सूचनाको शक्ति - The Power Of Information

        

थप पाँच हवाईमार्गका बारेमा प्राविधिक तयारी शुरु


रमेश लम्साल/सिबी अधिकारी । काठमाडौं । नेपाल र भातरबीच थप हवाईमार्ग उपलब्ध गराउने विषयमा प्राविधिक तयारी थालेको छ । हवाई यातायातलाई थप सहज र सरल बनाउने लक्ष्यका साथ नेपालले थप हवाईमार्ग उपलब्ध गराउन विगत लामो समयदेखि प्रयास गर्दै आएको थियो ।
नेपाल प्रवेश गर्ने एउटामात्र हवाईमार्गका कारण भोग्नुपरेको जटिलताले वायु सेवा प्रदायक कम्पनीहरूले थप व्ययभारसमेत व्योहोर्नु परेको सन्दर्भमा यस सम्बन्धी प्राविधिक तयारी शुरु गरिएको हो । सिमराको आकाशबाट मात्रै अन्तर्राष्ट्रिय वायु सेवाका जहाज काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने गरेका छन् ।
सरकारले लामो समयदेखि भारत सरकारसँग ‘ट्रान्स हिमालय टु’ र अन्य चार स्थानबाट नेपाल प्रवेश गर्ने र बाहिरिने मार्ग उपलब्ध गराउन आग्रह गर्दै आएको थियो । प्राविधिक कारण देखाउँदै नेपालले माग गरेको मार्ग दिन भारतले अस्वीकार गर्दै आएको सन्दर्भमा जुन महिनाको तेस्रो साता यहाँ दुई देशका उच्च सरकारी अधिकारबीच छलफल हुने भएको छ ।
गत चैत २३ देखि २५ गतेसम्म प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको भारत भ्रमण र गत वैशाख २८ र २९ गते भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले गर्नुभएको नेपाल भ्रमणका क्रममा हवाईमार्गका बारेमा सहमति भएको छ । सोही सम्झौताका आधारमा आगामी छ महिनाभित्र थप हवाईमार्गका बारेमा सहमति जुटाउने लक्ष्य राखिएको छ ।
थप हवाईमार्गका विषयमा छलफल गर्न भारतको ‘एयरपोर्टस् अथोरिटी अफ इन्डिया (एएआई) को प्राविधिक टोली नेपाल आउन लागेको हो । भैरहवामा गौतमबुद्ध विमानस्थल निर्माण भइरहेको र सो विमानस्थल आगामी एक वर्षभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको सन्दर्भमा थप हवाईमार्गमा सहमति हुनु जरुरी जस्तै भइसकेको छ ।
भारतले हवाईमार्ग नदिँदा सो विमानस्थलमा जहाज उडान तथा अवतरणका लागिसमेत समस्या पर्नेछ । यस्तै बाराको निजगढमा निर्माण हुने अन्तर्राष्ट्रिय विमानस्थलमा समेत जहाज उडान तथा अवतरणका लागि भारतको आकाश प्रयोग गर्नुपर्ने बाध्यता छ । नेपाल सरकारको पटक पटकको आग्रहपछि भारतीय पक्ष थप हवाईमार्ग उपलब्ध गराउने विषयमा सहमत भएको हो ।
राजनीतिक एवं कूटनीतिक तहमा भएको सहमतिअनुसार नेपाल नागरिक उड्डयन प्राधिकरणले भारतीय अधिकारीलाई पत्राचार गरेको प्राधिकरणका उपमहानिर्देशक राजन पोखरेलले जानकारी दिए । हाल भारत हुँदै आएका विमान एउटा विन्दूबाट मात्र नेपाल प्रवेश गर्छन् । भारत, हङ्कङ, बैंकक, ढाका, मलेसिया, सिंगापुरलगायतका देशबाट आउने जहाज सिमरा नजिकै रहेको रोमियो केन्द्र भएर प्रवेश गर्ने गरेका छन् ।
नेपालबाट बाहिरिनका लागि भैरहवा, महेन्द्रनगर सिमरा, जनकपुर, विराटनगरको आकाश प्रयोग गर्नुपर्छ । सिमरा, मेची र सगरमाथाको अकाशबाट जहाज नेपाल प्रवेश गर्ने गरेका छन् । यस्तै चीनबाट नेपाल भित्रिने जहाज भने सगरमाथा केन्द्र हुँदै नेपाल प्रवेश गर्ने गरेका छन् । यस्तै नेपालले चीनसँग पनि नयाँ हवाईमार्ग लिने विषयमा प्रारम्भिक छलफल गरिरहेको छ ।

भारत, हङ्कङ, बैंकक, ढाका, मलेसिया, सिंगापुरलगायतका देशबाट आउने जहाज सिमरा नजिकै रहेको रोमियो केन्द्र भएर प्रवेश गर्ने गरेका छन् । नेपालबाट बाहिरिनका लागि भैरहवा, महेन्द्रनगर सिमरा, जनकपुर, विराटनगरको आकाश प्रयोग गर्नुपर्छ । सिमरा, मेची र सगरमाथाको अकाशबाट जहाज नेपाल प्रवेश गर्ने गरेका छन् ।

नेपाल–भारतबीच भएको सहमतिअनुसार सम्पर्क सञ्जाल विस्तारका लागि थप हवाईमार्गका बारेमा छलफल हुन लागेको हो । नेपाली टोलीले भारतीय प्राविधिक टोलीसँग छलफल गरेपछि हवाईमार्गको विषय सहमतिमा पुग्ने संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले केही दिन पहिले एक सार्वजनिक कार्यक्रममा जानकारी दिएका थिए ।
उनले मन्त्रालय र प्राधिकरणले आवश्यक तयारी गरिरहेको बताएका थिए । थप हवाईमार्गका विषयमा सहमति भए त्यो नेपालका लागि महत्वपूर्ण सफलता हुने हवाई क्षेत्रका जानकारहरूको भनाइ छ । हवाईमार्गका विषयमा सहमति नभए गौतमबुद्ध विमानस्थल सञ्चालनमा ल्याउनसमेत समस्या पर्ने हुन सक्छ ।
हवाईमार्गका बारेमा सहमति हुने भन्दै नेपालको निजी क्षेत्रको वायु सेवा प्रदायक बुद्ध एयरले नेपालगन्ज–दिल्ली उडान गर्ने तयारी गरेको छ । आगामी एक वर्षभित्र गौतमबुद्ध विमानस्थल र सन् २०२१ भित्र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण सम्पन्न गर्ने लक्ष्य राखिएको छ । त्यसका लागि थप हवाईमार्गका बारेमा सहमति हुनु जरुरी छ । सरकारले हाल सञ्चालनमा रहेका विराटनगर, जनकपुर, नेपालगन्ज र धनगढी विमानस्थलबाट भारतीय शहरमा उडान गर्ने लक्ष्यसमेत राखेको छ ।
सो लक्ष्य कार्यान्वयनका लागिसमेत थप हवाईमार्गको जरुरी छ । प्राधिकरणका उपमहानिर्देशक पोखरेलले भने, ‘समग्र विषयमा हामी छलफल गर्छौं र नेपालको मागअनुसार हवाईमार्ग उपलब्ध गराउन आग्रह पनि गर्छौं, हामीले हाम्रो एजेण्डा तय गरिसकेका छौँ, प्रधानमन्त्रीको भ्रमणका क्रममा उठेका विषयवस्तु नै हाम्रा कार्यसूची हुन् ।’
भारतका प्रधानमन्त्री मोदीको भ्रमणका क्रममा भएको छलफलपछि जारी १६ बुँदे संयुक्त विज्ञप्तिमा हवाई रुटको विषय समेटिएको छ । सहमतिमा नेपालका प्रधानमन्त्री र भारतीय प्रधानमन्त्रीले आ–आफ्ना देशका प्राविधिक टोलीसँग छलफल गरी निष्कर्षमा पुग्न निर्देशन दिएका थिए । सोही सहमतिका आधारमा भारतीय नागरिक उड्डयन क्षेत्रको नियामक निकायका अधिकारी नेपाल आउन लागेका हुन् ।
प्राधिकरणका पूर्व महानिर्देशक त्रिरत्न मानन्धर छोटो मार्ग उपलब्ध गराउने विषय लामो समयदेखि चर्चामा रहे पनि पूरा हुन नसकेको सन्दर्भमा नेपालले पछिल्लो पटक गरेको प्रयास सराहनीय रहेको बताउँछन् । भारतीय पर्यटक भित्र्याउन पनि सरल र छोटो मार्ग आवश्यक रहेकाले त्यसबाट नेपाल–भारत दुवै मुलुकले फाइदा लिने उनको भनाइ छ ।
संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका प्रवक्ता घनश्याम उपाध्यायले प्राधिकरणले यसबारेमा आवश्यक प्राविधिक तयारी गरिरहेको जानकारी दिए । भारतीय पक्षले समेत चासो देखाएको उल्लेख गर्दै उनले नेपालको प्रयासले थप सार्थकता पाउने बताए । रासस

प्रकाशित मिति : १८ जेष्ठ २०७५, शुक्रबार ०३:४२