पछिल्लो समय दुख गर्न सके नेपालमा पनि केहि गर्न सकिन्छ भन्ने सोच युवाहरुमा पलाउन थालेको छ । हाल युवाहरुले वैदेशिक रोजगारीको अवसरलाई अस्वीकार गर्दे आफ्नै गाउँघरमा विभिन्न व्यवसायहरु गर्न थालेका छन् । पश्चिम दाङ शान्तिनगर गाउँपालिका–५ रगैचा निवासी सञ्जय भण्डारी विगत १२ वर्षदेखि माहुरीपालन गर्दैआएका छन् । पाँच वटा घारबाट माहुरी पालन सुरु गरेका भण्डारीले हाल १२५ घार पुर्याएका छन् । आफू मात्र रोजगार नबनेर सिजनमा ८ जना युवाहरुलाई पनि आफ्नो फर्ममा काम दिने गरेको बताउँने भण्डारीसँग दाङ्ग रिर्पोटर देवी भण्डारीले उनको फष्टाउँदो माहुरीपालन व्यवसायको बारेमा कुराकानी गरेकी छन् ।
कति लगानीमा माहुरीपालन सुरुवात गर्नु भएको हो ?
– विगत १२ वर्ष पहिला माहुरीपालन सुरुवात गर्दा ५० हजार लगानीमा सुरु गरे । त्यो समयमा ५ घार माहुरीबाट सुरु गरेको थिए । त्यतिबेला घरकै लागि सुरु गरिएको हो । विस्तारै त्यसैलाई अहिले व्यवसायको रुपमा सञ्चालन गरिरहेको छु ।
यो व्यवसायमा १२ वर्ष पहिले र अहिले के फरक पाउनु भएको छ ?
– सुरुवातमा माहुरीलाई कसरी हुर्काउने, मह कसरी निकाल्ने भन्ने हुन्थ्यो । पछि गर्दै जाँदा सबैकुरा सकिने रहेछ । पहिले प्रविधिक ज्ञान थिएन, अरुको सहयोग लिनुपर्ने अवस्था थियो । सहयोग लिन पनि गाह्रो हुने, गाउँमा कसैले माहुरी पालेका थिएनन् । त्यसैले पनि आफुलाई चाहिने सिप सिक्न टाढा पुग्नुपर्ने बाध्यता थियो । गर्दै जाँदा सबै कुराको अनुभव हुँदोरहेछ, अहिले सबै जानेको र सिकेको हुँदा प्रविधिक लगायत अन्य सहयोगको आवश्यकता पदैन । अहिले सबै कुरा सहज बनेको छ ।
मह उत्पादनबाट वार्षिक १० लाखसम्म आम्दानी हुन्छ । त्यसमा लगानी कटाएर ७ देखि ८ लाखसम्म बचत हुने गरेको छ ।
माहुरी पालनको लागि सुरुमा के के आवश्यकता पर्छ ।
– पहिलो कुरा त लगानी नै हो । यो सँगसँगै सिप सिक्न एकदमै जरुरी हुन्छ । माहुरीपालन सम्बन्धी विभिन्न समयमा जिल्ला तहमा तालिमहरु पनि सञ्चालन हुने गर्दछन् । ति तालिममा सहभागी भएर राम्रो फाइदा लिन सकिन्छ । त्यस्ता तालिममा थोरै घार माहुरीलाई कसरी धेरै बनाउने, भाले माहुरी उत्पादन कसरी बढाउने लगायतका कुराको जानकारी गराइने हुँदा व्यवसाय गर्न सजिलो हुन्छ । त्यसैले तालिमको एकदम आवश्यकता पर्दछ ।
यसबाट वार्षिक आम्दानी कति हुन्छ र जनशक्ति कसरी परिचालन गर्नुभएको छ ?
– पाँच घारबाट सुरु गरेको अहिले १२५ घारमा पुगेको छ । मह उत्पादनबाट वार्षिक १० लाखसम्म आम्दानी हुन्छ । त्यसमा लगानी कटाएर ७ देखि ८ लाखसम्म बचत हुने गरेको छ । एक्लै अलि सम्भव हुँदैन । सधै कामदार राख्ने गरेको छैन । सिजनमा करिब ८ जना कामदारको आवश्यकता पर्छ । ८ जना सहयोगीको रुपमा कामदार राख्ने गरेको छु । सिजनको समयमा दाङमा मात्र राखेर सम्भव नहुने भएकाले माहुरी चराउनलाई कैलाली तथा बबैरहवामा पनि लग्ने गरेका छौ । त्यो समयमा कामदार राख्ने गरेको छु । अन्य समयमा १ दिन हेरेपछि एक हप्तासम्म हेर्नु नपर्ने भएकाले पनि एक्लैले चलिरहेको हो । मह उत्पादनको लागि चार सीजन हुन्छ– तोरी, सिसौँ, चिउरी र रुदिलो । सजिलो तोरीको सीजनमा हुने हुँदा चरणको लागि पनि हामीले त्यही समयमा लाने गर्छौ । आज भोलीको समयमा खासै उत्पादन पनि नहुने महुरीलाई चरण पनि हुँदैन । सिजनको समयमा राम्रो आम्दानी हुन्छ ।
तपाईजस्तै माहुरी पाल्न चाहने युवाका लागि के भन्नु हुन्छ ?
– माहुरीपालन घरायसी कामसँगै गर्न सकिने हुँदा त्यति धेरै अफ्ठ्यारो हुँदैन । म मेरै गाँउठाँउमा केहि गर्छु भन्नेको लागि त पहिला थोरै सिप सिक्नुस् । दुई चार घार पालेर हुन्छ भन्ने हुँदैन । त्यसरी गरेको कुनै पनि व्यवसाय सफल हुँदैन । व्यवसाय सफल बनाउन लगानी र सिपको एकदमै आवश्यक छ । कुनै पनि कामको सुरुवात गर्दा जानकार भएर गर्नुस्, त्यसका लागि मैले मेरो तर्फबाट गर्नुपर्ने सहयोग भरपुर गर्नेछु ।
।