सूचनाको शक्ति - The Power Of Information

        

एकैदिन ६६९६ विद्यार्थीलाई छात्रवृत्ति !


रेनुका गिरी । बुटवल । बुटवल उपमहानगरपालिकाले गणतन्त्र दिवसको अवसर पारेर छात्रवृत्ति वितरण गरेको छ । उपमहानगरपालिकामा रहेका सामुदायिक विद्यालयहरुमा अध्यय्नरत आधारभूत र मावि तहका ६ हजार ६९६ जना विद्यार्थीहरुलाई उक्त रकम बराबरको छात्रवृत्ति उपलव्ध गराएको हो ।
उपमहानगरमा ३८ वटा सामुदायिक विद्यालयहरु रहेका छन् । तीमध्ये चारवटा धार्मिक विद्यालयका रुपमा रहेका छन् । तिनै सामुदायिकमा अध्यय्नरत छात्रा, दलित र जेहेन्दारलाई छात्रवृत्ति उपलव्ध गराइएको छ । यहाँ संस्थागत विद्यालयहरुको संख्या भने ६२ रहेको छ ।
आधारभूत तहका ३ हजार ९९६ जनालाई जनही ४००, आधारभूततर्फ दलित २ हजार २४८ जनाले जनही ४००, दलित मावि तहका ३८२ जनाले नजही ५०० सयका दरले छात्रवृत्ति वितरण गरिएको उपमहानगरका शिक्षा शाखा प्रमुख लोकराज पन्थीले जानकारी दिए ।
छात्रवृत्तिका लागि उक्त रकम उपमहानगरले सम्बन्धित विद्यालयहरुमा त्यहाँको तथ्यांकका आधारमा उपलव्ध गराएपछि सोमबार सबै सामुदायिक विद्यालयमा एक साथ वितरण भएको नगर प्रमुख शिवराज सुवेदीको भनाइ छ । गणतन्त्र दिवसको अवसर पारेर त्यसको पूर्वसन्ध्यामा एकसाथ छात्रवृत्ति कार्यक्रम सुरु गरिएको प्रमुख सुवेदीले बताए ।
नगरपालिकाभित्रका सामुदायिक विद्यालयमा सोमबारदेखि एकसाथ छात्रबृत्ति वितरण कार्यक्रम सुरु गरिएको उपमहानगरपालिका कार्यपालिका सदस्य तथा सामाजिक विभाग प्रमुख सीता थापाले जानकारी दिइन् । कतिपय सामुदायिक विद्यालयहरुले उपमहानगरले पठाएको रकमका अतिरिक्त विद्यालयमा स्थापना भएका कोषहरुबाट पनि केही छात्रवृत्ति वितरण गर्दै आएका छन् ।
उपमहानगरपालिकाले सामुदायिक विद्यालयमा अध्ययनरत १३ हजार ५७२ जना विद्यार्थीका लागि आवश्यक पर्ने पाठयपुस्तकको रकम विद्यालयको खातामा यसअघि नै निकासा गरिसकेको छ । सात सय अति विपन्न छात्र छात्राहरुलाई हाजिरीका आधारमा नियमिततामा प्रेरित गर्नका लागि दैनिक २० रुपैया बराबरको खाजा व्यवस्थापनका लागि रकम उपलब्ध गराउँदै आएको उपमहानगरपालिका प्रवक्ता रामप्रसाद रेग्मीले जानकारी दिए ।
उपमहानगरले यसअघि विद्यालय भर्ना अभियान प्राभवकारी रुपमा सञ्चालन गरेको थियो । त्यसक्रममा विद्यालयमा भर्ना हुन नसकेका बालबालिकाहरुलाई खोजी खोजी भर्ना गराइएको थियो । नगरपालिकाले शिक्षा ऐनको मस्यौदा तयार गरी कार्यलपालिकामा पेश गरि शिक्षा ऐन पारित भएको र नगर शिक्षा नियमावलीको मस्यौदा छलफलको चरणमा रहेको निमित्त प्रमुख प्रशासकीय अधिकृत विष्णु खनालले जानकारी दिए ।

प्रकाशित मिति : १६ जेष्ठ २०७५, बुधबार ०३:३६