मोरङ । करिब ३८ क्वीन्टल सुन तस्करी प्रकरणमा मुछिएर फरार प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) श्याम खत्रीले आत्मसमर्पण गरेका छन् । उनले जिल्ला अदालत, मोरङमा आत्मसमर्पण गरेका हुन् ।
उनको खोजीमा अन्तर्राष्ट्रिय प्रहरी संगठन (इन्टरपोल)मा डिफ्यूजन नोटिस समेत जारी भएको थियो । क्वीन्टल सुन तस्करीमा नेपाल प्रहरीका बहालवाला एसएसपी खत्रीको प्रत्यक्ष संलग्नता देखिएको थियो । यो मुद्दाका मुख्य अभियुक्त चुडामणि उप्रेती गोरेले खत्रीको संलग्नता खुलाएका थिए ।
खत्रीसँग सेटिङ मिलाउने भने छिरिङ वालेङ घले भएको उनको बयान छ । गोरले मात्र होइन, सुन तस्करीको अभियोगमा पक्राउ परेका अरुले पनि खत्रीलाई पोलेका छन् । तर, गोरेले अदालतमै त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा सेटिङ मिलाउन खत्रीको मूख्य भूमिका रहेको बयान दिएका थिए ।
फ्लाइ दुबईबाट एक पटकमा १५ देखि २० किलोसम्म सुन आउने गरेको भन्दै उनले भनेका छन्, ‘दुबईबाट भरियामार्फत झोलामा सुन आउँछ । भरियालाई प्रहरीले पास उपलब्ध गराउथे । सो पछि कुनै चेकजाँच हुँदैनथ्यो । सुन बोक्ने मानिस सहजै प्रहरी हाकिमको कोठामा जान्थ्यो । झोला त्यही छाडिदिन्थे ।’
‘श्याम खत्रीले सुन बाहिर निकालेवापत प्रतिकिलो ५० हजार निज आफैंले बुझ्थे,’ गोरेले अदालतलाई दिएको बयानमा भनिएको छ, ‘यो लाइनबाट ४०० किलोदेखि ५०० किलोसम्म सुन आएको छ ।’
प्रहरी हाकिम कहाँ छाडिएको सुन प्रहरीले अनुकुल समय मिलाएर बाहिर निकाल्ने गरेको गोरेको बयान छ । उनले भने, ‘दुबईबाट आउने सुन भारतीय ब्यापारीको हुन्थ्यो । सुन सिधै तत्कालीन एसएसपी श्याम खत्रीको कोठामा जान्थ्यो । निजले अनुकल समयमा सुन बाहिर निकाली हाम्रा भरियालाई दिन्थे ।’
गोरेका अनुसार खत्रीले आफ्ना ड्राइभर र अंगरक्षकलाई प्रयोग गरेर सरकारी गाडीमा नै सुन बाहिर ल्याउँथे । ‘श्याम खत्रीले सुन बाहिर निकालेवापत प्रतिकिलो ५० हजार निज आफैंले बुझ्थे,’ गोरेले अदालतलाई दिएको बयानमा भनिएको छ, ‘यो लाइनबाट ४०० किलोदेखि ५०० किलोसम्म सुन आएको छ ।’
गोरेको बयानलाई आधार मान्ने हो भने खत्रीले ५०० किलो सुन पास गराउँदा साढे २ करोड बुझेका छन् । छानविन समितिको अनुसन्धानका क्रममा बरामद भएको खातामा पनि खत्रीलाई एक करोड बढी रकम दिएको पाइएको थियो । उनी तिनै प्रहरी अधिकारी हुन्, जो यसअघि दुबईबाट आएको ३४ किलो सुन काण्डमा पक्राउ परेका थिए, तर पछि उनलाई अदालतले सफाइ दिएको थियो ।
।