सूचनाको शक्ति - The Power Of Information

        

मन्दिरमा पूजासँगै मुसाको संरक्षण

सञ्चिता घिमिरे । ललितपुर । घरमा मुसाले दुःख दिएर हैरान हुनुहुन्छ ? कति पटक त कपडा नै च्यातिदिएर लाउन नमिल्ने भएको होला । धेरैले मुसा भगाउनका लागि अनेक उपाय पनि गरिरहेको हुनसक्छ । धेरैले मुसा भगाउनका लागि अनेक उपाय लगाइरहँदा कुनै ठाउँमा मुसा संरक्षण गरिन्छ भन्नेसुन्दा अनौठो लाग्न सक्छ । काठमाडौँ उपत्यकामा नै एउटा त्यस्तो मन्दिर छ जहाँ मुसाका लागि दैनिक खानेकुरा छुट्याउने गरिन्छ ।
पाटन दरबार क्षेत्र नजिकै रहेको हिरण्यवर्ण महाविहार (गोल्डेन टेम्पल) त्यस्तो धार्मिकस्थल हो जसको नाम पनि मुसाको नामबाट राखिएको र मुसालाई दैनिक खान्की छुटाइन्छ । मन्दिर बनेसँगै नै मुसाको इतिहास जोडिएकाले अहिलेसम्म संरक्षण भइरहेको हिरण्यवर्ण महाविहार संरक्षण समितिका अध्यक्ष विकास धाख्वा बताउँछन् । शाक्यमुनि बुद्ध विराजमान भएको गण्डक कुटी नामको कोठामा मुसाका लागि दैनिक खानेकुरा छुुट्याइने गरेको हो ।
साँझको नित्य पूजापछि मुसाका लागि खान्की राखेर कोठा बन्द गरिन्छ । उनी भन्छन्, ‘मुसालाई पनि सात भाग छुटाइन्छ र उनीहरूले छुट्याएको भाग खाएर बस्छन् ।’ सबैभन्दा अनौठो कुरा त के छ भने यी मुसाले क्षति गर्दैनन् । धाख्व भन्छन्, ‘मन्दिर परिसरको कुनै पनि ठाउँमा अहिलेसम्म प्वाल पारेको वा कुनै सामानमा क्षति भएको छैन ।’ घरमा भएकाभन्दा यी मुसा फरक प्रकृतिका रहेको उनी बताउँछन् । मन्दिर परिसरमा मात्रै होइन यी मुसाले छिमेकमा समेत गएर त्यहाँ गएर दुःख दिएको पनि अहिलेसम्म थाहा छैन ।
पाका उमेरका मानिस पनि महाविहारका मुसा पहिलेदेखि अहिलेसम्म नै शान्त र ज्ञानी स्वभावको भएको यहाँका बासिन्दा बताउँछन् । स्वयम्भू चैत्य स्थापना भएपछि यस ठाउँमा सुन जस्तै वर्णको र हिरा जस्तै चम्कने आँखा भएको हिरण्यिक मुसाले बास गरेको थियो । यही ठाउँमा महाविहार बनेकाले महाविहारको नाम मुसाको नामबाट हिरण्यवर्ण रहन गएको हो । लिच्छवि राजा भाष्करदेवका पालामा आजु चक्रेश्वर दैनिक गुह्येश्वरीको दर्शनका लागि जान्थे ।
जाडोका बेला एक दिन उनी बाटो बिराएर भग्नावशेष भएको पिंगला विहार पुगे । त्यहाँ एउटा चैत्य देखेपछि उनी दैनिक त्यहाँ जान थाले । आजुले एक दिन सपनामा त्यस ठाउँमा भगवान् बुद्धले आफ्ना मूर्तिहरू पुरिएको र त्यसलाई प्रतिस्थापना गर्दा पुण्य मिल्ने थाहा पाए । राजा भाष्करदेवलाई उनले यो कुरा सुनाए । राजाले मूर्ति भएको स्थान उत्खनन गरेर शङ्खमूलबाट पाटन भित्र्याए तर मन्दिर नबनिरहँदासम्म त्यसलाई तत्काल न्याः चुकमा राख्ने र आजुले दैनिक पूजा गर्ने कुरा बताए । त्यसपछि राजाले नयाँ विहार (न्याः बहा) बनाएर उक्त मूर्र्ति त्यहाँ सारेका थिए ।
एकदिन राजालाई भगवान् बुद्धले सपनामा आफूलाई नयाँ विहार भन्दा पनि रत्न चैत्यमा लैजाँदा पुण्य हुने भनी हिरण्यिक मुसा बास बसेको स्थानमा जान इच्छा देखाएकाले राजाले यस विषयमा ज्योतिषसँग सल्लाह गरे । ज्योतिषहरूले सुनौलो वर्ण र हिरा जस्तै टल्कने आँखा भएको मुसा स्वयम्भू रत्न चैत्यको पश्चिम दिशामा रहेको प्रमाणित गरे । सोहीअनुसार यस ठाउँमा हिरण्यवर्ण महाविहार बनाइएको हो । राजा भाष्करदेवले नेपाल संवत् १६५ देखि १६७ सम्म दुई वर्ष लगाएर मन्दिर बनाएको इतिहासमा उल्लेख छ ।
पाँच हजार सर्वसङ्घ सदस्य रहेको यो महाविहार नेपालको सबैभन्दा बढी सदस्य भएको महाविहार हो । मन्दिरमा एकजना पाका व्यक्ति र एकजना बालक गरेर दुईजना पुजारी रहन्छन् । जसमध्ये बालक मुख्य र पाका व्यक्ति सहायक पुजारी हुन् । मन्दिर परिसरमा धेरै मुसा छन् तर यति संख्यामा छन् भन्ने यकिन भने छैन । रासस

प्रकाशित मिति : २१ जेष्ठ २०७५, सोमबार ०३:३८