सूचनाको शक्ति - The Power Of Information

        

बाँके कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी

बाँके । बाँके जिल्ला कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी राखिएको छ । तीन सय कैदीबन्दी बस्न सक्ने क्षमताको सो कारागारमा अहिले ६५५ कैदीबन्दी रहेको कारागार प्रमुख मोहन लामिछानेले बताए ।
कैदीबन्दीको आचरण सुधारका लागि विसं २००० सालमा स्थापना गरिएको नेपालगन्जस्थित बाँके जिल्ला कारागारलाई नागरिकको सुरक्षाका दृष्टिकोणले पनि अन्यत्र सार्नुपर्ने प्रमुख जिल्ला अधिकारी रमेशकुमार केसीको भनाइ छ ।
यसलाई नै दृष्टिगत गरी अहिले बाँके जिल्लाको गनापुरमा खुल्ला कारागार निर्माणकार्य समेत शुरु गरिएको छ । प्रजिअ केसीका अनुसार, आठ बिगहा क्षेत्रफलमा फैलिएको सो खुल्ला कारागारको दुई कोठा र ब्यारेक निर्माण कार्य सकिएको छ भने अन्य संरचना निर्माण भइरहेका छन् ।
यसैगरी, बाँकेकै नौवस्तामा पनि १० बिगाहा क्षेत्रफलमा नेपालगन्ज कारागारको निर्माणकार्य थालिएको छ । यी दुबै कारागारको निर्माण कार्य पाँच वर्षभित्र सक्ने गरी समय निर्धारण गरिएको पनि उनले जानकारी दिए । ‘यी दुबै कारागार निर्माण भएपछि सम्भवत् नेपालगन्जको मानव बस्ती बीचमा रहेको बाँके जिल्ला कारागार त्यहाँ नरहन सक्छ,’ प्रजिअ केसीले भने ।
यसैबीच, बाँके जिल्लाका अधिकारकर्मीले बाँके जिल्ला कारागार र जिल्ला प्रहरी कार्यालयको थुनुवा कक्षको अनुगमन निरीक्षण गरेका छन् । अधिकारकर्मी वसन्त गौतम, बलबहादुर चन्द, विश्वजित तिवारी र चित्रबहादुर केसीको टोलीले गरेको अनुगमन निरीक्षणपछि कारागार र थुनुवा कक्षको अवस्था सुधारका लागि सम्बद्ध पक्षसँग आग्रह गरिएको छ ।

प्रकाशित मिति : ९ जेष्ठ २०७५, बुधबार ०७:३८