सञ्चिता घिमिरे । ललितपुर । पछिल्लो समयमा आमाले सन्तानका बारेमा झुट बोल्दैनन् भन्ने पुस्तौंदेखिको सोचाइ गलत प्रमाणित भएको देखिएकोे छ । खुमलटारस्थित राष्ट्रिय विधि विज्ञान प्रयोगशालामा आउने कतिपय मुद्दामा आमाले आफ्नो सन्तानका बाबु भनेका पुरुष बाबु नभएको प्रमाणित भइरहेको छ ।
प्रयोगशालामा आउने मुद्दामध्ये आधामा दाबी गरिएका व्यक्ति बाबु प्रमाणित नभएको प्रयोगशाला प्रमुख जीवनप्रसाद रिजाल बताउँछन् । महिलाले नियतवश नै वा बाध्यतामा परेर बाबु नभएका व्यक्तिलाई पनि बाबु हो भन्ने दाबी गर्छन् । उनी भन्छन्, ‘सामाजिक आर्थिक, पारिवारिक समस्याका कारण महिलाले झुट बोलेको हुनसक्छ भने कतिपय अवस्थामा सम्पत्ति लिने दाउले पनि झुक्याएको हुनसक्छ ।’
बाबु प्रमाणित नहुनेखालका घटना पहिलेभन्दा पछिल्ला समय झन् बढिरहेको छ । पहिले महिला इमान्दार हुन्छन् भन्ने सामाजिक र कानूनी मान्यता थियो । अहिले सामाजिक परिवेश वा परिवारिक बाध्यताले पनि आमाले बाबु नभएको व्यक्तिलाई सन्तानको बाबु भन्ने गरेका घटना बढी आएका छन् । प्रयोगशाला प्रमुख रिजाल भन्छन्, ‘महिलाले कहिलेकाहीँ जात लुकाउनका लागि र कहिले हाडनाता करणीबाट जन्मिएको सन्तानको पहिचान लुकाउन पनि अर्काे व्यक्ति देखाएको हुन्छ ।’
सबैभन्दा बढी सम्पत्तिका कारण, त्यसपछि जन्म, विवाहलगायतका घटना दर्ताका बखत विवाद निस्कँदा सत्यतथ्य पत्ता लगाउन अदालतले डिएनए परीक्षणको नतिजा माग्छ । जन्मेदेखि वा आफूलाई स्मरण भएदेखि बाबु मान्दै आएका व्यक्ति वास्तविकरूपमा बाबु प्रमाणित नभएका घटना छन् । धर्मपुत्र पालिएका व्यक्तिले अभिभावकबाट अंश नपाएर अदालत जान्छन् ।
‘बिहे गर्दा महिला र पुरुषबीचमा सहमति भएर विवाह भए पनि पछि सन्तानले कुनै कुरामा चित्त दुखाउँदा बाबु आफैँले पनि आफ्नो सन्तान होइन भन्छन् ।’
कतिपय घटनामा भने श्रीमतीले विवाहपछि पाएका सन्तान पनि अर्काको भएको नतिजा डिएनए परीक्षणबाट देखिन्छ । श्रीमतीको अर्काे व्यक्तिसँगको सम्बन्धमात्रै नभएर महिलाले विवाह हुनु अगाबै पेट बोकेको हुन सक्छन् । उनी भन्छन्, ‘बिहे गर्दा महिला र पुरुषबीचमा सहमति भएर विवाह भए पनि पछि सन्तानले कुनै कुरामा चित्त दुखाउँदा बाबु आफैँले पनि आफ्नो सन्तान होइन भन्छन् ।’
बाबु र उसको सन्तान हो होइन भन्नेमात्र होइन आमा र उसकी सन्तान हो होइन भन्ने विवादसमेत परीक्षणका लागि अदालत आउन थालेका छन् । पहिले अनौठो लाग्ने यस्ता घटना अहिले छिटफुट आइरहेको प्रयोगशाला प्रमुख रिजाल बताउँछन् । पहिले बाबुका नाममा मात्रै सम्पत्ति हुँदा बाबु र सन्तानको डिएनए परीक्षण हुन्थ्यो । अहिले आमाका नाममा समेत सम्पत्ति हुने क्रम बढेपछि सन्तानले आमालाई समेत अंश मुद्दा हाल्न थालेका छन् । उनी भन्छन्, ‘कतिपय घटनामा आमाले म तेरी आमा होइन भनेकाले पनि परीक्षणका लागि यहाँ आइपुग्छ ।’
प्रयोगशालामा आएका कतिपय घटनामा आमा नभएको नतिजा पनि आएको जानकारी दिँदै उनी भन्छन्, ‘बच्चा जन्मनासाथ अस्पतालमा जानेर वा नजानी साटफेर गर्नाले नै आमा होइन भन्ने नतिजा निस्कन्छ ।’ प्रयोगशालामा डिएनए परीक्षणका लागि धेरैखालका मुद्दा आउने गरेका छन् । तिनमा सबैभन्दा बढी महिलाले न्वारान गरी पाऊँ, नाता कायम गरी पाऊँ, अंश पाऊँ भन्दै सन्तानको बाबु दाबी गरेका मुद्दा सबैभन्दा बढी रहेको प्रयोगशालाले जनाएको छ । सन्तानले बाबुसँग अंश माग्नका लागि अदालतमा हालेको अंश मुद्दामा पनि डिएनए परीक्षणका लागि यहाँ आउँछ ।
अभिभावक र सन्तानका बीचमा डिएनए परीक्षण गरेर ती व्यक्ति बाबुआमा हुन् वा होइनन् भन्ने निष्कर्ष निकालिने जानकारी दिँदै प्रयोगशाला प्रमुख रिजाल भन्छन्, ‘अभिभावक र सन्तान आफ्नो हो होइन छुट्याउन यो नै सबैभन्दा बलियो माध्यम हो ।’ मानव शरीरमा २३ जोडी क्रोमोजोम हुन्छ । तीमध्ये २३ वटा आमाबाट र २३ वटा बाबुबाट आएको हुन्छ । ती क्रोमोजोम बाबु र आमासँग मिल्दा सन्तान हो र नमिल्दा होइन भन्ने प्रमाणित हुन्छ । गत आर्थिक वर्षमा अदालतबाट ४१ र अन्य निकायबाट १६४ गरेर जम्मा २०५ वटा मुद्दाको डिएनए परीक्षण गर्न प्रयोगशालाको मद्दत लिइएको थियो । रासस
।