कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका १२ मा रहेको सिद्धनाथ आधारभूत विद्यालयको हावाहुरीले उडाएको छाना । विद्यालयको छाना हावाहुरीले उडाउँदा खुला आकासमुनी पठनपाठन गर्नु पर्ने अबस्था आएको छ । तस्वीर : राजेन्द्रप्रसाद पनेरु/रासस
बाँके । बाँकेको डुडुवा र राप्तीसोनारी गाउँपालिकामा आँधीहुरीले ढलेका विद्युत पोल मर्मत नहुँदा स्थानीयबासीले अझै बत्ती बाल्न पाएका छैनन् । एक हप्ताअघि आएको आँधीहुरीले गाउँपालिकाको वडा नं ४ र ५ मा ३० वटा विद्युत् पोल ढलेका छन् भने केही भाँचिएका छन् ।
विद्युत् कार्यालयले सुस्तगतिमा पोल गाड्ने तथा मर्मत कार्य गर्नाले बत्ती बाल्न नपाएको भन्दै स्थानीय आक्रोसित भएका छन् । अत्यधिक गर्मीको मौसममा लामो समयसम्म विद्युत् आपूर्ति बन्द भएपछि स्थानीयलाई हैरानी भएको छ ।
विद्युत् कार्यालयले मुख्य सडकका पोल गाडिसकिएको र गाउँभित्रका पोल केहीदिनमै गाड्ने बताएको छ । आँधीहुरीले गाउँपालिकाको वडा नं ४ र ५ मा बढी क्षति पुर्याएको छ । आँधी हुरीले वडा नं ५ गोहनाका १२ वर्षीया गीता कुमाई घरको छानाले च्यापिएर गम्भीर घाइते भएकी छन् । उनको शिक्षण अस्पताल कोहलपुरमा उपचार भइरहेको छ ।
गाउँपालिकाको दुईवटै वडामा टिन, टायल र फाइबरले छाएको करीब ७० जनाको घरको छाना उडाएको छ भने एक दर्जनभन्दा बढी रुख ढलेका छन् । हुरीले छाना उडाएपछि नागरिकलाई तत्काल बस्न समेत समस्या भएको छ । गाउँपालिका अध्यक्ष नरेन्द्रकुमार चौधरीले क्षतिबारेमा तथ्यांक संकलन भइरहेको भन्दै राहतका लागि सम्बन्धित निकायमा पहल गर्ने बताए ।
।