सूचनाको शक्ति - The Power Of Information

        

सरकार अलमलमा होइन अप्ठ्यारोमा, पुराना संरचनामा काम गर्नु चुनौतीपूर्ण


रेनुका गिरी । बुटवल । प्रदेश नं. ५ को सरकारले सरकारका सय दिने उपलब्धी सार्वजनिक गरेको छ । मुख्यमन्त्री शंकर पोखरेलले प्रदेश सरकारले सय दिनमा अभूतपूर्व काम गरेको दाबी गरेका छन् । उनले संरचनाको अभावमा यी काम गर्नु ठूलो कुरा भएको बताए । कसैकसैले प्रदेश सरकार अलमलमा रहेको टिप्पणी गरेको भन्दै उनले अलमलमा सरकार नभई अप्ठ्यारो अवस्थामा रहेको उल्लेख गरे ।
प्रदेश सरकारको सय दिनको कामबारे जानकारी दिँदै मुख्यमन्त्री पोखरेलले नयाँ संरचनामा काम गर्नु चुनौतिपूर्ण रहेको बताए । प्रदेश सरकारसँग चाहे अनुसारको जनशक्ती नभएको भन्दै मुख्यमन्त्रीले ६ महिना पर्खने र त्यसपछि पनि कर्मचारी उपलब्ध नभएमा प्रदेशले नै व्यवस्था गर्ने जानकारी दिए । वित्त आयोग गठन र कर्मचारी समायोजन नहुँदा प्रदेश सरकार पूर्ण क्षमताको साथ चल्न नसेको उहाँले बताए ।
मुख्यमन्त्री पोखरेलले यहि वर्षभित्र प्रदेशको राजधानी तोकिने भन्दै त्यसको संकेत बजेटमा आउने उल्लेख गरे । प्रदेशको नाममा कुनै समस्या नभएको भन्दै उहाँले राजधानीसँगै नामको पनि टुंगो लाग्ने बताए । यो वर्ष विकासको आवधिक योजना निर्माणको वर्षको रुपमा रहने उनको भनाई छ ।
सय दिनमा प्रदेश सरकारका गरेका ४७ बुँदे कार्यहरुमा विभिन्न कानून तयार गरी संसदबाट ४ वटा कानून पारित भएको, प्रदेश योजना आयोग लगायतल विभिन्न पदमा नियुक्ती, बैज्ञानिक बन व्यवस्थापनको लागि अध्ययन, राजस्व परामर्श समिति गठन, प्रदेश सञ्चीत कोष सञ्चालन लगायत रहेका छन् ।
त्यसैगरी लुम्बिनीमा पर्यटनको बसाई लम्बाउन, बुद्ध सर्किटमा मोनोरेल सञ्चालनका लागि र बहुउदेश्यीय उद्यान निर्माणका लागि, नयाँ औद्योगिक क्षेत्रको लागि सम्भाव्यता अध्ययन भइरहेको प्रदेश सरकारले जनाएको छ । त्यस्तै केन्द्रले तयार गरेको सडक खानेपानीको डिपीआरको सुचि संकलन, कृषिसँग सम्बन्धीत तथ्यांक संकलन, सडकको पहँुच नभएका स्थानिय तहको पहिचान र लागत संकलन लगायतका काम भएको प्रदेश सरकारले जारी गरेको कार्य विवरणमा उल्लेख छ ।

प्रकाशित मिति : १६ जेष्ठ २०७५, बुधबार ०३:२९