सूचनाको शक्ति - The Power Of Information

        

सडक सौर्यबत्ती जुनकिरीको उज्यालो झैँ, दुई वर्षमै काम नलाग्ने अवस्थामा


भरत केसी । बुटवल । बुटवल–बेलहिया व्यापारिक मार्गलाई रातिमा उज्यालो र सुन्दरता राख्ने उद्देश्यले सडकबीच भागमा राखिएका सडक सौर्यबत्तीले प्रभावकारी रूपमा काम गर्न सकेका छैनन् ।
सडकको बीच भागमा राखिएका सडक सौर्यबत्तीको उज्यालो जुनकिरीझँै मधूरो टल्किने उज्यालो मात्र दिन्छन् । बुटवल बेलहिया सडक खण्डको बाटो फराकिलो बनाउने र सडकमा रातिमा उज्यालो बनाएर सुन्दरता राख्ने उद्देश्यका साथ राखिएका सडक सौर्यबत्ती प्राविधिक रूपमा दुई वर्ष नपुग्दै काम नलाग्ने अवस्थामा छन् ।
बुटवलको राजमार्ग चौराहादेखि भैरहवाको नेपाल भारत सीमा बेलहियासम्मको सिद्धार्थ राजमार्गलाई सरकारले व्यापारिक मार्गको रूपमा आधुनिक र फाराकिलो बनाउने काम भइरहेको छ । उक्त सडकबीचमा रहेको डिभाइडरमा पोल गाडेर राखिएका सौर्यबत्ती अहिलेसम्म साढे पाँच किलोमिटरमा राखिएको छ ।
सडकको बीच भागमा राखिएका यस्ता १५० सौर्यबत्ती प्राविधिक रूपले नै काम नलाग्ने अवस्थामा देखिएका छन् । व्यापारिक मार्गको बुटवलको राजमार्ग चौराहादेखि तिलोत्तमा नगरपालिकाको ड्राइभरटोलसम्मको झण्डै साढे चार किलोमिटर खण्डमा र भैरहवामा एक किलोमिटर क्षेत्रमा १५० बत्ती राखिएको छ ।
व्यापारिक मार्ग आयोजनाको करीब रु दुई करोडको लागतमा करीब दुई वर्षअघि मात्र यी बत्ती राखिएका हुन । महेश निर्माण सेवा कम्पनीले उक्त सोलारबत्ती जडानबापतको रु दुई करोड भुक्तानी पाइसकेको छ । उक्त सोलारबत्ती जडान गरेको करीब दुई वर्षमै झण्डै ५० प्रतिशत भन्दा बढी बत्ती त बल्नै छाडेका छन् ।
बत्तीले उज्यालो दिन छाडेपछि आयोजना कार्यालयले मर्मतका लागि काम भइरहेको बुटवल–बेलहिया व्यापारिक मार्ग आयोजनाका प्रवक्ता इन्जिनियर गोविन्दप्रसाद श्रेष्ठले जानकारी दिए । उनका अनुसार सडकमा प्रर्याप्त उज्यालो हुन नसक्नुमा सोलार बत्तीको पावर कम हुनु र प्रत्येक पोलको दुरी बढी हुनु नै मुख्य रहेको छ ।
सडकको डिभाइडरमा राखिएका सोलार बत्तीको पोलको दुरी २० मिटरमा रहनुपर्नेमा ३५ मिटरमा राखिएकाले पनि उज्यालो प्रर्याप्त हुन नसकेको उहाँको भनाइ छ । प्रवक्ता श्रेष्ठ सडकमा रातिको समयमा पनि उज्यालो राखेर सुन्दरता राख्ने उद्देश्यका साथ राखिएको सोलार बत्तीले प्रभावकारी रूपमा काम गर्न नसकेकाले यसको विकल्पमा अन्य व्यवस्था गर्नुपर्ने बताउँछन् । व्यापारिक मार्गको अधिकांश क्षेत्र जिल्लाको तिलोत्तमा नगरपालिका क्षेत्रमा पर्दछ ।
तिलोत्तमा नगरपालिकाका प्रमुख वाशुदेव घिमिरे आयोजनाले राखेका सोलार प्लान्ट बत्तीले प्रभावकारी रूपमा उज्यालो दिन नसकेको बताउँदै पहिले राखेका र अब नयाँ ठाउँमा राख्ने बत्ती प्रभावकारी हुने गरी राख्न आयोजनालाई आफूहरूले अनुरोध गरेको बताउँछन् । आयोजनाले राजमार्ग क्षेत्रमा राख्ने यस्ता बत्ती पूर्णरूपले उज्यालो दिने खालको राख्ने प्रतिबद्धता जनाएको नगरप्रमुख घिमिरे बताउँछन् । रासस

प्रकाशित मिति : २१ जेष्ठ २०७५, सोमबार ०३:४९