाडादरले हवाइ सेवा सञ्चालन गर्न निकै कठिनाइ र समस्या भएको उपमहानगरपालिकाले जनाएको छ । तुलसीपुर उपमहानगरपालिकाका प्रमुख घनश्याम पाण्डेले आपसी सहमतिका आधारमा गरिएको सम्झौताविपरीत काम गर्नु राम्रो नभएको भन्दै पुनर्विचारका लागि विमान कम्पनीलाई अनुरोध गर्ने बताए ।
‘हामीलाई बिनाजानकारी भाडा वृद्धि गरेको खबर आयो, पुरानै भाडामा उडान भर्नका लागि विमान कम्पनीसँग समन्वय गरिरहेका छौैँ,’ उनले भने । सम्झौताअनुसार काम नभए नयाँ र धेरै विमान भएको विमान कम्पनीसँग समन्वय गरेर उडान सेवा सञ्चालन गर्ने प्रमुख पाण्डेले बताए । विसं २०११ मा स्थापना भएको हवाईमैदान २०१६ सालदेखि सञ्चालनमा आएको थियो । पछिल्लो समयमा घाँसेमैदान हवाईमैदान पछिल्लो समयमा रु १० करोड लगानीमा ७०० मिटर धावनमार्ग कालोपत्र भएको थियो । विमानस्थल सानो भएकाले ठूला विमान अवतरण गर्न नसक्ने भन्दै त्यसको स्तरोन्नतिका लागि पहल गर्नुपर्ने स्थानीयवासीको माग छ ।

प्रकाशित मिति : २१ जेष्ठ २०७५, सोमबार ०९:१०