रितु खड्का पाल । कञ्चनपुर । जब बर्षायाम सुरु हुन्छ, महाकाली किनारका स्थानीयहरुको निद्रा खल्बलिरहन्छ । महाकाली नदीमा कतिबेला बाढी आउँछ र उठीबास बनाउँछ भन्ने चिन्ता हुन्छ । कञ्चनपुर जिल्ला महाकाली नगरपालिका वडा नं ४ मालीका टोलका स्थानीयहरु बर्षातको समयमा बाढी आउने त्रासमा रात विताउँछन् । बाढी तथा डुबानको प्रकोपबाट हुन सक्ने सम्भावित क्षतिलाई कम गर्न विभिन्न अभ्यासहरु गर्ने गरिन्छ ।
नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र अन्य सरकारी तथा गैरसरकारी निकायले बाढी प्रकोपको पूर्व तयारीका लागि अभ्यासहरु गरिरहेका हुन्छन् । बाढी र प्रकोपपछिको राहत व्यवस्थापनमा भने कमैको ध्यान जान्छ । विपद् व्यवस्थापन सम्बन्धी पूर्व अभ्यास सञ्चालन गर्ने निकायहरुले समेत राहत व्यवस्थापनमा ध्यान दिइरहेका हुँदैनन् । बाढी आउँछ अनि राहत संकलन गरेर वितरण गरिन्छ ।
‘विपद् पूर्व तयारीका लागि आकस्मिक कोष खडा गरेका छौं । सो कोषमा नेपाल रेडक्रस सोसाइटीले सहयोगस्वरुप ५० हजार रुपैयाँ समेत जम्मा गरिदिएको छ ।’
बाढी र प्रकोपको जोखिमलाई मध्यनजर गर्दै नेपाल सरकारले प्रकोपका प्रभावहरुलाई न्यून गर्ने उद्देश्यलाई आफ्नो प्रमुख प्राथमिकताको क्षेत्रमा राखे पनि राहत संकलन भने बाढी आउनुअघि होइन पछि गरिन्छ । तर महाकाली नगरपालिका वडा नं ४ मालीका टोलका स्थानीयहरु भने बाढी आउनुपूर्व नै राहत संकलनमा जुटिरहेका छन् ।
मालीका टोलबासीले मालिका सामुदायिक विपद् व्यवस्थापन समिति गठन गरी राहत संकलन गरिरहेको समितिकी संयोजक भूमिका धामीले जानकारी दिएकी छन् । उनी भन्छिन्, ‘विपद पूर्व तयारीका लागि आकस्मिक कोष खडा गरेका छौं । सो कोषमा नेपाल रेडक्रस सोसाइटीले सहयोगस्वरुप ५० हजार रुपैयाँ समेत जम्मा गरिदिएको छ ।’
विपदपछिको क्षतिलाई कम गर्न समितिले राहतस्वरुप अन्न, खाद्य सामाग्री, आर्थिक संकलन तथा अन्य सहयोग जुटाउँदै आकस्मिक कोषमा जम्मा गरिहेको छ । समितिले अहिले मुठीदान अभियान समेत सञ्चालन गरिरहेको छ । उक्त अभियानलाई सफल बनाउन नेपाल रेडक्रस सोसाइटी कञ्चनपुर शाखाले पनि विशेष सहयोग गरिरहेको समितिकी संयोजक धामीले बताइन् ।
विपद् व्यवस्थापनका लागि सरकारले बिभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय गैरसरकारी निकायहरु, नेपाल रेडक्रस सोसाइटी तथा राष्ट्र संघीय संस्थाहरुसँग समन्वय र सहकार्य गर्ने गर्छ । सामुदायिक विपद व्यवस्थापन समितिकी संयोजक धामीले भनिन्, ‘विपद् आकस्मिक घटना भएकोले यसकोे रोकथाम मानवीय क्षमताभन्दा वाहिरको विषय भएकोले हामीले पनि जनस्तरमा मुठीदान अभियान चलाएका हौं ।’
पूर्व तयारी योजनाबाट प्रकोपको प्रभाव तथा क्षतिलाई न्यूनीकरण गर्न सकिने बताउँछन् नेपाल रेडक्रस सोसाइटी कञ्चनपुरका कोषाध्यक्ष थिरेन्द्रचन्द्र भट्ट । उनी भन्छन्, ‘विपदलाई कसरी न्यूनीकरण गर्न सकिन्छ भनेर रेडक्रसले निरन्तर आफ्ना गतिविधिहरु सञ्चालन गर्दै आइरहेको छ । त्यसैको निरन्तरता स्वरुप स्नाथीय नागरिकले सञ्चालन गरेको मुठीदान अभियानलाई पनि हामीले सहयोग गरिरहेका छौं ।’
‘विपद् आकस्मिक घटना भएकोले यसकोे रोकथाम मानवीय क्षमताभन्दा वाहिरको विषय भएकोले हामीले पनि जनस्तरमा मुठीदान अभियान चलाएका हौं ।’
मालिका सामुदायीक विपद् व्यवस्थापन समितिकी सचिव पुष्पा सिहंले विपद पूर्व तयारीका लागि हरेक घरधुरीबाट डेढ केजी गहुँ संकलन गरिरहेको बताइन् । उनले भनिन्, ‘११५ घरधुरीबाट कुनै घरधुरीले २/३ केजीसम्म सहयोग गर्नुभएको छ । समुदायका लागि समुदायले नै सहयोग गरिरहनु भएको छ । यो हाम्रो सकारात्मक अभियान पनि हो ।’
वडा सदस्य तथा विपद् व्यवस्थापन समितिका सदस्य भीमबहादुर सिंहका अनुसार हालसम्म डेढ क्वीन्टल गहुँ संकलन भइसकेको छ । संकलन भएको उक्त गहुँ विक्री गरेर त्यसबाट आएको रकम कोषमा जम्मा गरिने उनले बताए । उनी भन्छन्, ‘समुदायका सँगै हामीलाई रेडक्रसले पनि सहयोग गरिरहेको छ । विपद् व्यवस्थापन तथा न्यूनीकरण सम्वन्धी कार्यमा रेडक्रसको भूमिका अग्रपंक्तिमा रहेको छ ।’
प्रकोपको दृष्टिकोणले नेपाल अत्यन्तै संवेदनशील मानिन्छ । भूकम्प, बाढी, पहिरो, चट्याङ्ग, हावाहुरी, आगलागी, माहामारी, सितलहर, जंगली जनावरको आतंक, हिमपात आदी जस्ता प्राकृतिक एवम् मानव सिर्जित प्रकोपबाट वर्षेनि ठुलो जनधनको क्षति हुने गरेका कारण स्थानीय समुदायका साथै सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले पनि प्रकोपपछि होइन पहिले नै चासो देखाउन जरुरी छ ।
।